अन्तरजातीय विवाहका जोडी विरुद्ध अभिभावकहरु लागेपछि तनाव


विभेद विरुद्ध अभियान ,बागलुङ, २० असोज~तीनसाता अघि भएको अन्तरजातीय विवाहका जोडी विरुद्ध अभिभावकहरु लागेपछि तनाव शुरु भएको छ । कुश्मीसेरा स्थित शान्ति उमाविमा कक्षा ११ मा अध्यनरत बबिन परियार र हेमन्ती थापाले प्रेम विवाह गरेका थिए । उनीहरुको विवाह विरुद्ध केटी तर्फका अभिभावक लागेपछि तनाव सिर्जना भएको हो ।

केटीका अभिभावकले केटा विरुद्ध अदालतमा बलात्कार मुद्धा दायर गरेका छन् । उक्त घटनापछि केटा सम्पर्क विहिन भएकोले केटा पक्षले अपहरण परेको अनुमान गरेको छ । बेपत्ताको खोजी गरिदिन सहयोग गर्न पिडित केटा पक्षले मानवअधिकारकर्मी, संचारकर्मी र प्रहरी प्रशासनलाइ आग्रह गरेका छन् ।
२०५७ साल जन्म मिति भएका दुवैजना १६ बर्षको भएकोले भागि विवाह गर्ने उमेर नभएको भन्दै अघिल्लो साता प्रहरीमा सर्वदलीय राजनीतिक संयन्त्र र दुवै पक्षका अभिभावक बसेर छलफल गरी केही समय आफ्नो आफ्नो घरमा राख्ने निर्णय गरेका थिए । उक्त निर्णयपछि प्रहरी परिसरबाटै भागेका उनीहरुलाइ केटी पक्षले आरोप प्रत्यारोप र बलात्कार गरेको आरोप लगाएपछि तनाव सिर्जना भएको संयुक्त राजनीतिक संघर्ष समिति बागलुङका संयोजक धनबहादुर परियारले बताए ।
केटा दलित परिवारको र केटी जनजाती परिवारको भएकोले यो घटनामा जातीय विभेद भएको उनीहरुले ठहर गरेका छन् । २१औं शताब्दीमा आएर पनि छुवाछुतको विभेद कायमै रहनु लज्जास्पद र दुर्भाग्यपूर्ण भएको भन्दै उनीहरुले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरी बुधवार पत्रकार सम्मेलन समेत गरेका थिए ।
कानूनी रुपमा दण्डनीय मानिएको जातीय विभेद अनुसार दोषीलाइ कारवाही गर्न पनि विज्ञप्तीमा माग गरिएको छ । उमेर नपुगेकोले अभिभावकको संरक्षकत्वमा बस्ने निर्णय विरुद्ध केटीपक्षले केटालाइ बेपत्ता बनाएकोले मानवअधिकारको उलंघन भएको समेत उनीहरुले ठहर गरेका छन् ।
उक्त घटनालाइ अतिरञ्जित बनाएर प्रेम विवाहलाइ पनि बदनाम गरिएको बताइएको छ । विज्ञप्तीमा केही संचारमाध्यममा समेत एकतर्फी समाचार प्रकाशित भएको भन्दै उनीहरुले विरोध गरे । मुद्दालाइ वास्तविकता भन्दा फरक पारेर झुट्टा बनाइ आएका खवरप्रति खेद व्यक्त गर्दै सत्य तथ्य ल्याइदिन पनि माग गरिएको छ । झुटा मुद्धा खारेज र सम्पर्क विहिन भएका केटाको खोजी गरिदिन आग्रह गर्दै केही भएमा त्यसको जिम्मा केटीपक्षले लिनुपर्ने समेत चेतावनी दिएका छन् । उनीहरुले घटनालाइ अतिरञ्जित गरिएमा सशक्त प्रतिवाद गर्ने समेत बताएका छन् ।
उक्त अवसरमा तराइमा १६ बर्षकै उमेरमा भएका धेरै विवाहका घटनामा प्रशासनले वास्ता नगरेको र यहाँ दलित परिवार जोडिएकोले साथ र सहयोग पाउन नसकेको संजालका अध्यक्ष टकबहादुर बोहराले बताए । केटी पक्षले बलात्कार गरेको लगायतका मुद्दामा २५ जनालाइ दोषि देखाएको उनीहरुले गुनासो गरे । संजालका अध्यक्ष बोहोराको अध्यक्षता र धनबहादुर परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अन्तरजातीय विवाह मार्फत सामाजिक कुरीती तोड्ने अभियानमा पहल गर्नुपर्नेमा विभेद गरिएकोमा कानूनी शासनको खिल्ली उठेको समेत उनीहरुले गुनासो गरेका छन् । घटनामा केटीका बाबुले भने विवाहलाइ स्विकारेर जानुपर्ने बताएको र अन्य व्यक्तिले विभेद सिर्जना गरेको उनीहरुको ठहर छ ।

No comments:

Post a Comment