बझाङ बिस्खेतका दलितको घर छ तर लालपुर्जा छैन

विभेद बिरुद्ध अभियान  - चैत २४ -चैनपुरः बझाङको थलारा गाउँपालिकाअन्तर्गत बिस्खेतमा बस्दै आएका १६ दलित परिवार पुस्तांैदेखि स्थानीय बाहुन जातिको जमिनमा बस्दै आएका छन् । तर उनीहरूले घर बनाएको ठाउँको लालपुर्जा भने हात पार्न सकेका छैनन् । बराजुको पालादेखि जोशी बाहुन जातिको जमिनमा पक्की घर बनाएर बस्दै आएको भए पनि आफू बस्दै आएको ठाउँ र घर बनाएको जमिनको लालपुर्जा प्राप्त गर्न नसक्दा दलितलाई मालिकले कुनै पनि दिन हटाउँछन् कि भन्ने चिन्ता छ ।
‘हाम्रा पुर्खाहरू डोटीको हिँड्यागडा र कुम्यासेनदेखि अछामको तिखाबाट यहाँ आएर जोशी जातका बाहुनले दिएको जमिनमा बसेको जनउक्ति छ', ५० वर्षीय गिरी दमाईले भने, ‘पुराना घरटहरा भत्काएर छोराहरूले अहिले नयाँ पक्की घर बनाएका छौं । हाम्रो नाममा जमिन नहुँदा पछि हटाउँछन् कि भन्ने डर छ ।' तर पुस्तौंदेखि बसेका दलितको अहिले १६-१७ परिवारको सानो गाउँ नै भएकाले साहुहरूलाई हटाउन पनि समस्या हुने उनले बताए । बिस्खेत गाउँको एक छेउमा बस्दै आएका दलितले आआफ्नो जमिन ओगटेर घर बनाई जीवन बताउँदै आएका छन् ।
बिस्खेत गाउँका सुरेन्द्र जोशी र दुवाली घर भएका तीर्थराज जोशीका बाजे-बराजुले दलितलाई घर बनाउन दिएको जमिन हाल पनि उनीहरूकै नाममा नामसारी हँदै आएको छ । ‘बाजे-बराजुले यही माटोमा दिन काटे, हाम्रो पनि जोवन जाँदै छ । छोराछोरीको मुक्तिका लागि भए पनि घर बनाएको जमिन आफ्नो नाममा भए हुन्थ्यो भन्ने लाग्छ', दिनेश दमाईले भने, ‘तर साहुहरूले इच्छा नदेखाएर घर बनाएको जमिनको लालपुर्जा पाउन सकेका छैनौं ।' पुस्तांैदेखिका भूमिहीन यी दलित हालसम्म पनि बिस्खेत गाउँका जोशी र सिंह परिवारको हलिया भएर जीवन निर्वाह गर्दै आएका छन् ।
‘साहुहरूले यहाँ हाम्रो बस्ती बसाएको हँदा उनीहरूको खेतीपातीलगायत अन्य काम पनि हामीले नै गर्दै आएका छौं', ६५ वर्षीया चाखुडी दमाईले भनिन्, ‘ऋण निकालेको ब्याजका लागि पनि हलो जोत्ने काम गर्छौ ।' यो टोलमा रहेका गिरी, पदम, मदन, उजले, बलु, रमेश, गोरे, काले, दिलु , किस्ने र कुम्भ दमाई १५ देखि ४० हजारसम्म साहुको ऋणबापत हलो जोत्दै आएको सुनाउँछन् ।२१ वर्षीय दिनेशले लक्ष्मीराज जोशीबाट ऋण लिएको ४० हजार रुपैयाँको ब्याजबापत ११ वर्षसम्म हलो जोत्दै बताए । ‘बर्खा र हिउँदमा खेती लगाउने बेला जसरी भए पनि साहुको खेत जोत्न घर आउँनैपर्छ', उनले भने ।
हलिया भएकै कारण परदेश गएर कमाउन नसक्दा झन् गरिब बन्दै गएको उनको भनाइ छ । जोशीको जमिनमा बसेका उनीहरूले गाउँलेसँग पटकपटक घर बनाएको जमिन आफ्नो नाममा दिन अनुरोध गरे पनि गैरदलितले नमानेको उनीहरूको गुनासो छ । साहुको जमिनमा घर र उनीहरूले दिएको ऋणको ब्याजबाट हलियाको काम गरेर गुजरा गर्दै आएका बिस्खेतका दलितले मालिकबाट आफूहरू अपहेलित भएर बाँच्नुपरेको गुनासो गरे । आफूहरू पूर्ण रूपमा भूमिहीन र हलिया भएकाले बिस्खेतका दलितको गाँस बासका लागि सरकारले हेर्नुपर्ने उनीहरूको माग छ ।
सरकारले सञ्चालन गरेको हलिया पुनस्र्थापना कार्यक्रम बिस्खेतका दलितसम्म पुगेको छैन । दलितको घर भएको जमिनका धनीले बराजुको पालादेखि दलितहरू त्यहाँ बस्दै आएको हँदा उनीहरूलाई हटाउने सोच नभएको बताए ।
साभार  : - जगदीश रोकाया / अन्नपूर्ण 

No comments:

Post a Comment