दलित आन्दोलनमा योगदान पुर्‍याएका युक्तिलाल मरिक (डोम) भए पुरस्कृत

विभेद बिरुद्ध अभियान - साउन १८ , मानव अधिकार तथा दलित आन्दोलनमा योगदान पुर्‍याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) साउन १६ गते वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७४ बाट पुरस्कृत भएका छन् ।वैद्य-प्रकाश मानव अधिकार पुरस्कार कोषले राजविराजमा २५औं प्रकाश स्मृति दिवसका अवसरमा आयोजना गरेको एक समारोहका बिच डोमलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
डोम जातिको हकअधिकार र जागरणका लागि योगदान पुर्‍याए बापत उनलार्इ पुरस्कारस्वरुप ३ हजार १ सय ५ रुपियाँ, सम्मान-पत्र तथा दोसल्ला प्रदान गरियो ।डोमलाई कार्यक्रमका प्रमुख अतिथि इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले कदरपत्र, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दोसल्ला र कोषका अध्यक्ष वैद्यनाथ झाले नगद पुरस्कार प्रदान गरे ।दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातिको आन्दोलनको अभिन्न अङ्गका रूपमा स्थापित स्नातक उतीर्ण डोमले दलित सशक्तिकरण र सिनो बहिष्कार आन्दोलन, जातीय छुवाछुत र घर उठीबास विरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलहरूमा डोम समुदायको प्रवेश खुल्ला गराउन महत्पूर्ण भूमिका निर्वाह गरेका छन् ।कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक थापाले सबैखाले विभेद कानुन विपरित, अनैतिक र दण्डनीय भएकाले मानव अधिकारको आवाजलाई बलियो बनाउन जरुरी रहेको बताए ।

थाइ एयरबसको विमान ०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा दुर्घटना परी निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा प्रत्येक वर्षमानव अधिकार तथा नागरिक आन्दोलनमा सक्रिय व्यक्तिलाई पुरस्कृत गरिने कोषले जनाएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज नपा-७ का वैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको वैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट २०७३ सालमा पहिलोपटक सप्तरीको मधुपट्टी गाविस-६ निवासी दलित आन्दोलनका अगुवा बलदेव राम सम्मानित भएका थिए ।

No comments:

Post a Comment