सिनो खान दबाब दिए पछि दलित समुदायले गरे इन्सेक संग अनुगमनको अनुरोध

बिभेद बिरुद अभियान् , कात्तिक ४ । बैतडी, मल्लादेही गाविसका दलितहरूले उक्त क्षेत्रमा सिनो खान गैर दलितहरूले दबाब दिने गरेको भन्दै दलितहरूको मानव अधिकार अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई असोज २१ गते निवेदनमार्फत अनुरोध गरेका छन् ।बडादसैँका अवसरमा उक्त क्षेत्रमा रहेको श्री डिलाशैनि भगवतीको मन्दिरमा राँगा बलि दिने चलन रहेको र गैर दलितहरूले बलि चढाएका राँगाहरूको सिनो दलितहरूले खानुपर्छ भन्ने रूढीबादि दबाब दिने गरेकाले स्थानीय दलित र डिलाशैनि सेवा समितिको तर्फबाट इन्सेकलाई निवेदनमार्फत अनुरोध गरेका हुन् ।

दसैँको टिकाको दिन मेला लाग्ने उक्त मन्दिरमा गैर दलितहरूले राँगा बलि दिने चलन छ । तर, केही वर्षअगाडिदेखि दलितहरूले सिनो खान अस्वीकार गर्दै आएको डिलाशैनि सेवा समितिका सदस्य एवम् स्थानीय दलित अगुवा राजेन्द्र लुहारले बताए ।‘समिति र हामिले जसले राँगा बलि चढाउँछ उसैले व्यवस्थापन गर्नुपर्छ भन्ने निर्णय गरेकाले सो को अनुगमनका लागि मानव अधिकारको क्षेत्रमा काम गरिरहेको संस्था इन्सेकलाई निवेदन दिएका हौँ ।’-लुहारले बताए ।

दलित अगुवा लुहारले स्थानीय दलित समुदायको नेतृत्व गर्दै बैतडीका इन्सेक प्रतिनिधि नरी बडुलाई निवेदन बुझाएका हुन् ।इन्सेक प्रतिनिधिलाई निवेदन दिएपछि उनीहरूले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएका छन् ।

‘बलि दिने समयमा जिल्लाका अन्य भगवतीका मन्दिरहरूमा पनि दलितहरूमाथि विभेद हुने भएकाले जिल्लाका अन्य मन्दिरहरूको पनि अनुगमन गरिदिनुहोस ।’-लुहारले इन्सेक प्रतिनिधि नरी बडुलाई भने ।दसैँको समयमा विभिन्न क्षेत्रमा लाग्ने मेलामा दलित समुदायमाथि हुँदै आएको विभेदका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समक्ष अनुगमन गर्न दलित समुदायले गरेको आग्रह अनुसार इन्सेकले अनुगमन गरेको छ ।निङ्गालाशैनि भगवती, मेलौली भगवती, उदयदेव भगवती र डिलाशैनि भगवतीको मन्दिरमा दलित समुदायले विगतदेखि विभेद खेप्दै आएको बारेमा इन्सेकले असोज २३, २४ र २५ गते अनुगमन गरेको हो ।

इनसेक जिल्ला प्रतिनिधि नरी बडुको नेतृत्वमा पत्रकार, दलित अधिकारकर्मीलगायतले उनीहरूको अवस्थाबारे अनुगमन गरेका थिए ।मल्लादेही गाविसमा बसोवास गर्दै आएका दलित समुदायले आफूहरूको मानव अधिकार अवस्थाबारे अनुगमन गरिदिन इन्सेकलाई आग्रह गरेपछि उक्त अनुगमन गरिएको इन्सेक जिल्ला प्रतिनिधि नरी बडुले जानकारी दिए ।अनगमनमा संलग्न अधिकारकर्मीको टोलीले विगतका वर्षहरूको तुलनामा दलित समुदायमाथि गरिने विभेदमा कमी आएको निष्कर्षनिकालेको छ । ‘विभेद निमिट्यान्न भने हुन सकेको छैन ।’-अधिकारकर्मी नरी बडुले बताए ।

अप्रत्यक्ष रूपमा दलित समुदायमाथि विभेद भएपनि प्रत्यक्ष रूपमा भने कसैले पनि विभेद नगरेको टोलीको निष्कर्ष छ ।‘आफूखुसी नै हामीले राँगाको मासु खायौं, यसपालि कसैले पनि खानुपर्छ भनेर जबरजस्ती गरेन ।’ देहिमाण्डौँ गाविस- ५ बसैँका कृष्ण लावडले भने ।राँगाको मासु खाने दलित समुदायले उक्त मन्दिर क्षेत्रको सरसफाई पनि गर्नुपर्ने चलन भने यथावत रहेको अनुगमन टोलीमा संलग्न दलित अधिकारकर्मी रमेश कोलिको भनाइ छ ।

‘इच्छा हुनेले खायौं । नहुनेले खाएनौं । प्रत्यक्ष रूपमा दबाब दिएर खानै पर्छ भनेर कसैले पनि भनेनन् ।’-पाटन नगरपालिकाका हरि पहरीले भने ।पुचौँडी क्षेत्रमा पर्ने मल्लादेही गाविसमा समितिले गरेको निर्णय अनुसार विधिवत रूपमा मेला सम्पन्न भएको डिलाशैनि मन्दिर सेवा समितिका अध्यक्ष वकिलबहादुर धानुकले बताएको इन्सेकमा खबर छ  ।

No comments:

Post a Comment