दशैं र तिहारको पहिलो शिकार दलित ! - गणेश वि.के.

विभेद विरुद्ध अभियान, असोज २१-नेपालको संविधानमार्फत हामी नेपाली जनताको सात दशक लामो संघर्षको प्रतिफल तथा यसबीचमा भएका आर्थिक÷सामाजिक सन्नीकट चेतनाको संयोजनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिकताको झ्यालबाट भविष्यमा सुन्दर, शान्त र प्रगतिशील नव नेपालको दलितमैंत्री तस्विर सहजै देख्न सकिने राजनीतिक अवस्थामा हामी आइपुगेका छौं । त्यसैले अबका हाम्रा चाँडपर्वहरु पनि नेपालको संविधानको प्रगतिशीलतामा आधारित हुनुपर्दछ । अब हामीले गाउने गीत, भनिने कथाहरु, लेखिने उपन्यासहरु, कविताहरु, महाकाव्यहरु, हाम्रा गाथाहरु सहनसहन, चालचलन, धर्मसंस्कृतिका नामका जडताबाट मुक्त हुंदै सामाजिक आचारसंहिता र संस्कार प्रणालीमा पनि नयाँपन ल्याउनुपर्दछ ।
दशैंका सम्बन्धमा दुई वटा मान्यताहरु रहदै आएका छन् । पहिलो धार्मिक मान्यता जसमा रामले रावणलाई बध गरेको वा दुर्गा भवानीले महिषासुर राक्षसलाई मारेको दिनसंग सम्बन्धित छ भने दोस्रो आजभन्दा १० हजार वर्ष पहिले घुमन्ते र शिकारी युगबाट समाज कृषि युगमा प्रवेश गरेपछि खाद्यन्न जगेडा गर्ने, श्रमको बचत गर्ने र वसोवासको स्थायी व्यवस्था गर्न थालेपछि सामाजिक प्रचलनका रुपमा किसानहरुले बाली भित्र्याएकोमा उत्सव मनाउने प्रचलनसंग सम्बन्धित छ । पछि भारतवर्षमा हिन्दू धर्मको विकास हुंदै गएपछि धार्मिक सत्ता खडा गरेर राजनीतिक सत्तामा अडिरहने भर्यांग बनाइयो । कम्यूनिष्ट पार्टीहरुको नेतृत्वको सरकारले समेत धर्मनिरपेक्षता र नेपालको संवैधानिक मान्यता विपरित दशैंलाई विशेषअधिकार प्रदान गर्ने चलनको क्रमभंग गर्न नसक्नु गम्भिर साँस्कृतिक चुनौतिका रुपमा रहेको छ ।
आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाईं भन्ने हाम्रो अनुभवले प्रचलनमा आएको चर्चित नेपाली उखान हो ।
तथापि मन बदलिने हो भने परिवर्तन सुनिश्चित र स्थायी हुन्छ भन्ने मान्यताका आधारमा हामीले यसबाट भाग्ने वा सोही विकृत संस्कृतिको दास बन्ने गम्भिर गल्ति गर्नु हुंदैन । चाहे कम्यूनिष्ट पार्टी होउन या अन्य दलहरु वा कुनै धर्मका अनुयायी किन नहुन नेपाली समाजको अनिवार्य संस्कृति बनिसकेका हाम्रा चाँडपर्वहरुलाई बहिष्कार गर्नुभन्दा प्रगतिशील रुपान्तरण गर्दै नयाँ ढंगले मनाउनु उपयुक्त विकल्प हुने देखिन्छ ।
दशैं र राजनीति पाटो ः
नेपाली समाजका शक्तिशालीवर्गले आफ्नो राजनीतिक सत्ता टिकाउनका लागि विभिन्न साँस्कृतिक मान्यता बनाएर लाद्ने काम गरियो । दशैंका सन्दर्भमा अस्वस्थामा जस्तो दीर्घजीवी, रामजस्तो महापुरुष, राजाको जस्तो राजगाज, हावा जस्तो गतिवान, दर्योधन जस्तो सम्मान, पाण्डव पिता जस्तो सुरो, यूधिष्ठिर जस्तो सत्यवादी, विदूर जस्तो बद्धिमान र नारायण जस्तो किर्तिमान हुनु भनेर आशिक दिनु भनेको राज्यसत्ताको आकाँक्षा प्रष्ट बुझिन्छ । अर्थात समाजमा समेत जसका भैसा उसका पैसा, जसका भाई उसका गाई, जसका छोरा उसका बोरा जस्ता आख्यानहरु निर्माण भएका छन् । पृथ्वीनाराण शाहले उपत्यका कब्जा गरेपछि आफ्नो शासन व्यवस्था स्थापित गर्न गोरखाबाट फूलपाती भित्र्याउने, बढाइ गर्नेलगायतका चलनहरु गोरखा राजनीतिको निरन्तरता हो । पछि यो क्रमशः लिम्बुवान, मगरात, नेवार, थारुबाहल्यता क्षेत्र र तराईमधेशमा समेत विस्तार भयो । नेपालका तत्कालिन शासकहरुले अंग्रेजको बहिर्गमन पश्चात भारतबाट केही विशेषज्ञहरुलाई बोलाएर शाहवंश कायम रहने गरी राजतन्त्रात्मक एकात्मक शासन, हिन्दू धर्म, जातीय विभेद, भूमिको असमान वितरण र भाषागत विभेदलाई संस्थागत गर्ने काम गरिएको थियो । जुन सत्ता हटाउन अढाई सयवर्ष पर्खनुपर्यो ।

