विभेद बिरुद्ध अभियान - १२ जेठ, काठमाडौं । सामाजिक सेवामा निरन्तर लाग्दै आइरहेका ध्रुवकुमार परियार, कालिन्जोर–७, सर्लाहीको एउटा गरीब अनि दलित परिवारमा जन्मनुभएको हो । सानो उमेरमै बुबाले सौतेनी आमा लिएर घर छाडेपछि उहाँ एकजना दाजु र एउटी बहिनी सहित आमाको साथमा हुर्कनुभयो । उहाँ आफ्नो दाजुको दःुख र आमाको पीडा घरी घरी सम्झनुहुन्छ र आमाको आँखाको आँशुको मूल्य चुकाउनको लागि पनि जीवनमा केही गर्नुपर्छ, पढ्नुपर्छ, र अघि बढ्नुपर्छ भन्ने प्रेरणा पाएको कुरा बताउनुहुन्छ । १०–१२ बर्षको कलिलो उमेरमै उहाँले २–३ बर्षले जेठा दाजुलाई बालीघरमा कपडा सिलाउने काममा सघाउनु हुन्थ्यो । आमाले मेलापात गर्नुहुन्थ्यो । जीवन धन्न धन्न चलेको थियो । कहिलेकाही त नुन र अमिलो पातको सहारामा दिन विताउनु उहाँको नियति थियो । साथी भाइको संगतले जीवनमा ठूलो प्रभाव पार्ने बिचार राख्दै भन्नुहुन्छ–“मेरा बाल्य साथीहरु निकै असल हुनुहुन्थ्यो । कति साथीहरु जातीय भेदभाव गर्ने भए तापनि हामी असाध्यै मिल्थ्यौ ।धुम्रपान, मध्यपान र अन्य कुनैपनि कुलतमा हामी थिएनौ । साथीहरु पढ्ने भएकोले मैले पनि पढ्नुपर्छ भन्ने भावना जागृत भइरह्यो । मेरो पढाईको लागि आमाले आफूले लगाएको गहनाको पर्वाह गर्नुभएन । एस. एल. सी. को बेला पढेको ट्युसनको फीः आमाले पाल्नुभएको सुँगुरको पाठा दिएर तिरेको अझैपनि सम्झना छ । कहिलेकाही सुँगुरको अचानक मृत्यु हुन्थ्यो, मेरी आमा कसैको आफन्त अथवा छोराछोरी गुमाउँदा रोएँ जस्तैगरी रुनुहुन्थ्यो । किनभने त्यो सुँगुर हामी बाँच्ने अर्को आधार थियो ।”
एस. एल. सी. को परिक्षा सकिएपछि उहाँ आफ्नो दाजु भए ठाउँमा काठमाण्डौ आउनुभयो । उहाँको दाजुले आफ्नो आमा र भाइ बहिनी पाल्नको लागि कक्षा १० मा पढ्दै गर्दा पढाई छोडेर काठमाण्डौ आइ एउटा रेडिमेड कपडा सिलाउने कारखानमा काम गर्नुभएको थियो । अनि त्यही ठाउँमा रहेर दाजुको साथमा काम शुरु गर्नुभयो । “एस. एल. सी.को नतिजा आयो रे !” भन्ने सुनेपछि पसल पसलमा गोरखापत्र खोज्नुभयो तर पत्रिका नपाएपछि उहाँको नतिजा बुझ्ने इच्छा पूरा भएन । वास्तबमा उहाँलाई गोरखापत्र कस्तो हुन्छ भन्ने नै थाहा रहेनछ । केही दिनपछि गाउँबाटै सेकेन्ड डिभिजनमा पास भएको खबर प्राप्त भयो । अब के गर्ने ? कसरी पढ्ने ? कहाँ पढ्ने ? कुन बिषय पढ्ने ? केही थाहा नहुँदा उहाँको एकबर्ष त्यतिकै खेर गयो । २०५३ सालमा एउटा साथीको सहयोगमा सरस्वती बहुमुखी क्याम्पस, लैनचौर, काठमाण्डौमा मानविकी संकायमा अंग्रजी, संस्कृति र अर्थशास्त्र ऐच्छिक बिषय लिई अध्ययन शुरु गर्नुभयो । उहाँ बिहान उठेदेखि बेलुकी ४ः३० बजेसम्म काम गरेर
५ः०० बजेदेखिको रात्रीकालिन कक्षामा पढ्नुहुन्थ्यो । पहिलो बर्ष ५ वटा बिषयहरु मध्ये ३ वटामा अनुतीर्ण भएपछि दोश्रो बर्षदेखि मेहनत गरेर पढ्न थाल्नुभयो । दोश्रो बर्ष र पहिलो बर्षका सबै परिक्षाहरु सोही बर्ष उतीर्ण हुनुभयो । “असफलता भनेको हार्नु हैन तर प्रयास नगर्नु अथवा छोड्नु चाही हार्नु हो ।” भन्ने कसैको भनाईले प्रेरित परियारले जीवनमा धेरै दुःख र असफलताहरु बेहोर्नु परेको भए तापनि उहाँले अंग्रेजी साहित्यमा सेकेन्ड डिभिजनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले हालसम्म थाईल्याण्ड, मलेशिया, जापान, भुटान, बेलायत, कतार र तीनपटक अमेरिकाको भ्रमण गरिसक्नुभएको छ ।
