दलितले मन्दिरमा बलि चढाउन लागेको भन्दै गैरदलित समुदाय बाट कुटपिट


अमर सुनार, विभेद बिरुद्ध अभियान -असोज २६ , सिंहासैन गाविस–९ खड्केगडाका ६५ वर्षीय कर्णबहादुर विक, ५५ वर्षीय आसे विक, २८ वर्षीय रामसिंह विक, ३० वर्षीय काशी विक र २३ वर्षीय उदयराम विकलाई खोदाई देउताको मन्दिरमा बलि चढाउन लागेको आरोपमा गैरदलित समुदायको एक समूहले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
हरेक वर्ष महानवमीका दिन दलित समुदायले मात्र पूजा गर्ने खोदाई देउतालाई असोज २४ गते महानवमीका दिन बली चढाउन लाग्दा ‘क्षेत्री हुँदाहुँदै दलितते बली चढाउन हुन्न’ भन्दै गैर दलित समुदायको एक समूहले कुटपिट गरेको उदयराम विकले आरोप लगाए ।
खोदाई देउताको मन्दिरमा विश्वकर्मा समुदायले बली दिन तयार पारेको एउटा राँगो र एउटा बोका आफूले बलीका रूपमा काट्न नपाए बस्ती उठाई दिने भन्दै सिंहासैन गाविस–९ का २० वर्षीय नौर थापा, २४ वर्षीय जगत थापा, ४० वर्षीय बल थापा, ४० वर्षीय कल थापालगायत करिव २५ जनाको समूहमा आएका गैरदलित समुदायको एक समूहले लाठी र मुक्का प्रहार गर्न थालेपछि भागेर ज्यान जोगाएको उदयराम विकले बताए ।विश्वकर्मा समुदायले बली दिने राँगा र बोका आफ्ना इष्टमित्रलाई काट्न लगाउने पुरानो परम्परा टुटाएर क्षेत्रीले काट्न पाउनु पर्ने भन्दै आक्रमण गरिएको विकको आरोप छ ।
लाठी प्रहारबाट घाइते भएका काशी विक र रामसिंह विकको टाउकोमा चोट लागेर रक्ताम्य भएका थिए । नजिक स्वास्थ्य संस्था र मेडिकल नभएका कारण स्थानीय जडिबुटीको प्रयोग गरेर उपचार गरिएको स्थानीय दलित अगुवा दयाराम विकले जानकारी दिए ।जातीय विभेद गरिएको भन्दै उक्त घटनाको उजुरी गर्न जिल्ला प्रहरी कार्यालय आइपुगेको घाइते उदयराम विकले जानकारी दिए ।

No comments:

Post a Comment