हामी देउता भन्दा पनि ठूला हुम् र ? - खगेन्द्र लामिछाने

आश्विन २३, २०७२, विभेद विरुद्ध अभियान  - बाबु, आजदेखि कामी दमै, क्षत्री बाहुन, गुरुङ मगर सबै बराबर भए ?’ बूढी आमैले प्रश्न गरिन् ।
पहिलैदेखि बराबर थिए भनौं भने आमैले पत्याउने कुरै थिएन । के भनौं के । एकछिन अलमलमा परें । बूढी आमैले मेरो मुख ताकिरहिन् । बोल्न कर लाग्यो, ‘भए आमै !’
‘के भन्नुभो ?’ आमैले मेरो मुखको नजिक आफ्नो कान ल्याइपुर्‍याइन् ।
‘आजदेखि सबै बराबर भए ।’ म अलि चर्को बोलें ।
‘त्यसो भए आजदेखि दलितले पका’ को हाम्ले खान पर्छ बाबु ?’ आफू बसेको मेच मेरो नजिकै सारिन् आमैले ।
अलमल नगरी मैले भनें, ‘खान पर्छ ।’
‘भान्सैमा आउँछन् ?’ आमैका आँखा अलि ठूला भए ।
‘भान्सामा आउन पाउन्नस् भन्यो भने कानुनले समात्छ ।’ हल्का हाँसेर भनें ।
‘लगेर थुन्छ बाबु ?’ आमै अलि डराएजस्ती देखिइन्, ‘यसपालि कानुन कडा बनाएछन् ।’
म हाँसें मात्रै । केही बोलिनँ ।
आमैले पुराना कुरा बेलिविस्तार लगाउन थालिन्– घाँस दाउरा लिन जाँदा दलितको भारी घचेट्दियो भने लौ फलानीकी बुहारी त फलानी दमिनसँग टाँसिएर हिँडेकी थिई भन्थे । अलि धेरै शत्रु हुने मान्छेलाई त मुखियाका घरमा लगेर उभ्याउँथे । गाम्को रीतिरिवाज बिगार्‍यो भन्दै दण्ड सजाय पनि गर्थे । कस्ता जमाना भोगियो ! कस्ता जमना आए– बूढीले खुइयऽऽऽ गरिन् ।
‘ठीकै छ छोराछोरी बुझ्नी छन्,’ आमैले छोराछोरी सम्झिन्, ‘तिनले खाए भने खान पर्ला ।’
विसं २०७२ असोज ३ गते साँझ ५ बजेतिर म आफन्तकोमा टीभी हेरेर बसेको थिएँ । र, सँगै थिए आफन्तहरू र छिमेकी क्षत्रिनी बूढी बज्यै । सबैजना एकै ठाउँमा बस्नुको कारण थियो संविधानसभाबाट संविधान घोषणा भएको टीभीमा प्रत्यक्ष प्रसारण हेर्ने ।
कूटनीतिक नियोगबाट पाहुनाहरू आएको हामीले हेर्दै थियौं । लामबद्ध भएर प्रधानमन्त्री, सभामुखलगायत अन्य मन्त्रीहरूले राष्ट्रपतिलाई कुरिरहेका थिए ।
‘हाम्रा राष्ट्रपतिभन्दा प्रधानमन्त्री बूढा छन्,’ आमैले सोधिन्, ‘भख्खरका मुन्छेलाई बूढा मुन्छेले कुर्‍याछन् । गाम्तिर यस्तो अलि स्वाम्दैन बाबु !’
‘पदले गर्दा हो आमै ।’ मैले भनें ।
‘एऽऽऽ भख्खरका भए पनि ठूलो पदका परे राष्ट्रपति !’ बूढी आमै छर्लङ्ग भइन् ।
एकैछिनमा राष्ट्रपति पनि आइपुगे । प्रधानमन्त्री, सभामुखलगायत गएर राष्ट्रपतिलाई स्वागत गरे । सबैजना संविधानसभा भवनभित्र पसे । सभामुखले संविधानमा हस्ताक्षर गर्नका लागि एकथान संविधान राष्ट्रपतिलाई दिए । संविधानलाई ढोगेर संविधानसभाबाट राष्ट्रपतिले संविधानको घोषणा गरे ।
‘बाबु यसपालिको संविधान त महाभारत जत्रै रैछ त !’ बूढीले जिब्रो निकालिन्, ‘पहिलाको त स्यानो थियो त ।’
‘पहिला ठकुरी, क्षत्री, बाहुनका कुरा मात्रै थिए संविधानमा,’ म हाँसें, ‘अहिले सबैका कुरा लेखिएको भएर त्यत्रो ठूलो भएको हो ।’
कुरा बुझेपछि बूढी आमैले टाउको हल्लाइन् ।
‘तर यी जाबाहोरले बोलेको कुरो कहिल्लै पुर्‍याउन्नन् ।’ एकछिनपछि आमै अलि रिसाइन् ।