दशैं र आर्थिक पाटो ः
आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाईं भन्ने हाम्रो अनुभवले प्रचलनमा आएको चर्चित नेपाली उखान हो । दशैंको नाममा भाग्यवाद, उपहारवाद र उपभोक्तावादको सृजना गरिने आर्थिक तथा बजार अर्थतन्त्रको पाटो डरलाग्दो छ । आर्थिक विषमताले आर्थिक संकट ल्याउँछ भने यसैको जगमा लुटपाट, चोरी, घुसखोरी, जुवातास, जाँडरक्सी, धर्मको नाममा श्रीमतिका गहना धरौटी राखेर भएपनि बली दिने, अन्न बेचर जात्रा भर्ने, भूदान, पैसा दान, तुलादान, अन्न हवन गर्ने, सुनचाँदी चढाउने, दशैंको बेला केही सम्पति जोड्नैपर्ने, लुगा कपडा, गहना किन्नुपर्ने, खसी, बोका, रागा काट्नुपर्ने, चढाउनुपर्ने, व्यापक रुपमा खानपान गर्नुपर्ने, दशैंका नाममा जिब्रोमा प्वाल पार्नुपर्ने, नांगैं नाच्नुपर्ने, भोकभाकै जग्य बस्नुपर्ने, धामी झाक्रीको अलग पीडा खेप्नुपर्ने, जातीय छुवाछूत, फेरि एक दिन मात्र होइन १५ दिनसम्म अर्थात दशैंदेखि तिहारसम्म मनाउनुपर्ने, विद्यालय बन्द, कार्यालय बन्द, बजार बन्द, सबै जनजीवन दशंैमय भएपछि सबै बाध्य हुने, जस्ता विकृतिहरु हाम्रा खतरनाक संस्कृति बन्दै जानु र पूजीवादले यसलाई अवसरकारुपमा उपयोग गर्ने हुनाले नयाँ रुपान्तरणको बाटो अवलम्बन गर्नुपर्दछ ।

