कार्तिक ३, २०७२,विभेद विरुद्ध अभियान । शोकमा डुबेकी पार्वती सार्कीलाई नजिकिँदै गरेको दसैंले कुनै उत्साह जगाएको छैन । पुत्रशोकसँगै चुलिँदै गएको आर्थिक संकटले पार्वतीको परिवारलाई यस वर्षको दसैं दशा सावित भएको छ । राहतबाट प्राप्त जस्ता र काठले बनाएको टहरामा भेटिएकी पार्वती चिन्ताले गल्दै गएजस्तो देखिन्थिन् । छोराको चिन्ताले दुब्लाउँदै गएको उनको काम गर्ने ऊर्जामा पनि शिथिल बनाएको अनुभव उनी सुनाउँछिन् । १२ कक्षा उत्तीर्ण गर्दा कलेज टप भएका छोरा कृष्ण मिजारको मृत्युपछि परिवार नै गन्तव्यहीन देखिएको छ । काभ्रे गाविस–३ स्थित अरूको घरमा जीवनको आधा उमेर नोकर बसेका ४५ वर्षीय धनबहादुर सार्कीले पार्वतीलाई बिहे गरेपछि अर्काले दिएको जमिनमा सानो ढुङ्गामाटोको घर बनाएका थिए ।
२१ वर्षको हुँदासम्म अरूकोमै बसेका उनलाई मालिकले २ हजारमा जग्गा किनिदिएपछि आफ्नै घर सरेर पार्वतीलाई बिहे गरेका थिए । आफ्नै जमिनको उत्पादनले महिना दिन पनि खान नपुग्ने उनीहरूले दु:खसाथ एक छोरा र एक छोरी हुर्काएका थिए । अचानक भूकम्पले घर र छोरा दुवै लगेपछि पार्वतीले आँसु खसाल्दै भनिन्, ‘छोराले पढिसकेपछि राम्रो जागिर पाउने र त्यसैबाट कमाएको पैसाले घर बनाउने सुनाउँथ्यो ।’ काठमाडौंस्थित पशुपति क्याम्पसमा पढ्दै गरेका कृष्णको सिन्धुपाल्चोक मेलम्चीमा अध्ययन भ्रमण जाँदा वैशाख १२ को भूकम्पमा परी ज्यान गएको हो । कृष्णले वाणिज्यशास्त्रमा स्नातक सकेर जागिर पाएपछि परिवारमै खुसी आउने दिनगन्ती गर्दै बसेका सार्की परिवारलाई यस वर्षको दसैं हर्ष होइन, विस्मातले भरिएको छ । धनबहादुर काठ मिस्त्री हुन् ।
दैनिक ५ सय कमाउने उनको मदिरा सेवन लतले राति अबेरसम्म बाहिरै पिएर बस्छन् । यो लतका कारण उनले आर्थिक व्यवस्थापन गर्न सकेका छैनन् । गरिखाने कुनै उपाय नभएको यो परिवारको दिनहरू जहिल्यै अभाव, गरिबीमै बितिरहेको छ । यस्तो चरम पारिवारिक कुण्ठाको बाबजुद पनि छोरा कृष्णको पढाइ राम्रो भएकाले पार्वतीले चित्त बुझाएकी थिइन् । बाबाको अवस्था कमजोर भए पनि छोराकै मुख हेरेर आमाको जीवन खुसी थियो,’ सँगै भेटिएकी छोरी सावित्रीले भनिन्, ‘दाइको मृत्युपछि सारा खुसी लुटिए ।’ सावित्रीले भनिन्, ‘मलाई पनि दाजुको नै भर थियो, अब के गर्ने जीवन अन्योल भयो,’ यस वर्षको एसलसी परीक्षा बिग्रिएको चिन्तामाथि दाजुको मृत्युको दु:खद् अवस्थाले पिरोलिएको उनले सुनाइन् । उनले १२ कक्षा उत्तीर्ण गरेको हनुमन्तेश्वर उच्चमाविका प्राचार्य गोपाल श्रेष्ठ उच्चमावि टपर विद्यार्थीको निधनले मर्माहत भएको सुनाउँछन् । ‘कृष्ण जीवित भइदिएको भए यो परिवारमा केही वर्षपछि खुसीका दिन आउँथे,’ श्रेष्ठले भने । ‘पढिसक्ने, कमाउने, राम्रो घर बनाउने, बहिनीको बिहे गरिदिने र आफ्नो बिहे गर्ने,’ कृष्णको योजनामा रमाइरहेका यो परिवारले यो वर्ष दसैं मनाउने सोच बनाएका छैनन् । जुठो परेकाले कटेरा सिंगार्ने, काटमार गर्ने, नयाँ लुगा लगाउने केही नहुने पार्वतीले बताइन् । ऋणमा डुबेको अवस्थाबाट त्राण पाउन श्रीमान्बाट मात्र असम्भव भएकाले पार्वती पनि ज्यालामा मेलापात गर्छिन् । दिनभर मेलापातबाट आएको रकमले परिवारको दैनिकी चल्छ । पार्वतीले सुरुका दिनमा छोरालाई त्यसैबाट बचाएर खर्च पठाउँथिन् । काठमाडौंमा मासिक ७ हजारको जागिर पाएपछि भने छोराले खर्च माग्न छाडेको पार्वतीले बताइन् ।
कान्तिपुर बाट
No comments:
Post a Comment