चाँगुनारायण नगरपालिकाको अध्यक्षसहित सबै सदस्य दलितमात्रै

विभेद बिरुद्ध अभियान -भक्तपुर, २८ बैशाख ।पार्टीले निर्वाचनमा क–कसलाई उम्मेदवार बनाएका होलान् भन्ने प्रश्नको सामान्य जवाफ हुन सक्छ, पक्कै पनि उम्मेदवार समावेशी नै हुन्छन् । दलित, जनजाति, महिला यस्तै यस्तै । तर, भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा नेकपा मालेले संघारमा आइसकेको स्थानीय तह निर्वाचनका लागि दलितलाई मात्रै उम्मेदवार बनाएको छ । सो वडामा वडा अध्यक्षसहित सबै सदस्य दलितमात्रै छन् । त्यत्तिमात्रै होइन, पार्टीले चाँगुनारायण नगरपालिकाको उपमेयरमा पनि दलित महिला नै उठाएको छ । लक्ष्मी मगराती उक्त नगरपालिकाको उपमेयर पदकी उम्मेदवार हुन् ।
वडाको पूरै टिममै दलितले उम्मेदवारी पाएसँगै चाँगुनारायण नगरपालिका–४ अहिले चर्चाको शिखरमा पुगेको छ । नेकपा मालेका जिल्ला सचिव अदीप खड्काले ‘दलितमैत्री नमुना वडा’ निर्माणका लागि दलितहरूलाई सर्वसम्मत उम्मेदवार बनाइएको बताए । उनले भने, ‘हामीले व्यवहारमै उता¥यौं, अरूले कुरामात्रै गरे ।’ पार्टीले वडाका सबै पदमा दलितलाई नै उम्मेदवारी दिएकोमा वडा अध्यक्षका उम्मेदवार रामराज मगराती आफूलाई गौरव लागेको बताउँछन् । वडा अध्यक्षमा रामराज मगराती, सदस्यहरू हरिशरण सार्की र विदुर मिजार र महिला सदस्य सीता मिजारले उम्मेदवारी दिएका छन् ।
मेयर, उपमेयरसहित नगरपालिकाका दुईवटा वडामा आफ्नो उम्मेदवारी दिएको मालेले वडा नम्बर ५ मा पनि सुरज वयलकोटीलाई वडा अध्यक्षमा उठाएको छ । चाँगुनारायणमा मालेकातर्फवाट मेयरका उम्मेदवार साधुराम दाहाल नगरमा सम्पूर्ण सदस्य एवं वडा अध्यक्षहरू दलित लिएर उठ्न पाउँदा आफूलाई गर्व महसुस भएको बताउँछन् । ‘दलितको बारेमा कुरा त धेरैले गर्छन् तर यसको नमुना चाँगुनारायणमा पायौं’, उनले भने ।
भक्तपुरमा भक्तपुर, मध्यपुर ठिमी, सूर्यविनायक र चाँगुनारायण गरी चारवटा नगरपालिका छन् । यीमध्ये भक्तपुर र सूर्यविनायकमा १०÷१० वटा वडा छन् भने मध्यपुर ठिमी र चाँगुनारायणमा र ९÷९ वटा वडा छन् । चारवटै नगरपालिका गरी ३८ वडाहरूमा घटीमा ३८ जना दलित कोटाको नगर सदस्य आवश्यक पर्छ । तर दलित उम्मेदवार नहुँंदा कुल न्यून संख्यामा मात्रै महिला दलित उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख निर्वाचन अधिकृत उमेशकुमार राईले यीमध्ये तीनवटा वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको जनाए । उनका अनुसार भक्तपुर नगरपालिका (भनपा) २ बाट मंगललक्ष्मी शाही र भनपा ७ बाट रिजु कपाली दलित कोटाबाट वडा सदस्यमा निर्विरोध विजयी भइसकेका छन् । साथै मध्यपुर ठिमी नगरपालिका २ बाट पनि दलित कोटाबाट अम्बिका रजक निर्विरोध भइसकेको उनले जनाए ।

No comments:

Post a Comment