पानी लिन रोक लगाएपछि कांग्रेस–एमालेका आ–आफ्नै ‘कुवा’

भेरीगंगा नपा–९ स्थित राजु रसाइलीको बारीमा कांग्रेसले बनाएको बोरिङ (बायाँ) र गोपाल ददेलको बारीमा एमालेको बोरिङ । तस्बिर : जनक/कान्तिपुर 
विभेद बिरुद्ध अभियान - वैशाख २२, २०७४- प्रदेश ६ को दक्षिणी प्रस्थानविन्दु भेरीगंगा नगरपालिकाको मध्यभागबाट भेरी नदी बग्छ । भेरीको पानी डाइभर्सन गरेर बबईसम्म पुर्‍याउन राष्ट्रिय गौरवको आयोजनाले गति लिइसकेको छ । तर, भेरी वरपरका बस्तीहरू भने सधैं काकाकुलझैं छन् । स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारहरूका लागि खानेपानी मुद्दा यहाँ मुख्य नारा बन्ने नै भयो । त्योभन्दा बढी वडा नं. ९ को ‘पानी राजनीति’ रोचक देखिएको छ ।
मुख्य प्रतिस्पर्धी दलहरू कांग्रेस र एमालेले गाउँमा राजनीतिक संगठन मात्र गठन गरेका छैनन्, डिप बोरिङबाट पार्टीका शुभेच्छुकलाई खानेपानी उपलब्ध गराएर पानी राजनीति पनि गरिरहेका छन् । स्थानीयले ती डिप बोरिङको नाम ‘कांग्रेस कुवा’ र ‘एमाले कुवा’ राखेका छन् । 
दुई वर्षअघि कांग्रेस कार्यकर्ता राजु रसाइलीले डिप बोरिङका लागि आफ्नो बारीमा कुवा खने । पानी निस्क्यो पनि । तर, उनले सिंगो गाउँलाई पानी बाँड्न कन्जुस्याइँ गरे । कतिसम्म भने छेवैका एमाले कार्यकर्ता गोपाल ददेल र उनका छिमेकीलाई समेत खानेपानी दिन अनिच्छा देखाए । त्यो झोँकमा ददेलले अर्को कुवा खने । ‘एक्लै कुवा खनेँ । भूमिगत जलस्रोतले पनि प्राविधिक सहयोग गरेको छ,’ एमाले कार्यकर्ता ददेलले भने, ‘मेरो साढे ३ लाख व्यक्तिगत खर्च भयो । तर, अहिले खानेपानी वितरण गर्न पाउँदा सन्तोष मिलेको छ ।’
उक्त बोरिङबाट गाउँका १ सय २० परिवारलाई खानेपानी वितरण भइरहेको छ । पहिले पानी बाँड्न नमानेका रसाइलीको बोरिङबाट पनि त्यत्तिकै घरधुरीले पानी पाइरहेका छन् । मोटर लगाएर डिपबोरिङबाट पानी तान्छन् । अनि घरघरसम्म बिछ्याइएका पाइपबाट वितरण गर्छन् । ‘जेजे नाम दिए पनि गाउँमा पानीको सुविधा भएको छ,’ ६० वर्षीय गोरे रसाइलीले भने ।
खानेपानी वितरण दिगो बनाउन प्रत्येक घरबाट विद्युत् महसुल उठाउने गरिएको छ । उपभोक्ताले मासिक १ सय ७० रुपैयाँ खानेपानी शुल्क तिर्दै आएका छन् । ‘खानेपानीमा कांग्रेस–एमाले नगरौं’ भन्दाभन्दै पनि स्थानीयमा त्यो भावना बनेको दुवै अगुवा बताउँछन् ।
कतै मुहान सुकेर त कतै पानी घटेर गाउँमा निर्माण भएका खानेपानीका धाराहरूमा पानी आउन छाडेको थियो । त्यो अभावका बेला व्यक्तिगत पहलमा खानेपानी व्यवस्था गरेकाले दुवै अगुवा आफ्नो वडामा लोकप्रिय पनि छन् । दुवैले वडाध्यक्षका लागि आकांक्षा पनि व्यक्त गरेका थिए । तर, एमालेले ददेललाई वडा सदस्य उम्मेदवार बनायो भने रसाइलीले टिकट पाएनन् । ‘खानेपानी चुनावी नारा भएका बेला योगदानको कदर हुने ठानेको छु,’ ददेलले भनेको कान्तिपुर मा खबर छ  । 
पानी मुख्य नारा 
साबिकका मैनतडा, छिन्चु, रामघाट र लेकपराजुल गाविस मिलेर बनेको भेरीगंगा नगरपालिकाको निर्वाचनमा प्राय: सबै राजनीतिक दलहरूले खानेपानी र सिँचाइलाई मुख्य चुनावी नारा बनाएका छन् । ‘छेवैमा भेरी बग्दा समेत हाम्रा गाउँबस्ती सुख्खा छन्,’ वडा नं. ९ का कांग्रेस वडाध्यक्ष उम्मेदवार प्रेमबहादुर आग्रीले भने, ‘खानेपानी र सिँचाइका लागि सक्दो प्रयास गर्नेछौं ।’ 
एमालेका मेयर उम्मेदवार यज्ञप्रसाद ढकाल खानेपानी र सिँचाइ आयोजनाका लागि दीर्घकालीन योजना ल्याउने बताउँछन् । ‘यहाँ जग्गाको कमी छैन । सिँचाइ नहुँदा उब्जनी नभएर युवाहरू काम खोज्दै कालापहाड जानुपरेको छ,’ उनले भने, ‘त्यो रोक्न पनि ठूलो आयोजना आवश्यक छ ।’ 
माओवादी केन्द्रका मेयर उम्मेदवार कृष्णप्रसाद गिरीले सिँचाइ र कृषि आधुनिकीकरणमा आफ्नो पार्टीले मुख्य प्रतिबद्धता जनाएको बताए । ‘घरदैलोमा जहाँ पुग्छौं, खानेपानी र सिँचाइको मात्र माग छ । त्यसैले हाम्रो प्रतिबद्धता पनि त्यसैमा छ,’ उनले भने । राप्रपाका उपमेयर उम्मेदवार चन्द्रकला बादीले पनि आफूले जिते पानीका लागि पहल गर्ने बताइन् । भेरीगंगा नगरपालिकामा २३ हजार १ सय १२ मतदाता छन् ।

No comments:

Post a Comment