लक्ष्मी परियारको हत्या आरोपीहरु अन्तत : रिहा भए

विभेद बिरुद्ध अभियान , भदौ ७ - । बोक्सी आरोपमा हत्या गरिएकी काभ्रे सानो बाङ्थली – ७ की लक्ष्मी परियारको हत्या आरोपीहरु अन्तत : रिहा भएका छन् ।काभ्रे जिल्ला अदालतले हिजो मंगलबार हत्या आरोपीहरुलाई कैद मुक्त गरेको हो । जिल्ला न्यायाधीश श्याम सुन्दर अधिकारीको इजलाशबाट हत्या आरोपमा पुर्पक्षको लागि थुनामा रहेका हिरा लामा, काइली तामाङ, निरमाया तामाङ र मिलन परियार न्युनतम सजाय पाई रिहा भएका हुन् भने फूलमाया तामाङले सफाई पाएकी छिन् ।
प्रतिवादीहरु मध्ये हिरा लामा र काइली तामाङलाई कर्तव्य ज्यान मुद्दामा जनही ८ महिना कैद र बोक्सीको आरोपमा जनही २० हजार रुपैयाँ जरिवाना गरिएको छ भने मिलन परियार र निरमाया तामाङलाई कर्तव्य ज्यानमा ८ महिना कैद सजाय तोकिएको थियो ।काभ्रे जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीका अनुसार प्रतिवादीहरु मंगलबार नै रिहा भएका छन् । ‘प्रत्येकलाई भिन्न भिन्न सजाय भएको छ । तर, उहाँहरु हिजो नै छुट्नु भएको हो ।’ उनले दियोपोस्टसँग भनेको खबर छ  ।
जिल्ला सरकारी वकिल कार्यालय काभ्रेको तर्फबाट सरकारी वकिल राजन हमाल र जाहेरवालाको तर्फबाट अधिवक्ता प्रकाश नेपाली र सिताराम घले परियारले बहस पैरवी गरेका थिए भने प्रतिवादी मिलन परियारको तर्फबाट अधिवक्ता मोहन साशंकर र श्याम विश्वकर्माले बहस गरेका थिए ।प्रतिवादी हिरा लामा, काइली तामाङ, निरमाया र फूलमाया तामाङको तर्फबाट बरिष्ठ अधिवक्ता रमेश प्रसाद मैनाली, राजु प्रसाद धिमाल, सुदर्शन थपलिया र अश्विन कुमार राइले बहस गरेका थिए ।
गत २०७३ मंसिर २० गते काभ्रे सानोबाङथली–७ की लक्ष्मी परियारलाई सुर्योदय माविको प्राङ्गणमा बोक्सीको आरोप लगाई मलमुत्र खुवाइ कुटपीट गरी हत्या गरिएको थियो । उक्त समयमा लक्ष्मीलाई नाम्लोले बाँधेर दाउराको चिरपटले प्रहार गरिएको कुरा उनका छोरा सुमन नेपालीले बताएका थिए । सो घटनाबाट गम्भिर घाइते बनेकी लक्ष्मीलाई उनका श्रीमान मिलन परियारले समेत मंसिर २४ गते कुटपीट गरेको भन्ने सरकारी पक्षको आरोप थियो ।
घटना पश्चात प्रहरीले पीडितको जाहेरी लिन समेत इन्कार गरेको थियो । तर, चौतर्फी दबावपछि जाहेरी लिएपनि जाहेरीमा लक्ष्मीका श्रीमान मिलन परियारलाई समेत दोषी बनाउन प्रहरीले अप्रत्यक्ष दबाव दिएको अधिकारकर्मीहरुले बताएका थिए ।कर्तव्य ज्यान जस्तो गम्भिर मुद्दामा काभ्रे जिल्ला अदालतले न्युनतम सजाय गरेपछि पीडितहरुले न्याय नपाएको महशुस गरेका छन् । यो मुद्दामा लामो समय देखि बहस गर्दै आएका अधिवक्ता मोहन साशंकर अदालतको फैसलालाई निकै गम्भिरतापूर्वक हेरिनुपर्ने बताए ।
‘पहिलो कुरा यो मुद्दामा प्रहरी अनुसन्धान नै कमजोर ढंगले हुन गयो । अर्थात मृतक लक्ष्मीका श्रीमान मिलन परियारलाई मुख्य अभियुक्त बनाउने किसिमले अनुसन्धान गरिएको थियो,’ साशंकरले दियोपोस्टसँग भने,‘यसैले पनि घटनाको मुख्य दोषी उम्कने खतरा देखिएको थियो । सोही आधारमा अदालतले फैसला गर्दा आफ्नो न्यायीक स्वविवेक प्रयोग गर्नसक्ने भएकाले मुख्य दोषीहरुले कम सजाय पाई उन्मुक्ती पाएको अवस्था हो । यद्यपि मिसिललाई सुक्ष्म ढंगले अध्ययन गर्दा मुख्य दोषीले यति कमभन्दा कम सजाय पाउनु पर्ने अवस्था थिएन ।
अधिवक्ता साशंकरका अनुसार चिकित्सकको वक पत्रमा समेत लक्ष्मीको मृत्यु विभिन्न गम्भिर चोटहरुको कारणले भएको भन्ने उल्लेख छ ।सो गम्भिर चोटहरु पु¥याउने मुख्य अभियुक्त हिरा लामा नै हो भन्ने कुरा मिसिलबाट प्रष्ट हुन्छ, यसो हुँदा हुँदैपनि हिरा लामा समेतलाई ८ महिनामात्रै कैद हुनुले हाम्रो न्याय प्रणालीमाथि पीडितले कसरी भरोसा गर्नसक्लान भन्ने प्रश्न उब्जिएको छ । तर, पनि फैसला गर्दा लिएको मुख्य आधारहरु के–के हुन् भन्ने कुरा फैसलाको पूर्णपाठ नआएसम्म भन्न सकिँदैन,’ अधिवक्ता साशंकरले भने ।

No comments:

Post a Comment