गत असार महिनादेखी दलित समुदायको बस्तिमा खानेपानी अभाव

होम साउद, विभेद बिरुद्ध अभियान- अछाम, ५  कार्तिक । जिल्लाको रामारोशन गाविस वडा नम्वर २ र ३ मा रहेको दलित बस्तिमा खानेपानीको अभाव हुन थालेको छ । २ वटै वडाका गरि करिव एक सय ५० बढी घरधुरीका दलित समुदायहरु गत असार महिनादेखी खानेपानीको अभाव झेल्न बाध्य भएका हुन् ।

अछाम र कालिकोटको सीमानामा रहेको टोड्के भन्ने जंगलबाट पाइपद्वारा पानी ल्याईएको भएपनि पाइप विभिन्न ठाउँमा बिग्रिएपछि धारामा पानी पुग्न नसकेको हो । धारामा कहिले थोरै पानी आउने त कहिले पानी नै नआँउने समस्या भईरहेको स्थानीय कुशल जैगडीले बताए ।

दशैं यता त गाँउवासि पाईपलाईनमा पानी नआँउदा निकै तड्पिरहेको उनले बताए । स्थानीयको सक्रियतामा पाईपलाईन सामान्य मर्मत सुधार गरिएपनि पाइप पुरानो र जिर्ण भइसकेकाले यस्तो समस्या भईरहेको स्थानीयको भनाई छ । थोरै पानी आउँदा बिहान बेलुका धारामा पानी भर्नेको लाईन लाग्ने गरेको छ ।

पानीको लाईनमा वस्दा समेत पर्याप्त पानी नपाईने र गाउँवाट करिव १ घण्टाको दुरीमा रहेको पैयाँधाराबाट पानी ल्याँउनुपर्ने बाध्यता रहेको अर्का स्थानीय भिके टमट्टाले बताए ।खानेपानी अभावमा २ वडाका करिव २ हजार भन्दा बढी उपभोक्ता सास्ती झेलिरहेका छन् ।

खानेपानी पुनर्निर्माणका लागि गाविस लगायत बिभिन्न निकायमा अनुरोध गरिएको भएपनि कोही कसैले वास्ता नगरेको वडा नम्वर २ का लाल बहादुर बिकले बताए ।शुद्ध खानेपानी पाउँनु आफुहरुको अधिकार भएपनि घण्टौं टाढा गएर खोलाको दुसित पानी पिउनुपर्ने पीडा रहेको उनले दुखेसो गरे ।

No comments:

Post a Comment