‘दलितले मेयरमा जितेपछि नमस्कार गर्नुपर्छ, टिकट दिनुहुन्न’

बिभेद बिरूद अभियान, जेठ ५-दोस्रो चरणमा निर्वाचन हुने ७ नं. प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढीमा दलहरुबीचको प्रतिस्पर्धा भन्दा पनि नेपाली कांग्रेसबाट प्रमुखका दावेदार नृप वडमाथि आफ्नै पार्टीका सहकर्मीबाट भइरहेको टिप्पणीले चर्चा पाएको छ । दलित समुदायका उनी मेयरमा निर्वाचित भए भने ‘दलितलाई नमस्कार गर्नुपर्छ, त्यसैले टिकट दिनुहुन्न’ भन्दै कांग्रेसका जिल्ला नेताहरुले विरोध गर्न थालेपछि विवाद बढेको हो । “मैले पनि सुने, नमस्कार गर्नुपर्ने भएकोले टिकट दिनैहुन्न’ भन्ने टिप्पणी भइरहेको छ,” नेपाली कांग्रेस, कैलालीका उपसभापति प्रकाशबहादुर बम भन्छन, “यो गलत र दुखद हो ।” 
कांग्रेसले दोस्रो चरणको निर्वाचनका लागि ७ जेठसम्म क्षेत्रीय समितिले जिल्लामा र १० जेठसम्म जिल्ला समितिले केन्द्रमा मेयर, उपमेयरको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । २०७० को संविधानसभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा र त्यसपछि भएको उपनिर्वाचनमा पुष्करनाथ ओझाले जितेको कैलाली क्षेत्र नं. ६ पर्ने धनगढी उपमहानगरपालिकामा कांग्रेसको पकड बलियो मानिन्छ । यही क्षेत्रबाट १२ जनाले उम्मेदवार बन्न कांग्रेस क्षेत्रीय समितिमा निवेदन दिएका छन्, जसमध्ये धनगढी नगरसभापति पड प्रमुख दावेदार हुन् । आफूमाथि भइरहेका जातीय टिप्पणी उनले पनि सुनेका छन् । “अरुले सुनाउँदा त पत्याएको थिएन, जब आफ्नै कानले सुनें, मुटु कच्याक–कुचुक्क पारेजस्तो भयो,” उनले भने । धनगढी उपमहानगरपालिका–५ जाइँका ४५ वर्षीय वड ३० वर्षदेखि कांग्रेसमा सक्रिय छन् । उनका बुवा करन २०४९ मा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वड ८ वर्षदेखि कांग्रेस धनगढी नगर समितिको सभापति छन् । नेपाल दलित संघका केन्द्रीय सदस्य उनी धनगढी नगर विकास समितिको अध्यक्ष भएर समेत काम गरिसकेका छन् ।
 “दलित समुदायका भन्दा बाहुन–क्षेत्री समुदायकै बढी साथीभाइ छन्, उनीहरुसँगै संगत भयो” हिमाल खबरसँग कुरा गर्दै वडले भने, “३० वर्ष कांग्रेसमा विताएँ, कहिले विभेद भएन । अहिले आएर यस्तो सुन्दा नमज्जा लागेको छ ।” राजनीतिमै लागेर ५ विगाहा जमिन बेचिसकेको वडले भने, “पाँच/छ विगाहा जमिन सकियो, अब एक/डेढ विगाहा होला । त्यो बाबुले कमाएको हो, मैले त एक पैसा जोडिन” । धनगढी आउने नेता, कार्यकर्तालाई सहयोग गर्ने, खानपिन, बसोबासको व्यवस्था गर्ने, आर्थिक रुपमा सहयोग गर्ने उनकै जिम्मा हुने गरेको कांग्रेस नेताहरु बताउँछन् । “कांग्रेस मात्रै होइन एमाले, माओवादी, राप्रपाका नेता कार्यकर्तालाई पनि सघाएएको छु । मैले सघाएका बरु दलित समुदायका कमै होलान, बाहुन, ठकुरी, क्षेत्री समुदायका बढी छन,” वडले भने । आम्दानी नहुने र खर्चका लागि पुख्र्यौली सम्पत्ती बेच्नुपरेपछि उनले सात वर्ष अघि धनगढीको एलएन चौक नजिकै पुष्पाञ्जली होटल खोलेका थिए । त्यहाँ पनि नेता, कार्यकर्ताकै जमघट हुने, गाउँबाट आउने कार्यकर्ता र सर्वसाधारणले खानपिन गर्ने गर्न थालेपछि उनले त्यो होटेल बिक्री गरे । 
अहिले पनि एलएन चौक नजिकै उनको कार्यालय छ । जहाँ बिहानेखि साँझसम्म गाउँबाट आउने सर्वसाधारण, कांग्रेस तथा अन्य पार्टीका कार्यकर्ताको आवतजावत भइरहन्छ । “अरुकै सेवा गर्ने नशा लाग्यो, स्कुलदेखि कै बानी हो । गाउँमा क्लब खोलेर काम गर्थे । राजनीतिलाई पनि समाजसेवाकै रुपमा लिएँ” उनी भन्छन् । आफूले मेयरको टिकट पाए जित्छु भन्ने विश्वास राखेका उनी आफूलाई कांग्रेसबाहेक अन्य दलका कार्यकर्ताले समेत मत दिने विश्वास छ । “मलाई कसैको नमस्कार चाहिँदैन, बरु नगरपालिकामा आउने सबैैलाई पहिले म नमस्कार गरुँला,” उनले भने, “अहिल्यै गाह्रो नमान्नुस, दलितको बच्चालाई धनगढी उपमहानगरपालिकाको मेयर बनाउँदा कांग्रेसलाई फाइदा नै हुन्छ ।” पार्टीमा गरेको काम र क्षमताको आधारमा मेयरको टिकट आफूले नै पाउनुपर्ने उनको दाबी छ । यद्यपी आफूमाथि गरिएको जातीय टिप्पणीले भने उनलाई पिरोलिरहेको छ । उनले भने, “राति पनि त्यही दुर्वचन कानमा ठोकिन्छ, ४५ वर्षको उमेरमा पहिलो पटक यस्तो अपहेलना भोग्नुपर्‍यो ।” - हिमाल खबर बाट



No comments:

Post a Comment