ज्यानको प्रवाह नगरी परियारले बालिकाको उद्धार गरे

विभेद बिरुद्ध अभियान- कार्तिक ९,  मानिसलाई सबैभन्दा बढी मायाँ आफ्नै ज्यानको लाग्छ । शरीरको कुनै भागमा सानो चोट लाग्यो भने पनि तत्कालै उपचारको माध्यम खोज्ने गरिन्छ ।अझै पछिल्लो समय मानिसमा मानवता घट्दै गइरहेको छ । तर, म्याग्दीमा आइतबार एक युवाले आफ्नो ज्यान जोखिममा पारेर कालीगण्डकी नदीबाट एक बालिकालाई उद्धार गरेका छन् ।
कालीगण्डकी नदी आसपासका क्षेत्रमा साथीसँगै खेल्न गएकी बेनी नगरपालिका–७ का सोवन श्रेष्ठकी ८ वर्षीया छोरी सम्पदा श्रेष्ठलाई कालीगण्डकी नदीले बगाएपछि पर्वत बेनीका १७ वर्षीय अर्जुन परियारले ज्यानको बाजी लगाएर श्रेष्ठको उद्धार गरेका हुन् ।
श्रेष्ठ समिल एन्ड फर्निचर उद्योग नजिक साथीसँग खेलिरहेको अवस्थामा बालिकालाई बगाएको देखेपछि खोलामा हाम फालेका पर्वत मल्लाज–३ का २३ वर्षीय जल्फकार मियाँ र परियारले बालिकालाई उद्धार गरेका थिए ।
प्रहरीका अनुसार मियाँलाई चोट लागेपछि परियार खोलामा पुगेका थिए । खोलामा बगाइरहेको अवस्थामा देखेका प्रत्यक्षदर्शीका अनुसार परियारको अन्तिम प्रयासमा बालिकाको ज्यान जोगिएको थियो । “परियार हाम्रो लागि भगवान्का रुपमा प्रकट भए । उनलाई जति धन्यवाद दिएर पनि पुग्दैन” उद्धार गरिएकी बालिकाका हजुरबुबा अनोद श्रेष्ठले भन्नुभयो ।
कालीगण्डकीबाट उद्धार गरिएकी बालिकाका परिवारले उद्धारमा संलग्न परियारलाई घरमै लगेर सम्मान गरेका छन् । सम्मानको क्रममा छिमेकी र आफन्तले समेत परियारलाई धन्यवाद दिएका थिए ।

No comments:

Post a Comment