दलित महिला भन्छन्– नीतिले गर्दा अवसर

विभेद बिरुद्ध अभियान, वैशाख २५ , बागलुङ -स्थानीय तह चुनावमा उम्मेदवारी अनिवार्य गरिएपछि नेतृत्वको अवसर प्राप्त भएको दलित महिलाहरूले बताएका छन् ।‘पार्टीमै सक्रिय भए पनि दलित महिलालाई अनिवार्य लैजानुपर्छ भन्ने सोच पहिले थिएन,’ कांग्रेसबाट जैमिनी नगरपालिकाको उपमेयरकी उम्मेदवार कौशिला विकले भनिन्, ‘नीतिमै अनिवार्य गरिएपछि बल्ल हाम्रो योगदानको कदर भयो ।’ जिल्लामै दलित महिलालाई उपमेयरको उम्मेदवार बनाउने कांग्रेस एक्लो पार्टी भएको छ । ‘समावेशीको नारा दिएर मात्रै परिवर्तन हुँदैन,’ उनले भनिन्, ‘सबै पार्टीले अवसर दिए मात्रै नेतृत्व गर्न सकिन्छ भनेर देखाउन सकिन्छ ।’
वडा तहबाटै आरक्षित गरिएपछि आफूहरूले पनि उम्मेदवार बन्ने अवसर पाएको ताराखोला गाउँपालिका ४ की सदस्य पदकी उम्मेदवार तारा परियारले बताइन् । ‘हामीजस्ताले कहिल्यै अवसर पाउँदैनथ्यौं,’ उनले भनिन । यसपटकको चुनावमा प्रचारमा हिँडदा बिस्तारै संकोच हटदै बोल्ने बानी पर्दै आएको उनले बताइन् । ‘पहिले कहिल्यै यसरी बोल्ने अभ्यास थिएन,’ उनले भनिन्, ‘एकैचोटि चुनावमा नेता बनेर भोट माग्दै हिँडदा आत्मविश्वास बढेको छ ।’
अबका दिनमा दलहरूमा लागेर पहिचान बनाउन अवसर प्राप्त भएको काठेखोला ५, बिहुँकी ४६ वर्षीया धनकला नेपालीले बताइन् । यसपटक आफू चुनावी प्रचारमा हिँडेर गाउँलेमाझ पहिचान बनाउने र अर्को चुनावमा वडा सदस्यमा उम्मेदवारी दिने योजनामा रहेको उनले बताइन् ।
राज्यले दलित महिलालाई अनिवार्य व्यवस्था गर्नु सकारात्मक भए पनि राजनीतिमा सक्रिय तर, अवसरबाट वञ्चित दलित समुदायका पुरुषलाई समोवश गरी लैजानेतर्फ भने दलहरूको ध्यान नपुगेको नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला अध्यक्ष मनोज विकले बताए । उनले भने, ‘आरक्षण तोकेर बाध्यात्मक अवस्था परे मात्रै मौका दिनेभन्दा पनि दलहरूले आफैं अघि बढाउनेतर्फ ध्यान दिनुपर्छ ।’पार्टीबाट समाज सेवामा लागेका महिलालाई अवसर दिएर उम्मेदवार बनाएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले बताए ।
पूर्ण विके -कान्तिपुर 

No comments:

Post a Comment