२४ वर्षदेखि रोल्पाका आइतराम सुनार ढुङ्गा कुटेर जीविका चलाउँदै

विभेद बिरुद्ध अभियान - रोल्पा, कात्तिक ९ – गजुल ३ रोल्पाका आइतराम सुनारले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै आउनुभएको छ । उमेरले ५७ वर्ष पार गरिसकेका सुनार प्रायः घरदेखि करिब दुई घन्टा टाढा खुमेलगाढ खोलाको किनारमा घर छाउने ढुङ्गा कुट्दै गरेको भेटिनुुहुन्छ ।
यसरी ढुङ्गा कुटेर उहाँकोे आठ जनाको परिवारले जीविका चलाउँदै आएको छ । औषधि उपचार गर्ने पैसा नहुँदा सानैमा दुई छोरी गुमाउनु पर्‍यो । दुई छोरा गरिबीका कारण पढाइ छोडेर काम खोज्दै भारत पुगेका छन् ।
कक्षा ७ अनुत्तीर्ण भएका १५ वर्षे एक छोरा उहाँसँगै काम गर्छन् । तेह्र वर्षको कलिलो उमेरमा टुहुरो बनेका सुनार बुबाको मृत्युपछि भारतमा पैसा कमाउन भनेर १० वर्षसम्म भौँतारिनुभयो । तर पनि पढाइ–लेखाइ नभएका कारण उहाँले भारतमा राम्रो जागिर पाउन सक्नुभएन । ढुङ्गा नै कुट्नुपर्छ भने किन परदेशमा बस्ने भन्ने सोची स्वदेश फर्किएर उहाँले यो पेसा रोजेकोे बताउनुभयो ।
ढुङ्गा कुटेर कमाएको सानो रकम पनि ठेकेदारले ठगेको स्मरण ताजै छ । थोरै जग्गा किन्दा लागेको ऋण तिर्न नसकेका कारण छोराहरुलाई बीचमै पढाइ छाड्न लगाएकोमा अहिले सबैभन्दा बढि पछुतो छ ।
चाडपर्वका बेला वा अत्यावश्यक काम पर्दाबाहेक वर्षैभरि खोलामै बिताउने सुनारले हातखुट्टामा लागेको चोटका दाग देखाउँदै भन्नुभयो, “यो काम असाध्यै जोखिमपूर्ण छ तर के गर्नु बाध्यता ।”
वर्षा पछिको समयमा अलि धेरै ढुङ्गा भेटिने भए पनि त्यत्तिकै बढी कष्टपूर्ण हुन्छ । पछिल्लो समयमा खोला किनारमा ढुङ्गा कुटेर जिविको पार्जन गर्नेको संख्या बढ्दै गएको छ ।
आयआर्जनको अन्य बाटो नभएको हुँदा कष्ट मोलेर भए पनि उहाँ बाचुन्जेल यही कामलाई निरन्तरता दिने सोचमा हुनुहुन्छ । अभावमा छट्पटिएर बाल्यकाल गुजार्नुभएका सुनारले पढाई लेखाइको महत्व राम्रैसँग बझ्नु भएको छ । अहिले घरमै छोराछोरीसँगै पढेर आफ्नो नामसम्म लेख्न सक्ने हुनुभएको उज्यालोमा खबर छ   ।
उमेर ढल्कि सकेका सुनारलाई स्वास्थ्यले पनि साथ दिन छाड्दै छ । घाम पानीमा रुझेर काम गरेकाले बिरामले च्याप्दै लगेको छ । बुढेस कालमा कसरी गुजारा चलाउने भन्ने चिन्ता थपिंदै छ । उहाँ भन्नु हुन्छ, “आफ्नो यहि पेशामा जिवन जान लाग्यो । अव त सरकारले पनि केहि सहयोग गरे हुने नि । के गर्नु सरकारले चलाखलाई मात्रै हेर्छ ।”
ढुङ्गा कुट्ने पेसालाई व्यावसायिक रुपमा अँगाल्नेको सङ्ख्या कम भए पनि वर्षापछिको समयमा खुमेलगाड खोलाको बगरैभरि ढुङ्गा निकाल्ने मान्छेको भीड छ । पुर्खौं देखि घर छाउन प्रयोग गरिँदै आएको यस्तो ढुङ्गा जहाँतहीँ पाइँदैन । समयसँगै बजारमा घर छाउन सस्तो तथा सरल विभिन्न सामग्री उपलब्ध भए पनि यसको माग र भाउ बढन छाडेको छैन । यस्ता धेरै आइतरामहरु छन् जो बुढेस कालमा पनि जिवन धान्नकै लागि कठिन काम गर्न बाध्य छन् । 

No comments:

Post a Comment