कुरीति अन्त्यका नायक ६७ बर्षिय बलदेव रामको निधन

हार्दिक श्रदाञ्जली अर्पण
विभेद बिरुद्ध अभियान , साउन १७ - सिनो बहिष्कार र भूमिहीन हरुवाचरुवा आन्दोलनका अगुवा नेता सुरुङ्गा नपा-४ मधुपट्टि कनकपुरका ६७ वर्षीय बलदेव रामको साउन १७ गते बिहान निधन भएको छ ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई साउन १५ गते घर फर्किएका रामको स्वास्थ्य अवस्था साउन १७ गते बिहान एकाएक बिग्रिएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै बिहान ६ बजे निधन भएको उनका छोरा गणेश रामले बताए । रामका पत्नी, दुई छोरी र दुई छोरा छन् ।

सप्तरीको दौलतपुर गाविसमा २०५६ सालमा कथित दलितहरूले सिनो फाल्नै पर्ने सामाजिक बाध्यताका विरुद्ध आन्दोलनको अगुवाई गरेका रामले तराईका जिल्लामा सिनो फाल्नु पर्ने कुरितीजन्य प्रथाको अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राष्ट्रिय भूमि अधिकार मञ्च, जनचेतना दलित सङ्गम मधुपट्टि र हरुवा चरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष राम उच्च स्तरीय भूमिसुधार आयोग-२०६५ को सदस्य समेत रहेका थिए ।

भारतको दिल्लीमा २०६३ सालमा डाक्टर अम्बेडकर पुरस्कार पाएका रामलाई पछिल्लो पटक राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय मानव अधिकार आयोगको १७ औं वार्षिकोत्सवको अवसरमा ‘दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ प्रदान गरेको थियो ।

त्यस्तै ०७३ साउन १६ गते २४ औँ प्रकाश स्मृति दिवसको अवसरमा वैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट राम सम्मानित भएका थिए । राष्ट्रिय मानव अधिकार आयोगबाट २०५८ सालमा र राष्ट्रिय दलित आयोगको १३ औँ वार्षिकोत्सवको अवसरमा २०७१ सालमा सम्मानित रामले २०६१ मा टिकाराम मानव मर्यादा पुरस्कार, २०६२ मा जनउत्थान राष्ट्रिय पुरस्कार र समाज कल्याण परिषदद्वारा २०६९ मा सामाजिक सेवा पुरस्कार प्राप्त गरेका थिए ।
नेपालमा पछिल्लो समयको दलित आन्दोलनका एक अभियन्ता बलदेव रामको हिजो हृदयाघातका कारण निधन भयो । ६७ वर्षीय बलदेव मृत्युपर्यन्त दलितमध्ये पनि निकै पछि परेको मधेसी दलितका अधिकारका लागि संघर्षरत थिए । उनले मधेसको एउटा हेपिएको परिवार र समाजको पृष्ठभूमिबाट उठेर दलित अगुवाका रूपमा गरेका संघर्षका आफ्नै बिम्ब बनेका छन् । खासगरी मधेसी दलितमाथि थोपरिएको मध्ययुगीन दासत्व परम्परा तोड्न र तिनमा आत्मसम्मानको भावना जाग्रित गराउन उनले खेलेको भूमिकाका लागि नेपाली समाजले उनलाई लामो समयसम्म सम्झिरहनेछ ।
बलदेव राम सप्तरीको एउटा दलित परिवारमा २००६ सालमा जन्मेका थिए । उनका पिता सामान्य लेखपढ गर्न सक्ने मोही किसान थिए । लेखपढ गर्न जानेकै हुनाले ०१९ सालमा स्थानीय पञ्चायतको सचिवका रूपमा काम गरेका वेला सरकारले लागू गरेको भूमि सुधार कार्यक्रमबाट दलितको मोही अधिकार संरक्षण गर्न उनका पिताले सहयोग गरे । यही क्रममा ६ कक्षासम्म पढेका बलदेव राम पनि बाबुसँगै अभियानमा सामेल भए । ०६० पछि सप्तरी र सिराहाका मुसहर र डोम समुदायबीच काम गरिरहेका केही गैरसरकारी संस्थाले सिनु बहिष्कार आन्दोलन थालनी गर्ने तयारी गरे । स्थानीय गैरदलित परिवारका कसैको गाई, भैंसी म¥यो भने त्यसको मासु खाने या त्यसलाई खाडल खनेर पुर्ने काम दलितले गर्नैपर्ने परम्परा थियो । त्यसलाई केही दलित समुदायले सुरुमा बहिष्कार गरे । तर, स्थानीय कथित उपल्लो जातका जमिनदार र शक्तिमा रहेकाहरूले दलितलाई सिनु व्यवस्थापन गर्नैपर्ने धम्की दिने, नगर्नेलाई काममा आउन नदिने, बसिरहेको घरजग्गाबाट खेद्ने तथा स्थानीय इनार या खोलाबाट पानी पनि खान नदिने गरी नाकाबन्दी गरे । स्थानीय रूपमा राजनीतिक दलका नेता या जमिनदार या धनीमानी एकापट्टि लागेपछि गाउँको सत्ता र जिल्ला प्रशासनसम्म पनि स्वतः उनीहरूकै नियन्त्रण र प्रभाव हुने नै भयो । यसले गर्दा दलितको अवस्था एकदम दयनीय बन्दै गयो । तर, बलदेव रामको नेतृत्वमा उनीहरूले संघर्ष जारी राखे र अन्त्यमा दलितलाई यो अमानवीय परम्पराबाट मुक्त बनाएरै छाडे ।
यसैगरी दलित परिवारका महिलाले धनी तर गैरदलित परिवारका महिला सुत्केरी हुँदा स्याहार गर्नैपर्ने परम्पराबाट दलित महिला उत्पीडनमा थिए । तिनले पनि यही आन्दोलनपछि छुट्कारा पाए । यसरी दलित आन्दोलनले एकप्रकारको शक्ति आर्जन गर्यो । यसमा बलदेव रामको संघर्षशील र तार्किक व्यक्तित्वको मुख्य भूमिका थियो । यसैगरी उनले भूमिहीन किसान र मोही अधिकारको आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
खासगरी भूमि अधिकार मञ्चको अध्यक्षका रूपमा बलदेव रामले चार वर्ष नेपालका अनेक भाग घुमेर संगठन बनाउँदै भूमिहीन किसान, सुकुम्वासी भएकाले घर बनाउने ठाउँ नभएका, साना र गरिब किसान सबैको पक्षमा एउटा अभियान उठाउन सहयोग गरे । उनी एकजना हक्की समाजसेवी र सचेत मानिस थिए । आफ्नो जीवनका अन्तिम दिनसम्म पनि उनी दलित अधिकारका पक्षमा दलितलाई सचेत बनाउने पक्षमा काम गरिरहेका थिए । दलित आन्दोलन र नेपालको सामाजिक न्यायको आन्दोलनका यी एकजना प्रेरक व्यक्तित्वको योगदान समाजमा जहिल्यै स्मरणीय रहिरहनेछ ।

No comments:

Post a Comment