सिन्धुपाल्चोकमा तीन दलित महिला निर्विरोध चुनिए

विभेद बिरुद्ध अभियान -२० वैशाख -सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा तीन दलित महिला निर्विरोध निर्वाचित भएका छन्। अरु दलित महिलाको मनोनयन नपरेपछि विभिन्न तीन गाउँपालिकाबाट उनीहरु वडा सदस्यमा निर्विरोध चुनिएका हुन्।एमालेबाट दुई र कांग्रेसबाट एक दलित महिलाले स्थानीय तहमा निर्विरोध बाजी मारे। मेलम्ची नगरपालिका वडा नं. ४ बाट कृष्णकुमारी नेपाली निर्विरोध भइन्। उनले एमालेबाट मनोनयन दर्ता गरेकी थिइन् । उक्त वडामा दलितको एक परिवार मात्र छ, त्यो कृष्णकुमारीको हो। केही साताअघि उनको घर पुगेका स्थानीय एमाले कार्यकर्ताले कृष्णकुमारीको नागरिकता लगेका थिए।
 एमालेबाटै उम्मेदवारी दिएकी गीता सुनाम इन्द्रावती गाउँपालिका ११ नम्बर वडाबाट दलित सदस्यमा निर्विरोध भइन् । अन्य पार्टी र स्वतन्त्रबाट उनीबाहेक अरु दलितको मनोनयन नपरेको निर्वाचन अधिकृत हरि बखतीले बताए । उनी उक्त वडाकी एक्लो दलित परिवारकी सदस्य हुन् । माझी, दनुवार बाहुल्य रहेको सोही गाउँपालिकाको वडा नम्बर १२ मा एउटै दलित महिलाको उम्मेदवारी परेन । उम्मेदवारी नै नपरे उक्त पद खाली हुने स्थानीय तह निर्वाचन ऐनले व्यवस्था गरेको छ । त्यहाँ एकै दलित परिवाको पनि बसोबास छैन।
 लिसंखुपाखर गाउँपालिका ५ नम्बर वडाकी एक्ली दलित उम्मेदवार सुनिता सुनार पनि निर्विरोध सदस्य निर्वाचित भइन् । उनले कांग्रेसबाट मनोनयन दर्ता गरेकी थिइन् । मनोनयन र अन्तिम नामावली प्रकाशन गर्ने चुनावी प्रक्रिया बाँकी नै रहेकाले निर्विरोध भएका उनीहरुलाई आयोगले निर्वाचित घोषणा भने गरेको छैन ।

No comments:

Post a Comment