जुम्लाकी लउरी मायाले पाइन अन्तराष्ट्रिय पुरस्कार

काठमाडौँ, १५ असोज, विभेद विरुद्ध अभियान  : जुम्लाकी लउरी माया थामीले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन् । जुम्लामा रहेर छाउपडी प्रथा, बालविवाह, जातीय छुवाछुतविरूद्ध जनचेतना जगाउने काममा सक्रिय भएकी लउरी मायालाई वुमन वर्ल्ड समिट फाउण्डेशन(डब्लुडब्लुएसएफ), जेनेभा, स्विजरल्याण्डले प्रदान गर्ने अवार्डबाट सम्मानित गरिएको हो ।हरेक वर्ष ग्रामिण क्षेत्रमा अहोरात्र खटिने विश्वभरका १० महिलालाई उक्त अवार्डबाट सम्मानित गरिएकोमा नेपालकी लउरीमायाले पनि उक्त अवार्ड हात पार्न सफल भइन् । लउरी मायालाई अवार्डसहित १ हजार अमेरिकी डलर समेत प्रदान गरिनेछ । अहिलेसम्म यो अवार्ड विभिन्न विधामा महत्वपूर्ण योगदान गरेका ४ सय १३ महिलाहरूलाई प्रदान गरिएको छ ।
अवार्ड जितेकी उनलाई अवार्ड पाउँदा कस्तो लागेको छ भन्ने ओएनएसको प्रश्नमा उनले भनिन्, ‘म खुसी छु, मैले केही काम गरेको थिए जस्तो लागेको छ र अब पनि यो कामलाई थप शसक्त रूपमा अगाडि बढाउँछु ।’ उनले यो अवार्ड प्राप्त गर्नका आफ्नो नाम पढाईदिने एक्सन वर्क्स नेपालकी अध्यक्ष राधा पौडेललाई समेत धन्यवाद दिइन् र भनिन्, ‘राधा बहिनी नभएको भए सायद मैले यति ठूलो पुरस्कार पाउँदैनथे । बहिनीले नै के के गर्नुभयो मेरो लागि, म हृदय देखी नै धन्यवाद दिन चाहन्छु ।’
को हुन् लउरी माया ?
६० वर्ष नाघिसकेकी लउरीमायाको जुम्लाको दिल्लीचौर गाविसको लुमामा बस्दै आएकी छिन् । लुमा जुम्लाको सदरमुकाम खलंगाबाट करिब ५ घण्टा पूर्वतिर हिडे पनि पुगिन्छ । यो ठाऊँ गरिबी, भौगोलिक विकटता, बहिस्करण, बत्ति, पानी, यातायातको पौँचबाट टाढा रहेको छ ।
नेपालमा सम्बन्ध विच्छेद, महिलाले दोस्रो विवाह गर्ने पाइने नियम नबन्दै झण्डै ४० वर्ष अगाडि बहुविवाह गर्ने श्रीमान् विरुद्ध मुद्धा हालेर सम्बन्धविच्छेद गरेर दोस्रो विवाह गरेकी थिइन् लउरी मायाले । करिब १४ वर्षअघि श्रीमान् गुमाएकी उनले आफ्नो परम्पराअनुसार विधवाको पहिरन लगाउन अस्विकार गर्दै विधुवा अधिकारबारे वकालत गर्दै सामान्य परिहन पहिरिएर समाजमा एक उदाहरणको रुपमा प्रस्तुत भइन् । यस्तै, उनले अन्य विधवा महिलालाई पनि पहिले जस्तै सामान्य रुपमा जीवनयापन गर्न र विधुवाको पहिरन नलगाउन आग्रह गर्दे आफ्नो गाउँमा चेतना जगाउने काम गरिन् ।
उनले जुम्लामा व्याप्त रहेको छाउपडी प्रथा, विभिन्न खालका महिला हिंसा, हटाउनका शसक्त रूपमा काम गरिरहेकी छि्न । आफ्नो नाम मात्र लेख्न सक्ने उनले बालविवाह, जातीय छुवाछुतका विरूद्ध पनि आवाज उठाइन् । उनले झण्डै आधा दर्जन संघसंस्थामा रहेर काम गरेकी छिन् । विकट क्षेत्रका महिला, अपाङ्ग, दलित तथा पिछडिएका महिलाहरुको सवाल लिएर उनी जिल्लाका सञ्जाल, जिल्ला प्रशासन कार्यालय तथा अदालत समेत पुग्छिन् र कामको टु्गो लगाउँछिन् । उनी बलात्कार अन्त्य होस् वा आमाको नाममा नागरिकताको विषयको होस्, भोक तिर्खा केहि नभनी खटेर लागेकी छिन् ।
लउरीमायाले लैङगिक विभेदको अन्त्यका लागि महिला शसक्तिकरण अभियानअन्तर्गत रहेर काम गरेकी छिन् । महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्नका लागि घर-घरमा पुगेर चनचेतना जगाउने काम गरेकी छिन् । उनले घर-घरमा पुगेर आफ्नो बालबालिका यसमा पनि विषेश गरी छोरीहरूलाई विद्यालय पढाउन बालबालिकाका वाबुआमालाई सम्झाउने काममा निरन्तर लागिरहेकी छिन् ।उनले महिला स्वास्थ्य स्वमंसेविकाको रूपमा गर्भवती महिलालाई आमाको प्रजनन स्वास्थ्यका तथा शिशुको स्वास्थ्यका सम्बन्धमा र युवा जोडीलाई स्थायी तथा अस्थायी परिवार नियोजनका विषयमा जनचेतना फैलाउने काम पनि गर्दै आएकी छिन् । उनले शहरमा सबै सुख सुविधामा बसेर महिला अधिकारका विषयमा भाषण गर्ने तर व्यवहारमा लागू गर्न खुट्टा कमाउने महिलाका लागि एक उदाहरणका रूपमा प्रस्तुत भएकी छिन् ।
अवार्ड कसरी प्राप्त गरिन् ?
लउरी मायालाई यस अन्तराष्ट्रिय अवार्डका लागि एक्सन वर्क्स नेपाल की अध्यक्ष तथा खलङ्गामा हमलाकी लेखिका राधा पौडेलले सिफारिस गरेकी थिइन् । उनले लउरी मायाले जुम्लाजस्तो विकट ठाऊँमा अन्धविश्वासमा बाचिँरहेका जनताबीच कसरी उनले जनचेतना जगाउने काम गरिन् भन्ने उल्लेख गर्दै लउरी माया उक्त पुरस्कारका लागि योग्य भएको भन्दै सिफारिस गरेकी थिइन् । अध्यक्ष पौडेलले करिब २ वर्षसम्म सँगै रहेर काम गरेको बताउँदै उनले गरेको उद्वितीय कामका लागि आफूले सिफारिस गरेको बताइन् ।

No comments:

Post a Comment