उपचारकै अभावमा एक बालक आन्द्राबाट दिसा र पिसाव गर्दै, परिवारद्वारा सहयोगको याचना

विभेद बिरुद्ध अभियान - साउन ३१ - सरकारले निःशुल्क उपचारको व्यवस्था गरिरहेको बताए पनि उपचारकै अभावमा गुल्मीका एक बालकको अवस्था नाजुक रहेको छ ।उपचार खर्च नहुँदा मालिका गाउँपालिका-७ सिमलटारीका चार वर्षीय बालक निशान सुनारले आन्द्राबाट दिसा र पिसाब गर्दै आएका छन् । उनको दिसा गर्ने प्वाल र आन्द्रा समेत नभएको जिल्ला अस्पताल तम्घासका डाक्टर सुरेन्द्र रायमाझीले बताए ।
‘उनको मुटुमा समेत सानो प्वाल परेको रहेछ । स्थानीय स्तरमा उनको उपचार सम्भव छैन ।’-डाक्टर रायमाझीले भने-‘राम्रो अस्पतालमा लगेर अप्रेशन गर्नुपर्छ ।’
‘जन्मदै बाबुको यस्तै समस्या थियो । उपचारका लागि दुईवर्षअघि काठमाडौँस्थित कान्ति बाल अस्पतालसम्म पुर्‍याएका थियाँ ।’-बाबु बिजु सुनारले भने-‘तर, अप्रेशन गर्नुपर्छ भनेपछि पैसा भएन । त्यत्तिकै घर ल्यायौँ ।’
काखमा छोरो बोकेकी आमा राधिकाले भनिन्-‘कोही सहयोगी भए मेरो छोराको जीवन बचाइदेउ !’ उनले थपिन्-‘जन्मेपछि माया लाग्दोरहेछ । भगवानले हामीलाई ठगे । यस्तो त शत्रुलाई पनि नपरोस् ।’
महिला तथा बालबालिका कार्यालयकी प्रमुख प्रतिभा पन्थीले अपाङ्ग परिचयपत्र उपलब्ध गराउने निर्देशिकामा पीडित बालकको समस्या सम्बोधन नगरिएका कारण उनलाई अपाङ्गताको परिचयपत्र दिन सम्भव नभएको बताइन् ।
यस्तो प्रकारको बिरामीलाई परिचयपत्र दिने कुनै आधार नभएको भन्दै पन्थीले निर्देशिका मिचेर परिचयपत्र दिन नसकिने बताइन् । बुबा बिजु सुनार र आमा राधा सुनार अपाङ्ग परिचयपत्रका लागि बालकलाई लिएर साउन २६ गते सदरमुकाम आएका भएपनि परिचयपत्र पाउन सकेनन् ।

No comments:

Post a Comment