'एकमुष्ठ पाँच हजार रुपैयाँ पहिलो पटक देख्दा त छक्क परें - जगदीश ऋषिदेव

विभेद विरुद्ध अभियान - १८ साउन ।  'एकमुष्ठ पाँच हजार रुपैयाँ पहिलो पटक देख्दा त छक्क परें । हजारका नोटमा हात्तीको चित्र हुँदो रहेछ । दिनभरि श्रम गर्दा त्यतिबेला मैले जम्मा २२ रुपैयाँ कमाउँथे, कहाँबाट हजारको नोट देख्नु ? ', दस वर्षअघिको आफ्नो अवस्थाको बेलीविस्तार लगाउँदै जगदीश ऋषिदेवले सुनाए । छेवैमा बसेकी उनकी श्रीमती इनारदेवीले सहमतिमा मुन्टो हल्लाइन् । उबेला मुहसरका लागि हजारको नोट देख्नु भगवानको दर्शन गरेजस्तै हुन्थ्यो ।
'अहिले त मुसहरहरू पनि महिना दिन काम गर्दा हजारका हजार रुपैयाँ कमाउने भएका छन्', इनारदेवीले विगत र वर्तमानको तुलान गर्दै भनिन्, 'अब मुसहर टोलमा सुकुमबासी घटिसके । धेरैले आफ्नै कमाइबाट जग्गा जोडेर घर बनाएका छन् । जग्गाका मालिक भएका छन् ।'
मोरङको कटहरी गाउँपालिका र त्यस आसपासमा दलित तथा सीमान्तकृत मुहसर समुदायको बाहुल्य छ । चरम गरिबीको रेखामुनि रहेकामध्येबाटै कतिपय आर्थिक अवस्था सुधार गर्न सफल भएका छन् । यसकै उदाहरण हो कटहरी-४ शीतलामरान टोल । त्यहाँ ७० परिवार मुसहर बस्छन् तर अन्यत्र जस्तो जग्गा जमिन नभएका भनेर उनीहरू चिनिँदैनन् । त्यहाँका मुसहरले आफ्नै कमाइबाट जग्गा जोडेर घर बनाएका छन् । बत्ती बाल्न सोलार जोडेका छन् । छोराछोरीलाई राम्रो स्कुलमा पढाएका छन् । जगदीश स्थानीय साबुन फ्याक्ट्रीमा काम गर्छन् । इनारदेवीले बस्तुभाउ 'पोसिया' पालेकी छन् । श्रम गर्न पनि जान्छिन् । दुवैले राम्रो कमाइ गरेका छन् ।
सरितादेवी ऋषिदेव पनि यही टोलमा बस्छिन् । उनले डेढ कट्ठा जग्गामा खरको छाना भएको घर बनाएकी छन् । तीनैजना छोराछोरी विद्यालय जान्छन् । श्रीमान् चाउचाउ फ्याक्ट्रीमा काम गर्छन् । ऋषिदेव भन्छिन्, 'बाह्र वर्ष पहिले जीवन विकास नाम गरेको संस्थाले हामीलाई आयआर्जन गर्ने बाटो देखायो । पाँच हजार रुपैयाँ ऋण सहयोग गफ्यो । अहिले पाँच लाखसम्म पाइन्छ । ठूलो भरथेग भएको छ ।' जगदीशले पनि लघुवित्त कार्यक्रमअन्तर्गत श्रीमतीले समूहमा लागेर किस्ताको पैसा बुझेर ल्याएपछि हजारको नोट देखेका थिए । त्यसरी पैसा लिएकामध्ये धेरै मुसहरले २०६२ सालदेखि नै बचत गर्दै जग्गामा लगानी गरेका थिए ।
जीवन विकास समाजको रामचौक र कटहरी शाखाका अनुसार यो क्षेत्रको कटहरी, जहदा, धनपाल र कदमाहा क्षेत्रका मुसहर तथा दलित समुदाय आयआर्जनमा सक्रिय भएका छन् । कटहरी शाखा प्रमुख सिर्जना खवासले भनिन्, 'हामीले एक सय १९ वटा केन्द्र चलाएका छौं । त्यसमा आवद्ध भएकामध्ये धेरै मुसहरले जग्गा खरिद गरेका छन् ।' जीवन विकासले आयआर्जन, सफा चुलो, गोबर ग्यास, सोलार बत्ती आदिमा शुलभ ढंगले ऋण सहयोग गरेको खवासले बताइन् ।
सरितादेवीले पनि त्यतिबेलै पहिले दसधुर र पछि थप एक कट्ठा जग्गा खरिद गरिन् । जगदीशले पनि उबेलै दसधुर जग्गा खरिद गरेका थिए । बाह्र हज्जार रुपैयाँ कट्ठाको जग्गाको दाम अहिले बढेर ६ लाख पुगेको छ । दैनिक ज्यालादारी र फ्याक्ट्रीमा काम गर्ने श्रीमान्को कमाइबाट किस्ता बुझाएपछि अधिकांश मुसहर जग्गा मालिक बनेका हुन् ।
खयरबनाकी मञ्जु मोछीले धेरै वर्ष ऐलानी जग्गामा बास बस्नु पर्‍यो । लक्ष्मणिया भन्ने ठाउँमा दलित महिला समूहको भेला छ भन्ने खबर आयो । छिमेकीले जाऊँ भन्ने आग्रह गरे । उनी गइन् । अनि समूहको सदस्य बनिन् । समूहबाट बिनाधितो पैसा उठाइन अनि घरको गाई बेचेर जग्गा खरिद गरिन् । अहिले श्रीमान् र उनले कमाइ गरेको पैसाले घर बनाएका छन् । आफ्नै जग्गामा घर बनाएपछि तल्लो जात भनेर कसैले हेप्न नसकेको बताउँदै मञ्जुले भनिन्, 'त्यसपछि निरन्तर समूहमा छु । पैसा उठाउँछु । समयमै तिर्छु आयआर्जन हुने काममा खर्च गरेकी छु ।'

No comments:

Post a Comment