‘यसपालि त पुर्‍याउँछौं भनेका छन्,’ मैले भनें ।
‘पहिला पनि त्यसै भन्थे,’ बूढी आमै त मज्जैले रिसाइन् ।
‘एकाउन्न सालमा सबै सराबरी बनाउने भनेर एमाले गर्जियो । त्यही डरले कांग्रेसलाई भोट दिएँ मैले । तर एमालेले जित्यो । केही लछारपाटो लाएन । दलितहरू एमालेसँग रिसाए । गुरुङ, मगर पनि रिसाए । देशमा त्यत्रो लडाइँ भयो । सबै नेपाली बराबर नभएरै त होला लडाइँ चलेको ।’ एक सासमा बूढी बक्बकाइन् ।
टीभीमा सभामुख बोल्दै थिए । बूढी आमै अचानक हाँसिन्, ‘भोट नदिए पनि एमालेका पालाँ दिन सुरु अरेको भत्ता चाइँ खाइचु है बाबु ।’ उनको हाँसोमा हामीले पनि हाँसो मिसायौं ।
हामीले टीभीतिरै ध्यान दियौं । सभामुखले दोस्रो संविधानसभाले गरेका कामको वर्णन नै गरे । कतै दीपावली हुँदै थियो, कतै भने काला झन्डा फरफराउन थालिसकेका थिए । अक्षर नचिन्ने ती बूढी आमैले पनि बडो चाख दिएर संविधान घोषणा कार्यक्रम हेरिरहेकी थिइन् ।
ती बूढी आमैले भनेको कुरा मनमा लाग्यो, ‘ठीकै छ छोराछोरी बुझ्नी छन्, तिनले खाए भने खान पर्ला ।’
बुझ्नेले भनेका कुरा नबुझ्ने मान्न तयार हुन्छ भन्ने कुराको यो एउटा उदाहरण हो । ती बूढी आमैले दलितसँग छोइएपछि जीवनमा धेरैपल्ट सुनपानीले आफूलाई छ्यापेकी छन्, चोख्खिनलाई । मेलापात जाँदा पनि दलित साथीसंगीसँग सकेसम्म तर्केर हिँडेकी छन् । जीवनको उत्तराद्र्धमा उनको मनमा लागेको छ, तिनलाई काटे पनि रगत आउँछ, हाम्लाई काटे पनि रगत आउँछ, ती पनि मरेर जानी हुन्, हामी पनि मरेरै जाने हो । यो धर्तीमा अजम्बरी केही छैन ।
‘एउटा कुरा मेरो मनमा बडो गहिरो गरी गडेको छ बाबु !’ आमै मतिर फर्किइन् ।
‘भन्नुस् न आमै ?’ मैले पनि ध्यान दिएँ ।
‘तिनलाई काटे पनि रगत आउँछ, हाम्लाई काटे पनि रगत आउँछ,’ बूढी गम्भीर भइन्, ‘यो कुरा हामीले भन्छम्, तर छोइछिटो पनि हाम्ले नै गर्छम् ।’
स्वर्गे हुने बेलाकी बूढी आमैले बडो गम्भीर भएर यो कुरा भनेपछि रिमोट लिएका भाइले टीभीको आवाज सानो बनाए । म पनि देब्रे हत्केलामा च्यापु अड्याएर आमैतिर ध्यान दिएँ ।
आमै बोलिरहिन्– हामी उपल्ला जातकाले आफ्नो गच्छेअनुसार देवी देउतालाई बोका, कुखुरा बलि दिन्छौं । देवी देउताले खान्छन् भनेर दिन्छम्, खानी नखानी उनै जानुन् । दलितले पनि आफ्नो गच्छेअनुसार पाडा, च्वाँचे, कुखुराको बलि दिन्छन् । देवी देउताले त्यो पनि खान्छन् । हामी घ्यू चामल चढाउँछौं त्यो पनि स्विकार्छन् । उनीहरूले पनि घ्यू, चामल, पैसा चढाउँछन्, त्यो पनि स्विकार्छन् । लौ भन बाबु, उनीहरूले दिएको देवी देउताले खान हुनी, हाम्ले चाहिँ खान नहुनी ? के हामी देउताभन्दा पनि ठूला हुम् र ?
बूढी आमैको प्रश्नले हामी सबै अवाक् भइयो । एकअर्कालाई पल्याकपुलुक हेर्नुबाहेक केही बोल्न सकिएन । धेरै पहिलादेखि यो कुरा आमैको मनमा गडेको रैछ । बूढी आमैले फेरि सोधिन्– के हामी देउताभन्दा पनि ठूला हुम् र बाबु ?

कान्तिपुर दैनिक बाट

No comments:

Post a Comment