दलित बस्ती आवतजावत गर्ने बाटोमा लाग्यो 'नाकाबन्दी'

 
विभेद बिरुद्द अभियान - ०७७ असार ३  गते-तिरहुत गाउँपालिका–४ डिमनस्थित राम टोलका ५० घरधुरी दलित परिवार हिँड्दै आएको बाटो खोल्न माग गर्दै  पीडितहरूले असार २ गते प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् ।बस्ती जोड्ने गाउँ ब्लकमा रहेको दलितहरूको राम टोल जाने बाटोको मुखैमा स्थानीय विशेश्वर यादवले जेठ ५ गतेदेखि लगाएको छेकबार हटाउन र अविलम्ब बाटो खोल्न माग गर्दै चमार समुदायका अगुवाहरूले प्रमुख जिल्ला अधिकारी आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।

जनप्रतिनिधिहरूको अगाडि जेठ मसान्तभित्र बाटो खुला गर्ने भनि गरेको बचनबद्धता पुरा नगरेपछि दलित अगुवाहरू सङ्घर्ष समितिका संयोजक सुकराती रामको नेतृत्वमा डेलिगेशन आएका हुन् ।

'नाकाबन्दी'ले गाईबस्तु थुनिएको, उपचारका लागि बिरामी, गर्भवती, सर्पदंश पीडित, अशक्त, अपाङ्ता भएका व्यक्तिलाई बाहिर लैजान नसकेकोले दलित समुदाय समस्यामा परेको ६२ वर्षीय बेचन रामले बताउनु भयो ।वडा कार्यालय तथा गाउँपालिका कार्यालय धाएर थाकेको बताउनु हुँदै भोला रामले बाटो थुनिएपछि बस्तीछेउको खाली खेत, छिमेकीको घर–आँगनबाट हिँड्दै आए पनि वर्षात् लागेकाले कहाँबाट हिँड्ने चिन्तामा परेको बताउनु भयो ।

बाटोको समस्याबारे जनप्रतिनिधिहरूले ध्यान नदिएको आरोप लगाउँदै डेलिगेशन आएका दलितहरूले असार १० गतेभित्र नाकाबन्दी नखोले वडा कार्यालय अगाडि अनसन बस्ने चेतावनी दिएका छन् ।

दलितहरूले अविलम्ब बाटो खुल्ला गरी ठोस् रूपमा बाटो निर्माण गर्न, नाप नक्शा किटान गर्न, बिजुलीको व्यवस्था गर्न र पछिल्लो बैठकबाट बाटोसम्बन्धी भएको निर्णय सार्वजनिक गर्न माग गरेका छन् ।प्रमुख जिल्ला अधिकारी आचार्यले पुस्ताौँदेखि हिँड्दै आएको बाटो बन्द गर्न नहुने भन्दै बाटो खुलाउन गाउँपालिका, वडा कार्यालयसँग पहल गर्ने बताउनु भयो ।-इन्सेक 

No comments:

Post a Comment