१४ वर्षका अनाथ मंगललाई क्यान्सर अप्रेसन गर्न ४ लाख लाग्ने, छैन पैसा

सरोज उपरकोटी,कार्तिक १२ ,भरततपुर, चितवन । बारपाक–७, मनीडाँडा गोरखाका मंगल बहादुर विक १४ बर्षको भए । उनी अनाथ हुन, उनको एक जना दिदी बाहेक अन्य कोहि छैन । बाउ, आमाबाट टुहुरिएका मंगल बहादुर एक दिदीको पनि विवाह भए पछि पूर्ण रुपमा बेसहरा बनेका थिए । मगंलबहादुरमा अनाथ हुनुको पिडा त थियो नै त्यस माथि झन अर्को बज्रपात प¥यो, त्यो हो क्यान्सर (अर्बुदो) । 

मंगल बहादुरको दाहिने खुट्टाको घुँडा नेर क्यान्सर भएको छ । गत साल फागुनको १५ गते चितवन आई चितवन मेडिकल कलेज हुँदै हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेका छन् । क्यान्सर अस्पतालको हाता भित्र रहेको कुरुवा घरमा निशुल्क रुपमा बसेर मंगल बहादुरले विभिन्न व्यक्ति र संस्थाहरुको सहयोगमा ६ पटक सम्म के.मू र औषधीहरु त खाईरहेका छन्, तर चिकित्सकले उनको जति सक्दो छिटो अप्रेशन गराउन पर्ने भनेका छन् तर उनीसँग पैसा छैन् । डाक्टरले उनको अप्रेशन गर्न करिब ४ लाख लाग्ने बताएको मंगल बहादुरकी दिदी मनमाया विक(१८ वर्षिया)ले बताईन् । 

४ लाख जुटाउन सक्ने यी दिदी भाईको कुनै उपाय नभएको मनमायाको भनाई छ । उनी भन्छिन् – ‘डाक्टरले अप्रेसन गर्न ४ लाख लाग्छ भनेको छ तर हाम्रो केही उपाय छैन्, अब के गर्ने ?’ मनमायाको दुखेसो अनुसार भाईको अप्रेशन गराउन ढिला भएको डाक्टरले बताईरहेका छन्, पैसा भएको भए अप्रेशन २ महिना अघि नै हनु पर्ने थियो । अप्रेशन छिटो नभए क्यान्सर शरीर भरी फैलिन सक्ने डाक्टरले चेतावनी दिएको छ । डाक्टरहरुले अप्रेशनबाट मंगल बहादुरको घुँडामा स्टिल हाल्ने बताएको मनमाया बताउँछिन् । ६ पटकको के.मू र औषधीले मंगल बहादुरको बिमारमा राम्रो सुधार आएको डाक्टरको भनाई उदृत गर्दै मनमायाले बताईन् । अप्रेशन पछि बिमारमा पूर्ण निको हुने आशा पालेका मंगल बहादुर आफू जस्तो अनाथ र गरीबलाई क्यान्सर हुनु भाग्यको फल हो भन्ने ठान्छन् । ‘बा, आमा भएको भए ऋण नै गरेर भए पनि मेरो उपचार हुन्थ्यो होला तर मेरो कोही नहुनु र मलाई नै यस्तो हुनु मेरो भाग्यले नै मलाई ठगेको छ’ – भक्कानिंदै मंगल बहादुरले भने । उनीहरु अहिले कसैको सहयोग कुरिरहेका छन् । सहयोग गर्न चाहनेहरुले मनास्लु विकास बैंकमा रहेको खाता नम्बर  ००१०००४१३४ मा पैसा पठाई भाईको जीवन बचाईदिन मनमायाले आग्रह गरिन् ।

मंगल बहादुरको घुँडामा क्यान्सर हुनुको कारण ढुङ्गाले ठोकेर रगत जमनु थियो । २०७२ सालको बैशाख १२ गते गएको भुँईचालोमा भाग्ने क्रममा घर भत्किएर ढुङ्गाले ठोकेको मंगलबहादुरले बताए । यहि भुँईचालोले उनका बिरामी बाउ सन्त बहादुर विकलाई पनि घर भित्रै थिचेर मारेको थियो । मंगल बहादुरको घुँडामा ढुङ्गाले ठोकिए पछि २ महिना खासै केहि भएन । तर पछि फेरी गोरखा बजारमा सिलिन्डरले त्यहि ठाउँमा ठोकियो र समस्या बल्झिएको मंगलबहादुरले बताए । मंगल बहादुर गोरखाको सदरमुकाममा रहेको बाल मन्दिर नामक अनाथ विद्यालयमा कक्षा ८ मा पढ्दै गरेका विद्यार्थी हुन् । भाईको बिमारमा हेरचाह गर्नु पर्दा बैबाहिक सम्बन्ध समेत गुमाएकी मनमायाले आफ्नी आमा लालिमाया विक पनि गरीबीकै कारण उपचार नपाएर बितेको बताईन् । आमा लालिमायाको फुल्लिने, सुन्निने भएर उपचार नपाई मृत्यु भएको मनमायाले सुनाईन् । मंगल बहादुरको बारपाक–७, मनीडाँडा गोरखामा घर बस्ने जग्गा बाहेक केहि नभएको र त्यो जग्गा पनि भुकम्पले चिरा–चिरा परेको मनमायाको भनाई छ ।   

No comments:

Post a Comment