दलित र जनजाति विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम

विभेद बिरुद्ध अभियान - कञ्चनपुर, १३  जेठ । आर्थिक अभावले कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका जनजाति र दलित समुदायका विद्यार्थीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम २ दिन अघि देखि सञ्चालन गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाको आर्थिक सहयोगमा दलित र आदिवासी जनजाति सञ्जालको पहलमा कम्प्युटर तालिम सञ्चालन गरिएको हो । तालिममा जनजाति र दलितका गरी ३० छात्रा र १० जना छात्रको सहभागिता रहेको छ ।
स्थानीय कम्प्युटर इन्स्टिच्युटसँग समन्वय गरी तालिम दिने व्यवस्था मिलाइएको दलित सञ्जालका संयोजक शिवी लुहारले बताउनुभयो । आधुनिक युगमा कम्प्युटरको महत्व बढ्दै गएकाले अवसरबाट वञ्चित समुदायका बालबालिकाले तालिमपश्चात् रोजगारी पाउनमा सहजता हुने उहाँले बताउनुभयो ।
नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले तालिमपश्चात् सिकेका सीपलाई व्यवहारमा उतारे मात्रै नगरपालिकाको लगानी सदुपयोग हुने बताउनुभयो । यसैगरी, आजैदेखि महिलाका लागि नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षासमेत सञ्चालन गरेको छ ।

No comments:

Post a Comment