लक्ष्मी परियारका तीन छोरालाई साढे दुई लाख सहयोग

विभेद बिरुद्ध अभियान, चैत १९ गते- बोक्सीको आरोपमा कुटपिटपछि मृत्यु भएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारका तीन छोराका लागि साढे दुई लाख सहयोग प्राप्त भएको छ । दलित अधिकारकर्मी सरु सुनारको एकल पहलबाट संकलन भएको दुई लाख ४२ हजार चार सय ८१ रुपैयाँको चेक शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा परियारका तीन छोरा सुशील, सागर र सुमनलाई हस्तान्तरण गरियो । सो सहयोग रकम रोजगारका लागि विदेश गएकाले प्रदान गरेका हुन् ।
सिर्जनशील नेपाली समाज जापानले एक लाख १८ हजार नौ सय ७९, राज शान्ति सुनार (लन्डन) ले १० हजार, पोसा परियार (लन्डन) ले १० हजार, योगेशबाबु भेटवाल (अस्ट्रेलिया) ले सात हजार नौ सय, आशिष परियार (मलेसिया) ले १५ हजार, राजु लाम्गादे (मलेसिया) ले नौ हजार दुई सय ५५, अविरल विकले एक हजार पाँच सय र सजय परियार (मलेसिया) ले चार हजार ६ सय ४७ रुपैयाँ अधिकारकर्मी सुनारमार्फत उपलब्ध गराएका हुन् ।
गत २१ मंसिरमा लक्ष्मी परियारलाई शिक्षक हीरा लामाको टोलीले बोक्सीको आरोपमा स्थानीय स्कुलको पोलमा बाँधेर दिसा खुवाई कुटपिट गरेको थियो । त्यसको तीन दिनपछि परियारको निधन भएको थियो । लक्ष्मीका श्रीमान् मिलन परियारलाई छानबिनका लागि हिरासतमा राखिएको नया पत्रिका दैनिकमा खबर छ  । जसले गर्दा उनका तीन छोरा अलपत्र परेका छन् । उनीहरू अहिले काका ज्ञानबहादुर परियारकोमा आश्रय लिएर बसेका छन् ।

No comments:

Post a Comment