जातीय विभेद घटनाका आरोपित विरूद्ध पीडित पक्षद्वारा इन्सेकको सहयोगमा प्रहरीमा उजुरी दर्ता

 

विभेद बिरुद्द अभियान - ०७७ असार ८ गते - सोलुदूधकुण्ड नगरपालिका–९ का १६ वर्षीय बालक दीपक विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध इन्सेकको सहयोगमा प्रहरीमा उजुरी दर्ता गराएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–९ का २७ वर्षीय श्याम थापा मगर र ३१ वर्षीय तारा थापा मगरले जेठ ३१ गते १६ वर्षीय बालकलाई निर्माण गरिरहेको घरको ढोका छोएर अशुभ सङ्केत गरेको आरोपमा कुटपिट गरेका थिए ।

आरोपितद्वय विरूद्ध इन्सेक सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीको सहयोगमा असार ७ गते जिल्ला प्रहरी कार्यालयका जातीय विभेद शीर्षकमा मुद्दा दर्ता गरिएको पीडितका बाबु नीरबहादुर विश्वकर्माले बताउनुभयो ।

आरोपितद्वय विरूद्ध मानव अधिकारकर्मीको पहलमा जातीय भेदभाव तथा छुवाछूत कसुर–सजाय (ऐन) अन्तरगत मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताउनुभयो ।

पीडितका बाबु नीरबहादुर विश्वकर्माले इन्सेक प्रतिनिधिसँगको भेटमा आरोपितद्वयले असार ३१ गते छोरालाई हतौडा र लौराले टाउको, ढाड र गोडामा कुटेको बताउनुभयो ।

कुटपिटबाट घाइते भएका बालकको असार १ गते ओखलढुङ्गाको मिसन अस्पतालमा प्राथमिक उपचारपछि थप उपचार जिल्ला अस्पताल फाप्लुमा गरिएको अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा.ओमप्रकाश थापा मगरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो । उहाँले थप उपचारका लागि काठमाण्डौँ रेफर गरिएको जानकारी दिनुभयो ।

घटनाका आरोपित तारा थापा मगरले दीपकले ध्रुमपान गरेको देखेपछि आफूले विद्यार्थी कुलतमा फस्नु हुँदैन भनी सम्झाइबुझाइ गरेको बताउनुभयो । उहाँले आफूले बालकलाई जातीय हिसाबले गाली–गलौच नगरेको तर एक-दुई थप्पड भने हिर्काएको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

आरोपित तारा थापा मगरले दुवै पक्षबीच असार १ गते पत्ताले प्रहरी चौकीमा गई मिलापत्र गरेको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो । उहाँले पीडित पक्षलाई उपचार खर्च र यात्रा खर्च गरी २० हजार रुपियाँ दिने सहमति भई मिलापत्र गरेको बताउनुभयो ।

पीडितका बाबु नीरबहादुरले आफ्नो छोरालाई उच्च दवाबमा राखी सहीछाप गर्न लगाएको इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।Photo 20200621 Solu (5)

 -इन्सेक

No comments:

Post a Comment