काठमाडौं , १९ असोज-विभेद विरुद्ध अभियान । काम गर्ने इच्छाशक्ति भए मानिसलाई शारीरिक अशक्तताले नरोक्ने उदाहरण बनेका छन्, २० वर्षीय आनन्द पासवान । जन्मदै दुई हात र एक खुट्टा नभएका पासवान विगत केही वर्षदेखि सडकमै बसेर चित्र कोर्दै आफ्नो जीविका गर्दै आएका छन् । पासवानको एउटा खुट्टा मात्र चल्छ भने दुई हात र एक खुट्टाले कुनै काम गर्दैनन् । उनी शारीरिक रुपमा अशक्त भएर पनि अहिले मासिक २० हजारसम्म आम्दानी गर्छन् ।आफ्नी आमालाई देखाउँदै उनले भने, ‘सानो छँदा कुनै चित्र देख्ने बित्तिकै त्यसलाई म उतार्ने प्रयास गर्थे । शारीरिक रुपमा सबल नभएकाले म घरमै बसेर चित्र कोर्थें ।
त्यस बेला मेरी आमाले मलाई निक्कै सहयोग गर्नुहुन्थ्यो । आमाको सहयोग र ममताले नै म यहाँसम्म आएको हुँ ।’ शारीरिक रुपमा सबल नभएकै कारण उनलाई हरेक काम गर्न निकै समस्या हुन्थ्यो नै । तर यसै समस्यालाई एउटा अवसरको रुपमा लिएर अघि बढेकाले नै अहिले एउटा सक्षम मानिस बन्न सकेकामा उनलाई गर्वको अनुभूति हुन्छ । केही वर्षअघि आफूले बनाएको चित्रको कुनै मूल्य नतोकी अरुले दिएको पैसामै सन्तोष मान्ने पासवानले विगत एक वर्षदेखि भने एउटा चित्रको मूल्य १४० देखि ५०० सयसम्म लिन थालेका छन् ।उनलाई अचेल हरेक दिन ११ बजेदेखि सुन्धारास्थित काठमाण्डु मलको ठीक अगाडि जोडी सुँगा, देवी देवता र फूलको चित्र बनाई बेचिरहेको देख्न सकिन्छ ।
यसरी उनले बाटोमा बनाएका चित्र बेचेर नै आफू र आमाको सहरको बसाइँ सहज बनाइरहेका छन् । तर घाम, पानी र विभिन्न समयमा हुँदै आएको धर्ना र जुलुसका कारण आफूलाई निकै समस्या हुने गरेको उनी गुनासो गर्छन् । उनले दैनिक सात वटासम्म चित्र बनाई बिक्री गर्ने गर्छन् । आफ्ना सिर्जनालाई सजाउन विभिन्न होटल र बढी मात्रामा विदेशीले लाने गरेकामा उनी खुसी व्यक्त गर्छन् । उनको ‘कला र गला’को सम्मान भने नभएको हो भन्छिन्, उनकी आमा चमेली देवी पासवान । चमेलीका अनुसार आनन्दसँग चित्र मात्र कोर्ने नभई फरकफरक स्वरमा गीत गाउने र विभिन्न किसिमका माटोको भाँडाकुँडा खुबीसमेत रहेको छ । छोराको कलाको सम्मान गर्दै सरकारले कुनै स्थानमा एउटा पसलको व्यवस्था गरिदिए काममा केही सहज हुनुको साथै ऊर्जा थपिने चमेलीको विश्वास छ । आनन्दको भने स्वदेशमा धेरै चित्रकला प्रदर्शनीमा सहभागी हुने अवसर पाएको तर विदेशमा गएर पनि आफ्नो प्रतिभाको प्रदर्शन गर्न नपाएको दुखेसो रहेछ । आफ्नो छोरोको यो ठूलो कसैले पूरा गरिदेओस् भन्ने चमेलीको इच्छा छ । कुुनैपनि औपचारिक शिक्षण सिकाइमा सहभागी नभएका पासवान चित्र कोर्ने र गीत गाउने सीपका अतिरिक्त नेपाली, हिन्दी, मैथली, भोजपुरी, अङ्ग्रेजीलगायत १३ वटा भाषा बोल्न सक्छिन् ।
अहिलेसम्म कुनै पनि सङ्घसंस्थाले आफूलाई सहयोग नगरेकामा उनको गुनासो छ । पासवानले शारीरिक रुपमा सक्षम भएर पनि सडकमा मागेर आफ्नो गुजारा गर्नेलाई आफ्नो ‘परिश्रमको फल मिठो’ हुने अनुभवसहित गरिखान सुझाव दिन्छन् । पासवानले एउटा खुट्टाको भरमै भान्साको सबै काम गर्ने, साथी भाइसँग घुम्न जाने, नुहाउने, बजार गएर सामान किनेर ल्याउने जस्ता काम आफैं गर्ने गर्छन् ।
No comments:
Post a Comment