दलित भएर मुखमुखै लागेको भन्दै ६२ वर्षीय गोरे टोमटा कुटिए

विभेद बिरुद्ध अभियान - साउन ३१ - दलित भएर आफूसँग मुखमुखै लागेको भन्दै मुसिकोट नगरपालिका–३ का ६२ वर्षीय गोरे टोमटालाई छिमेकी पशुपति घिमिरेले निर्घात कुटपिट गरेका छन् । घिमिरेले टोमटाको घरमाथि काभ्रोका बेर्ना लगाएका थिए । त्यहाँ रूख नहुर्काउन आग्रह गर्दा मुखमुखै लागेको भन्दै आफूलाई कुटपिट गरेको टोमटाले बताए । उनको टाउकोमा चोट लागेको छ ।पसलमा सामान किन्न गएको वेला दुई व्यक्ति आएर आफूलाई पुलिस भएको बताउँदै नियन्त्रणमा लिएको उनले बताए । दुई हात बाँधी लछारपछार पार्दै खोलानजिक लगेको टोमटाको भनाइ छ । ‘त्यसलगत्तै पशुपति आएर टाउकोमा ढुंगैढुंगाले हाने, अब मर्‍यो छाडौँ भनेकोसम्म थाहा पाउँछु,’ उनले भने, ‘त्यसपछि बेहोस भएँ ।’उनी सोमबार साँझदेखि बेपत्ता थिए । स्थानीयले बिहान खोज्दै जाँदा खोल्सामा फेला पारेको बताइएको छ । स्थानीयले नै जिल्ला अस्पताल तम्घासमा उपचारका लागि भर्ना गरेका थिए ।
तर, त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको रेसुंगा बहुमुखी क्याम्पसका स्ववियु सभापति श्रीराम महतले जानकारी दिए । उनलाई तम्घासका समाजसेवीहरूले मंगलबार साँझ चन्दा उठाएर पाल्पा पठाएको नया पत्रिका दैनिकमा खबर छ  ।
कुटपिट घटनाको कारणबारे बुझ्दै गरेको मुसिकोट–३ का वडाध्यक्ष कर्णध्वज जिसीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र नेपालका अनुसार कुटपिट गर्नेविरुद्ध उजुरी परेको छ । घाइतेलाई थप उपचारका लागि पाल्पा पठाएकाले कुटपिट गर्नेलार्ई मातहतको प्रहरी चौकीमार्फत नियन्त्रणमा लिने नेपालको भनाइ छ ।  एक महिनाअघि पनि मुसिकोट–४ का एक दलितलाई भाँडा नमाझेको निहुँमा कुटपिट गरिएको थियो । कर्णबहादुर नेपालीलाई स्थानीय कृष्ण कार्र्की र उनकी आमा शोभाले कुटपिट गरेका थिए । दुवैजना जिल्ला अदालतबाट ५०/५० हजार धरौटीमा छुटेका छन् ।

No comments:

Post a Comment