दशैं र सामाजिक÷साँस्कृतिक पाटो ः
१२ भाई छोरा १०० भाई नातिको आशिक दिने चलन हाम्रोमा रहदै आएको छ । पारिवारिक मूल्य मान्यताको निरन्तरता, टाढा टाढाका परिवारका सदस्यहरु जमघट हुनु, उपहार आदानप्रदान गर्ने, कुलदेउताको पूजापाठ गर्ने, पारिवारिक तथा सामाजिक सदभाव बढाउनु, पुर्नउत्पादन, हार्दिकताको आदानप्रदान प्रमुख सामाजिक साँस्कृतिक आयाम हुन । बैतडीको मल्लादेहीमा मन्दिर प्रवेश गरिएका दलितहरुले बदलामा रागा बहिष्कार गरिएको १५ वर्ष पहिलेदेखिको दलित गैरदलित अन्तरविरोध अझैं हल भएको छैन । त्यहाँको संस्कृतिलाई १० वर्षको जनयुद्ध र १५ वर्षसम्मको संघीय लोकतान्त्रिक गणतन्त्र र राज्पुनःसंरचनाको वहसले पनि रुपान्तरण गर्न सकेको छैन । सामाजिक तथा साँस्कृतिक पाटोले निर्माण गर्ने विभेदहरुमा दलितहरु विष्ट कहाँ जानु, मोही र मजदूरहरु जमिन्दारकहाँ जानु, गाउँलेहरु मुखियाकोमा जानु, तल्लो दर्जाका कर्मचारी हाकिमकोमा जानु, पूर्वपंचहरु पूर्वराजाकोमा जानु, कार्यकर्ताहरु पार्टी नेताकोमा जानुलाई लिन सकिन्छ । समयका हिसावले अन्न उत्पादन गरेको बेला अर्थात असोज डुमका घर आ भात जा भात अर्थात असोजको महिना दलितको घरमा भातैभात हुन्छ भन्ने मान्यता सुदूरपश्चिममा लोकगीत समेत निर्माण गरिएको छ ।

दशैंलगायत चाँडपर्व रुपान्तरणको प्रस्ताव ः
सामाजिक तथा साँस्कृतिक जीवनका अभिन्न अंग बनिसकेका हाम्रा चाँडपर्वहरुको महत्व ठूलाठूला राजनीतिक परिवर्तन र उत्पादनका सम्बन्धहरुको फेरबदलसंगै परिवर्तन हुदैजान्छ । ठूलाठूला परिवर्तनहरुमा चाँडपर्वहरुमा पनि परिवर्तन गरिएन भने यिनीहरु सोतः लोप भएर जान्छन् । त्यसैले अब दशैंलाई हिन्दूहरुको मात्र होइन आमनेपालीहरुको साझा पर्व मनाउनुपर्दछ । धर्मनिरपेक्षताको मूल्य र मान्यतानुसार सबैप्रकारका चाँडपर्वहरुलाई सम्बन्धित धर्महरुबाट पृथक बनाउनुपर्दछ र खास जातिका पर्वहरुलाई राज्यले दिदै आएको विशेष अधिकार कटौति गरिनुपर्दछ । दशैंलगायतका पर्वहरुमा गरिने अन्धाधुन्ध खर्चलाई किफायति बनाउने अभियान सम्बन्धित समुदायका आन्दोलनहरुले संचालन गर्नुपर्दछ ।

समाजको डर तथा निर्वाचनमा मत प्रभावित नहोस भन्ने गलत र अवैज्ञानिक चिन्तनमा फेरबदल गर्दै वैज्ञानिक मान्यता स्थापित गरिनुपर्दछ । अबको नयाँ संस्कृति निर्माण गर्दा विभिन्न गौरवपूर्ण आन्दोलनबाट स्थापना गरेका शहिद, मानवअधिकार, नारी दिवस, लोकतन्त्र, गणतन्त्र छुवाछूतमुक्त जस्ता दिवसहरुलाई राष्ट्रिय चाँडपर्वका रुपमा मनाउनुपर्दछ । यसका लागि हामीले हाम्रा पार्टी, संगठन तथा आन्दोलनहरु राष्ट्रव्यापी, जनव्यापी, अनुशाशित, एकताबद्ध, समावेशी र सबैको स्वामित्व हुने अभियानको योजना सहितको कार्यान्वयनको नेतृत्व गर्न सक्नुपर्दछ ।एभरेस्ट दैनिक बाट

No comments:

Post a Comment