मुग्लानको ‘निको नहुने घाउ’

विभेद बिरुद्ध अभियान - भाद्र १०, २०७४- भुकम्पले छिन्नभिन्न बनेको घरछेउको टहरामा एक व्यक्ति अचेत अवस्थामा पल्टिरहेका छन् । उनकी आमा घरी छोराको र्‍याल पुछिदिन्छिन् त, घरी दिसा–पिसाब सोहोर्छिन् । फेरि, टहराभित्र जमेको पानी सोहोर्दै बाहिर फाल्छिन् । छोरालाई कसै गरी सफासुग्घर राख्ने र सजिलो गरी सुताउने ध्याउन्न उनमा छ । नातिनातिना, वृद्ध पति र अचेत (कोमा) अवस्थाको छोरा सम्हाल्ने जिम्मेवारी यिनै ७० वर्षीया माया मगरातीको काँधमा छ । कतिसम्म भने उनी छोराको दाह्री, कपाल आफैं काटिदिन्छिन् । चाँगुनारायण नगरपालिका–४ संगमटोलका ४३ वर्षीय रामकृष्ण सार्की २०६६ फागुनमा परिवारको भविष्य उज्ज्वल बनाउने सपना बुन्दै साउदी अरब छिरे । दुई वर्ष राम्रै कमाइ पनि गरे, बिदामा घर आए । फेरि २०६८ असोजमा साउदी पुगेका उनी फागुनमा एकाएक अस्वस्थ बने । योपटक भने धन कमाउने सपनामा बेस्सरी तुवाँलो लाग्यो । स्वास्थ्यले साथ दिंदै दिएन । ‘विदेशी भूमिमा पनि आफ्नै पेसा (जुत्ता सिलाउने) काम पाएकोमा छोरो खुसी थियो, कमाइ राम्रै थियो,’ उनका बुवा चतुरे सार्कीले भने, ‘तर त्यो खुसी धेरै दिन टिकेन, नसोचेको वज्रपात आइपर्‍यो ।’
दिनभरको ड्युटी सकाएर कोठामा आराम गर्दै गरेका उनी एक्कासि अस्वस्थ भए । एक्कासि मुटु दुख्यो भनेर साथीहरूले अस्पताल पुर्‍याउँदा उनको शरीरका अङ्गले काम गर्न छाडिसकेका थिए । ‘जम्मा २० सेकेन्ड अक्सिजन रोकिएको थियो रे, शरीरले काम गर्नै सकेनछ,’ उनकी आमा मायाले भनिन्, ‘टाउकोको एउटा नसासमेत सुकेको रहेछ ।’ रामकृष्ण करिब चार वर्षयता कोमामा छन् । साउदीमा २ वर्ष कमाएको पैसा तीन महिना उपचार गर्दैमा सकियो । उपचारमा त्यो कमाइले नपुगेपछि उनलाई २०६९ वैशाख १६ मा नेपाल फर्काइयो । कमाउन गएका श्रीमान् कोमामा फिर्ता भएपछि दुई छोरी, छोरा र वृद्धकाय सासू–ससुरालाई छोडेर रामकृष्णकी श्रीमतीले दोस्रो विवाह गरिन् ।
कोमामा शरीर बाँधिएर फिरेकै साता रामकृष्णको पुस्तैनी घर पनि भूकम्पका कारण ‘कोमासरह’ बनिसकेको थियो । त्यही भएर उनको परिवारले कुखुरा पाल्न बनाएको टहरामा कष्टकर जीवन गुजारा गर्न थालेका थिए । ‘सधैंजसो पानी चुहिएर टहराभित्र आहाल बनिरहेको हुन्छ,’ आमा मायाले भनिन् ।
यसैबीच, रामकृष्णको कष्टकर जीवनका बारेमा पत्रिकामा समाचार पढेर पोखरावासी सरिता गुरुङले सामाजिक सञ्जालमार्फत ‘रामकृष्ण सार्की सहयोग’ अभियान थालेकी छन् । अभियानबाट संकलित रकमबाट सार्कीको परिवारलाई घर बनाइदिने योजनासहित घरको नक्सापास प्रक्रिया सुरु भएको छ । यसका लागि सरिताले ७ लाख रुपैयाँ उठाइसकेकी छन् । मेरो कोमामा सास फेरिरहेको छोराले पानी नचुहिने र अलिक न्यानो भरथेग रहने घरमा अबका दिन–रात बिताउन पाउला कि भन्ने आस पलाएको छ,’ बुवा चतुरे भन्छन्, ‘हामी गरिब–दु:खीलाई यति भए पनि सहारा दिने ठूला मन भएका सबैलाई कोटीकोटी नमस्कार छ ।’ 
(शब्द: लीला श्रेष्ठ  / तस्बिर  हेमन्त श्रेष्ठ को  यो लेख आजको कान्तिपुर बाट साभार गरिएको हो।)

No comments:

Post a Comment