नयाँ बर्षको अवसरमा महोत्तरीका मुसहर समुदायका लागि निर्माण गरेको बस्ती हस्तान्तरण

विभेद बिरुद्ध अभियान - १ वैशाख । भूकम्प पीडितका लागि एकीकृत नमूना बस्ती बनाएसकेपछि तराई झरेका धुर्मुस सुन्तलीले अति पिछडिएको समुदाय मुसहरका लागि बनाएको एकीकृत नमूना बस्ती नयाँ वर्ष २०७४ को शुभसन्ध्यामा हस्तान्तरण गरिएको छ ।  महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीका सोनेलाल मुसहरको नयाँ घरमा बस्ने सपना पूरा भएको । उनी यतिबेला घर प्रवेशको प्रतिक्षामा छन् । सानो खर(पराल)ले छाएको घरमा पानी चुहिन्थ्यो ।खाना पकाउँदा पकाउँदै आउने हावाहुरीले त्यही पराले झुपडीमा पनि आगलागी हुने डर हुन्थ्यो । जाडोमा राम्रो ओढ्ने ओछ्याउने नहुँदा घरभित्रै शीत पस्दथ्यो । सोनेलालले ती दिन बिर्सन चाहेको बताउँदै भने, “अब त हाम्रो पनि पक्की घर बनेको छ, नयाँ वर्षको दिन नयाँ घरमा प्रवेश गर्न पाएपछि  खुसी छु ।” उनी मात्रै होइन मुसहर बस्तीका अन्यले पनि नयाँ घर पाए  ।

यहाँको सिंगो मुसहर समुदायले नयाँ घर पाएपछि उनीहरूको जीवनयापनमा पनि नयाँपन आउने विश्वास लिइएको छ । पीडैपीडामा जीवन बिताएका मुसहर समुदाय घर पाएपछि यतिबेला खुसी भएका हुन् । सोनेलाल भन्छन्, “हाम्रा लागि धुर्मुस–सुन्तली भगवान नै हुनुहुन्छ ।”
पुस्तौंदेखि अपहेलित, गरिबी र सामाजिक बहिष्करणमा परेका मुसहर समुदाय जसोतसो जीवन बाँच्दै आएका थिए । एकीकृत नमुना मुसहर बस्ती उपभोक्ता समितिको अध्यक्ष बिल्टु सदा भन्छन्, “आज हाम्रो घरघरमा बिजुली बत्ती पुग्यो । खानेपानी पुग्यो, पराले ओच्छ्यान अब खाटमा परिणत भयो । घर त झनै राम्रो भयो । अब हामी सुखमय जीवन बिताउँछौं । नयाँ घरको साथ हरेकमा नयाँपन हुने भयो ।”
यस वस्तीमा बसोवास गर्ने हरेक मुसहरले आफैं श्रम गरी बस्ती बनाएका हुन् । बस्तीभित्र ५० वटा आवासीय घर र बस्तीबाहिर ३ वटा अन्य जाति समुदायका घरसहित ५३ वटा घर, एक/एक बालउद्यान र मन्दिर, १ सय २० फिट लम्बाई भएको एक भ्यूटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक र नाला लगायत संरचना निर्माण सम्पन्न भएको छ । बस्तीको बीचभागमा निर्माण गरिएको ३५ फिट अग्लो भ्यूटावर रहेको छ ।
जहाँबाट बस्तीसहितका बर्दिबास चोक वरिपरिका गाउँको रमणीय दृश्य झल्किने गरिन्छ । भ्यूटावरबाट वरिपरिका गाउँ हेर्दा आफूहरूको सुखका दिन सुरु भएको महसुस गरेको २७ वर्षीय सञ्जीव सदाले मनोभाव पोखे ।
यस मुसहर वस्ती निर्माणको क्रममा चार करोड ७८ लाख अनुमानित खर्च तय गरे पनि भ्यूटावर, पक्की ढलान सडक र बस्ती तथा बाहिर तीनवटा घरको योजना थपिँदा अनुमानित रकमभन्दा बढी खर्च भएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । “बस्ती बनाउन कति खर्च लाग्यो भन्ने कुराको अन्तिम हिसाबकिताब गर्न हामी जुटेका छौं । बस्ती हस्तान्तरण समारोहमै सार्वजनिक गर्नेर्छौं,” कट्टेलले भने ।
रंगरोगन, भ्युटावर र फिनिसिङको केही काम भने अन्तिम चरणमा रहेको छ । फाउन्डेसनले हालसम्म ९८ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ । बस्ती निर्माण कार्यको पुस २५ मा हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) लगायतकाले शिलान्यास गरेका थिए ।
वैशाख १ गते हस्तान्तरण गर्ने घोषणाअनुसार नै योजनासम्पन्न भएको कट्टेलले बताए । तीन महिना लगाएर बनाइएको नमुना बस्ती चर्चित हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चार्यले बस्तीको मुल गेटमा रिवन काटेर उद्घाटन गरिएको कार्यक्रममा उहाँहरुले नै बस्तीको साँचो एकीकृत नमूना मुसरहर बस्तीका अध्यक्षलाई हस्तान्तरण गर्नुभयो । नेपाली चलचित्र क्षेत्रका शीर्षस्थ कलाकारहरुका उपस्थिति रहेको कार्यक्रममा कलाकारहरुले यो अभियानले आफू कलाकार हुनुमा गर्व रहेको बताए । अतिथिका रुपमा उपस्थित नायक शिव श्रेष्ठले सीता, जनक, बुद्ध जन्मेको यो देशमा अहिले धुर्मुस सुन्तलीको जन्म भएको भन्दै यसबाट सम्पूर्ण देशबासीले गर्व गर्नुपर्ने बताउनुभयो । त्यस्तै अभिनेत्री बसुन्धरा भुसालले धुर्मुस सुन्तलीलाई सधैं आफूले आशीर्वाद दिइरहेको बताउनुभयो । कार्यक्रममलाई सम्बोधन गर्दै मदनकृष्ण श्रेष्ठले सरकारलेभन्दा ठूलो काम गरेको धुर्मुस सुन्तलीले अब हामीलाई हैन हामीले नै ढोग्नुपर्ने बेला आएको बताउनुभयो । त्यस्तै हरिवंश आचार्यले एउटा कलाकार जोडीले तीनवटा एकीकृत नमूना बस्ती बनाउनु सानो कुरा हैन भन्दै यो जोडीलाई जन्मदिनेप्रति आभार व्यक्त गर्नुभयो । तीन महिनाको अवधिमाचार करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भएको बस्तीका संरक्षणका लागि पाँच लाख रुपैयाँको अक्षयकोश समेत राखिएको छ । कार्यक्रममा बस्तीबासीको स्वास्थ्यका लागि मह जोडीले एक लाख रुपैयाँ प्रदान गर्नुभएको थियो भने अन्य महानुभावहरुले पनि नगद प्रदान गर्नुभएको थियो । 

No comments:

Post a Comment