नागरिकता पाउनबाट बन्चित बिमला नेपालीले नागरिकता पाईंन

साऊन २३- बिभेद बिरूद अभियान । धादिङको दार्खा गाउँपालिका –४ की बिमला नेपालीले पाँच वर्षको संघर्ष पछि वशंजको आधारमा नागरिकता पाएकी छन् । बिमलाले २०७३ फागुन १८ गते जिल्ला प्रशासन कार्यालय धादिङबाट बुबा मानबहादुर दमाईको नामबाट नागरिकता पाएकी हुन् । पटक पटक नागरिकताका लागि जिल्ला प्रशासन धाएकी विमलालाई विवाहित महिलाले श्रीमानको नामबाट नागरिकता लिनुपर्छ भन्दै फिर्ता पठाइएको थियो ।
विमलाले नागरिकता नपाएको समाचार महिला खबर डट कमले २०७३ मंसिर २४ गते प्रकाशित  गरेको थियो । त्यसपछि दबाब स्वरुप जिल्ला प्रशासनले उनलाई नागरिकता दिएको हो । विमलाले स्थानीय कुमार तामाङसँग प्रेम विवाह गरेकी थिइन् । विमला एक छोराकी आमा समेत हुन् । छोरा ३ वर्षको भएपछि श्रीमान् कुमारले उनलाई छाडिदिएका थिए । विवाह गरेर अलपत्र छाडेका श्रीमानको अत्तोपत्तो नहुँदा उनी नागरिकता पाउनबाट बन्चित भएको भएकी थिईन् ।
नागरिकता बनेपछि गरिखाने बाटो खुलेको विमला बताउँछिन् । ‘जे गर्दा पनि नागरिकता चाहिने रहेछ । अब त नागरिकता पाएकी छु गरि खाने बाटो खुलेको छ’ विमलाले भनिन् ।
नागरिकता भएपछि बैंकमा खाता खोल्नेदेखि समूहमा ऋण निकाल्न सजिलो भएको उनी बताउँछिन् । उनले नागरिकता छोराको जन्म दर्ता गराई दिएर पढाउने सपना पनि पुरा भएको बताउँछिन् ।
‘अहिले मेरो छोरा आठ वर्षको भएको छ । संधैँ स्कुलले जन्म दर्ता माग्दा दिन नसक्ने म मेरो नागरिकता बनेपछि छोराको पनि जन्मदर्ता गराएँ । जन्म दर्ता गराएसंगै मेरो छोरालाई पढाउने सपना पनि पुरा भएको छ’ विमलाले भनिन् । उनको छोरा छोरा रुद्रादेवी माध्यमिक विद्यालय धादिङमा कक्षा ३ मा अध्ययनरत छन् ।
नेपालको संविधान २०७२ को धारा १० र १२, नेपालको नागरिकता ऐन २०६३ को ३ (१) ले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गर्न नमिल्ने व्यवस्था गरेको छ । बुबा, आमा, नेपाली नागरिक हो भने निजका सन्तानले बंशजकै आधारमा नागरिकता लिन सक्ने व्यवस्था छ ।-महिला खबर 

No comments:

Post a Comment