मुक्त हलिया व्यवसाय सञ्चालन गरी आत्मनिर्भर हुदै

कञ्चनपुर, ८ कात्तिक , विभेद विरुद्ध अभियान।

भीमदत्त नगरपालिका ब्रह्मदेवका मुक्त हलिया परिवार सहकारीमा आबद्ध भएर आर्थिक उन्नतिमा लागेका छन् । 
 
ब्रह्मदेवका २१३ मुक्त हलिया परिवार चन्द्रसूर्य मुक्त हलिया कृषि सहकारी संस्थामा आबद्ध छन् । दुई वर्षदेखि सहकारीमा आबद्ध भएर उनीहरुले न्यून ब्याजमा ऋण लिई बाख्रापालन, बङ्गुरपालन, सिलाइकटाइ पसल र किराना पसल सञ्चालन गरेका छन् । सहकारीका अध्यक्ष दशरथ लुहारले सहकारीले धेरै मुक्त हलियाको जीविकोपार्जनमा सहयोग पुगेको बताउनुभयो । 
 
“सहकारीबाट ऋण लिएर व्यवसाय गरेका छौँ”, लुहारले भन्नुभयो, “व्यवसायले परिवारको लालनपालन गर्न सहज भएको छ ।” समूहका सदस्यले हरेक महिनाको अन्तिममा बचत रकम बुझाउने गरेका छन् । बचत बुझाएका दिन सदस्यले आवश्यकताअनुसार डेढ प्रतिशतमा ऋण लिने गरेका छन् । सहकारीका सचिव कालुराम भुलले मागअनुसार ऋण दिने गरिएको बताउनुभयो । 
 
दुई वर्षअघि गठित सहकारीमा रु तीन लाख बढी निपेक्ष सङ्कलन गरिएको छ । निक्षेपको अधिक रकम ऋण लगानी भएको छ । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको सहयोगमा मुक्त हलिया समुदायमा छरिएको पुँजीलाई एकत्रित गरी आर्थिक अवस्थामा सुधार ल्याउन सहकारी सञ्चालनमा ल्याइएको हो । 
 
कञ्चनपुरका चार स्थानमा सहकारी सञ्चालनमा छन् । मुक्त हलिया समाज महासङ्घका अनुसार सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गरी मुक्त हलियाका १४ सहकारी छन् । 

No comments:

Post a Comment