ध्रुवकुमार परियार हाल सेवामा ब्यस्त हातहरु गैह् सरकारी संस्थाको संस्थापक अध्यक्ष तथा निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । यो संस्था “दलित तथा सिमान्तकृत समुदाय परिवर्तन भई मानिस जस्तै जिउन सकुन्” भन्ने दर्शन लिएर सेवामा ब्यस्त हातहरु नामले २०७० सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई स्थापना भएको हो । यो संस्थाको ध्येय दलित तथा सिमान्तकृत समुदायलाई सर्वाङ्गिण सेवा पुर्याई नेपाल देशमा सकारात्मक प्रभाव पार्नु हो । यो संस्थाले यसको स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, रोजगार, जनचेतना र विविध प्रकारका प्रकोपको समयमा राहत उपलब्ध गराउने कार्य गर्दै आईरहेको छ । निशूल्क ट्युसन कक्षा, रेडियो कार्यक्रम, साना ब्यवसाय सहयोग, स्वास्थ्य शिविर साथै राहत वितरण जस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ भने आउँदा दिनहरुमा यस्तै र संस्थाको उदेश्य अनुरुप अन्य आवश्यक कार्यक्रमहरु संचालन गरी धेरै भन्दा धेरै दलित तथा सिमान्तकृत समुदायलाई सेवा पुर्याउने यस संस्थाको भावि योजनाहरु रहेका छन्।
२०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र त्यसको पराकम्पनबाट पीडित बिभिन्न स्थानका भूकम्प पीडितहरुलाई यो संस्थाले सहयोग गरेको छ । यो संस्थाले राहत वितरण गर्दा दलित समुदायलाई विशेष प्राथमिकता दिएको र यस्तो विपतको समयमा राहत वितरण गर्दा दलित र गैर दलित नभनि समान रुपमा ब्यवहार गरेको संस्थाका अध्यक्ष ध्रुवकुमार परियार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “अब को दलित को गैर दलित, भूकम्पले सबैलाई दलित बनायो ।यस्तो विषम परिस्थितिमा समाजको नागरिकको हिसाबले मैले आफ्नो तर्फबाट समाजमा दिन सक्ने योगदान सदैव अगाडि राखेर त्यो कर्तव्य निर्वाह गर्दैछु र आउने दिनमा गर्नेमा प्रतिबद्ध छु ।
महादेवस्थान ३, काभ्रेका ३० घर ; बोच ९, दोलखाका ५० घर ; पोखरीचौरी ३, काभ्रेका ३० घर; लप्सीफेदी काठमाण्डौका ७० घर; काठमाण्डौ उपत्यकाका ५६ घर दलित तथा सिमान्तकृत परिवारलाई यो संस्थाले चामल, दाल, त्रिपाल, नुन, चिउरा, चाउचाउ तेल आदि राहत सामग्री वितरण गर्यो । साथै बनेपा, काभ्रेका ७ घर दृष्टिविहीन परिवारलाई प्रति परिवार १ बोरा चामल प्रदान गर्यो । भूकम्पमा परि घाईते भएका लगायत अन्य गरी लप्सीफेदी काठमाण्डौका १३७ जनाले यस संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरबाट स्वास्थ्य जाँच तथा औषधि उपचार प्राप्त गरेका थिए । त्यसैगरी यस संस्थाले पुस २५ गते दोलखा जिल्ला, सुनखानी गा. वि.स. वडा नं. ५ र ९ का दलित, विपन्न, बृद्घ बृद्घा, एकल महिला, दृष्टि विहीन र अपाङ्गता भएका १५ परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गर्यो । यो संस्था भूकम्प पीडितहरुको निम्ति राहतको सेवामा हालसम्म लागिपरिरहेको छ ।
यो संस्थाले यही २०७४ साल बैशाख १९ गते कालिन्चोक गाउँपालिका–७, सुनखानी, दोलखामा रहेको २०७२ सालको भूकम्पले पूर्ण रुपमा प्रभावित श्री सूर्योदय नि.मा.विद्यालय पुननिर्माण गरी विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ । नवनिर्मित पक्की भवनमा ७ वटा कक्षा कोठा र एउटा कक्षा कोठाको तुलनामा दोब्बर साइजको प्रशासनिक कोठा गरी जम्मा ८ वटा कोठाहरु रहेका छन्। एउटा दलित तथा गरीब परिवारमा जन्मेर पनि ध्रुवकुमार परियारले गर्नुभएको यो प्रयासबाट हामीले पनि केही सिक्ने र सक्छौ भने आफ्नो समाजको हीतको निम्ति केही सहयोग पनि गर्ने होकी ?
No comments:
Post a Comment