के मतलब हामी उत्पीडितहरुलाई ? - आहुति

काठमाडौं, ३ कात्तिक -विभेद विरुद्ध अभियान । नयाँ संविधान घोषणा भएपछि नेकपा एमाले, एमाओवादी र राप्रपा नेपाललगायतका दलबीच बनेको गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु मात्र होइन, सरकार सञ्चालन समन्वय समिति समेत असमावेशी भएको भन्दै एमाओवादीका पोलिटब्यूरो सदस्य तथा युवा नेता आहूतिले आक्रोश व्यक्त गरेका छन् ।
सोमबार एमाओवादीले सरकार सञ्चालन समन्वय समिति गठन गरेपछि आफ्नो असन्तुष्टि सामाजिक सञ्जाल फेसबुकमा प्रकट गर्दै उनले आक्रोश पोखेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मन्त्री चयन गर्ने ठाउँमा तिमीहरु बस्छौ, चयन गर्दा सबै षड्यन्त्र र जालसाजी तिमीहरु गछौं ।’ उनले अगाडि लेखेका छन्, ‘फेरि आफैंले मन खुसी बनाएका मन्त्रीको अनुगमन गर्न समिति पनि तिमीहरु आफैं मात्र बसेर बनाउँछौं ।

उनले थप आक्रोशित हुँदै प्रश्न गरेका छन्, ‘तब यो समाचार हामी उत्पीडितहरुलाई ……. खान सुनाउँछौं ?’ उनले एमाओवादीले उत्पीडितहरुलाई धोका दिएको संकेत गर्दै लेखेका छन्, ‘तिमीहरुका मन्त्री, तिमीहरुको सरकार, के मतलब हामी उत्पीडितहरुलाई ? जे सुकै गर ।’
सोमबार बिहान एमाओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाहीको अनुगमन गर्न सरकार सञ्चालन समन्वय समिति गठन गरेको थियो ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
सो समितिमा महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, सचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल, कोषाध्यक्ष हरिबोल गजुरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा रहेका छन् ।
पार्टी र सरकारबीच समन्वय नहुँदा निर्णयको प्रभावकारिता नरहने र निर्णयको स्वामित्वसमेत नरहने भएकाले सो समिति गठन गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए।
सरकारमा बसेर जनताको पक्षमा अधिकभन्दा अधिक काम होओस् भन्ने ध्येयका साथ समिति गठन गरिएको र समितिले सरकारलाई आवश्यक परामर्श तथा निर्णयमा पारदर्शीतालाई विशेष ध्यान दिइने प्रवक्ता शर्माको भनाइ छ ।
‘पार्टीलाई जानकारी नदिई आफूखुसी निर्णय गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि समिति गठन गरिएको हो’, बैठकपछि प्रवक्ता शर्माले भने । यो समितिमा पनि महिला तथा दलितको सहभागिता छैन ।

No comments:

Post a Comment