मेरो छोराले जन्मदर्ता किन नपाउने ?- पबिता दर्जी

साऊन २३- बिभेद बिरूद अभियान -काठमाडौं । गोरखा सुलीकोट गाउँपालिका, ५ की पबिता दर्जीले नागरिकता पाउन लामै संघर्ष गर्नुपरेको थियो । उनले २०७३।१०।२९ गते जिल्ला प्रशासन कार्यालय गोरखाबाट बुबा सेते दर्जीको नामबाट बंशजको आधारमा नागरिकता पाएकी हुन् ।
त्यो दिन ८ बर्षसम्म नागरिकता पाउनका लागि उनले गरेको संघर्ष पुरा भयो । तर फेरि अहिले छोराको जन्मदर्ताका लागि उनी उस्तै संघर्षमा छिन् । विवाहित महिलाले श्रीमानको नामबाट नागरिकता लिनुपर्छ भन्दै उनलाई नागरिकता दिनबाट बन्चित गरीएको थियो । अहिले त्यही बुबा नभएको भन्दै छोराको जन्मदर्ता रोकिएको हो ।
‘मैले आफ्नो नागरिकता बनाएपछि छोराको जन्म दर्ता गराउन सुलीकोट गाउँपालिका– ५ ताकुमालाकुमारी (साविक ताकुमालाकुमारी गाविस) मा गएकी थिए । गाविस सचिवले वडा अध्यक्ष र सदस्यको सिफारिस चाहिन्छ भन्दै जन्मदर्ता गराइदिनुभएन’ पबिताले भनिन् ।
काठमाडौमा बस्दा छोटो चिनजानमै प्रेम विवाह गरेकी पबिता श्रीमानले धोका दिएपछि पीडित हुन पुगेकी थिइन् । श्रीमानको नाम अशोक भन्ने मात्रै थाहा पाएकी पबिताले उनको जात, ठेगाना थाहा पाइनन् । उनी भन्छिन,‘सँगै झोला कारखानामा काम गर्दा प्रेम भयो, त्यसपछि विवाह गरी काठमाडौंमा बसियो, तर अचानक उनी कहाँ गए पत्तै पाईंन ।’
अशोकसँगको सम्बन्धबाट जन्मिएको उनको छोरा हाल आठ वर्षको भइसकेका छन् ।
छोरा अहिले जलकन्या माध्यमिक विद्यालय तामलावोट कक्षा ३ कक्षामा पढिरहेका छन् । स्कुलले छोराको जन्मदर्ता मागिरहेको उनले बताईन् । ‘मेरा आमाबुबा नेपाली, म नेपाली तर मेरो छोराको जन्मदर्ता किन नबन्ने’ पबिताले भनिन् ।
वडा नम्बर ५ की वडा सचिव (पहिला गाविस सचिव) निशा राईले पबिताको नागरिकतामा श्रीमानको नाम उल्लेख नभएकाले जन्म दर्ताको प्रमाणपत्रमा दिन नसकेको बताउनुभयो । ‘पबिताको नागरिकतामा श्रीमानको नाम नै छैन, जन्म दर्ता दिदा आमा वा बुबा भएनी हुन्छ । जन्मदर्ता गराउन बुबा र आमा दुबैको नागरिकता चाहन्छि ।’ सचिव राईले भन्नुभयो ।
सचिवले जन्म दर्ता फारमले मागे अनुसारको प्रमाण नभएकोले दिन नमिल्ले बताउनुभयो । ‘जन्मदर्ता फारममा शिशु जन्मेको ठेगाना, आमाबुबाको विवरण, बाजेबजैको विवरण जस्ता कुराहरु मागेको हुन्छ । जसले गर्दा फारम अनुसार जन्मदर्ता दिन नसकेको हो’ सचिव राई भन्नुभयो ।
पबिताको छोरालाई जन्मदर्ताको प्रमाणपत्र दिन नसकेपनि नाम र जन्म मिति उल्लेख गरेको सिफारिस भने दिन मिल्ले सचिवले बताउनुभयो ।
पञ्जीकरण विभागका अनुसार जन्मदर्ता गराउन निम्न व्यवस्था गरेको छ ।
– शिशुको जन्मदर्ता गर्नका लागि बुवा–आमा, बाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति
– धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानून बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु वा आमाले,
– बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धीत वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धीत गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको हकमा -सम्बन्धीत वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धीत नगरपालिकाको प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धीत वडा सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।-महिला खबर

No comments:

Post a Comment