विभेद बिरुद्ध अभियान, ( मनोहरकुमार पोखरेल) - कोही कोल्टो परेर त कोही हात खुट्टा फैलाएर सुत्छन् । अझ कोही घोप्टिएर त कोही उत्तानो परेर सुत्छन् । कोही सुतेका बेला फनफनी घुम्छन् । मानिसको स्वभाव अनुसार मात्र नभई अवस्था अनुसार पनि सुत्ने तरिका फरक–फरक हुँदो रहेछ ।
सप्तरीका ६५ वर्षीय जुक्तिदेव मरिकको खुट्टा खुम्च्याएर गुडुल्किएर सुत्नुको विकल्प छैन । चिकित्सक विशेषज्ञहरूका अनुसार घुँडालाई खुम्च्याएर कुप्रो परेर सुत्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । त्यसैले सुत्ने तरिका सहि हुुनुपर्छ । तर, जुक्तिदेव चाहेर पनि खुट्टा फैलाएर सुत्न सक्नु हुन्न ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित राजविराज–कुनौली सडक किनारको भिरालोमा रहेको ऐलानी जमिनमा ११ जना परिवारको एउटा डोम वस्ती छ । त्यहाँ बाँसको बत्तीले बनेको गोलाकारको सुँगुरका खोरहरू छन् । खोरसँगै टाँसिएको त्यो भन्दा सानो डोमहरूको घर छ ।
साढे तीन फिट लामो र त्यतिनै चौडा भएको खोरभन्दा सानो मरिकको घर छ । उहाँ चार हातपाउ टेकेर भित्र पस्नु हुन्छ । तेर्सो परेर सुत्दा पनि खुट्टा तन्काउने ठाउँ पुग्दैन् । भुइँमा ओछ्याइएको परालमाथि राखिएको मैलो कम्बलमा सुत्नु हुन्छ र त्यही कम्बल ओढनु हुन्छ ।
मरिकले दुई छोरी र तीन छोरा हुर्काउनु भयो । छोरीहरू प्रमिला र सुशिलाको १६ नपुग्दै विवाह भयो । छोरा ठूला नहुँदै छुट्टिए । उहाँको भागमा त्यही छाप्रो प¥यो । गरिवी र भूमिहीनताको सङ्कट झेल्न नसकेर उहाँकी पत्नीले छाडेर हिँडेपछि एक्लिएका मरिक अहिले बुढेसकालमा कष्टपूर्ण गुजारा गर्दै आउनु भएको छ ।
स्थानीय रबी रायका अनुसार उहाँका छोराछोरी सबैको वरिपरि टालटुल गरिएको छाप्रो छ । सबैलाई दुई छाक खान धौ–धौ छ । सुँगुरको भन्दा सानो खोरमा रात काटिरहेका यी वृद्ध खाना पकाउन सक्नु हुन्न । दया गरेर छिमेकी वा छोराछोरीले उब्रेको खाना ल्याइदियो भने उहाँको छाक टर्छ ।
छाप्रोमा चिसो भुइँमा सुत्ने उहाँ एक्लो होइन । गोला मरिकसँग विहे गरेर आउनु भएकी रुन्ती मरिक सुँगुरको खोरमाथि सुत्ने गरेको पाँच वर्ष भयो । सुँगुरको खोरमाथि बनाइएको सानो मचानमा सुत्दै आउनु भएकी २१ वर्षीया रुन्तीले ५ वर्षको अवधिमा त्यही खोरमा दुई छोरी र एक छोरालाई जन्म दिनु भयो । मरिक दम्पतिलाई समेत सुत्न खुट्टा खुम्च्याउनु पर्ने मचानमा अहिले उहाँहरूका छोरा तीन वर्षीय नितिश तथा छोरीहरू चार वर्षीया पुजा र तीन महिनाकी सङ्गीता पनि अटाउँछन् ।
हावा, पानी नछेकिने गरी बाँसको बत्ती र थोरै परालले छाएको झुप्रोमा पराल ओछ्याएर रीता मरिकको परिवार सुत्ने गर्छन् । पानी छेक्न कालो प्लाष्टिकले छोपेको छाप्रोमा पिङ्कीदेवी मरिकको परिवार पनि भुइँमै रात गुजार्छन् । यसरी पुस्तौदेखि ऐलानी जमिनमा बस्दै आएका डोमहरू खोरहरूमा सपरिवार सुत्छन् ।
आर्थिक रूपले विपन्न भूमिहीन डोम समुदाय सुँगुर पाल्छन् र बाँसजन्य सामग्री बनाएर बेचबिखन गरी जीविकोपार्जन गर्छन् । बिहानै उठेर सुँगुर चराउनु, मजदुरी गर्नु र बाँसजन्य सामाग्री बनाउनु डोमहरूको दैनिकी हो । आम्दानीको कुल रकममध्ये सबैभन्दा बढी मधपान र धुम्रपानमा खर्चिने भएकाले कमाएकै दिन खर्चिन्छन् ।
अभाव र दरिद्रताले परिवारका सदस्यहरू बीचको झगडाले डोम समुदायको परिवार चाँडै टुक्रने गरेको पूर्व वडा अध्यक्ष जयप्रकाश ठाकुरले बताउनु भयो । गोला मरिकका बुवा जगदेव र आमा जलेशीले पनि दिनहुँ हुने झगडाबाट आजित भएर पाँच छोरालाई सानै छँदा अलग गरि दिनु भयो । जुक्तिदेवले पनि तीन भाई छोराहरूलाई सानैमा अलग गरी दिनु भयो । सबैको सम्पत्तिको नाममा सुँगुर, सुँगुरको खोर र खोरसँगै वा खोरमाथि सुत्ने घर छ ।
‘कथित जातीय छुवाछूतका कारण माथिल्ला जातिकाले गाउँवस्तीमा बस्न दिँदैनन् र आफ्नै जातीय प्रचलनअनुसार अन्यत्र गएर बस्न पनि पाउँदैनन् ।’ डोम समुदायका माइन्जन (अगुवा) छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक भन्नुहुन्छ–‘अधिकांशसँग जमिन किन्ने हैसियत नभएकोले बस्तीभन्दा टाढा सडक किनार, ऐलानी, पर्ती, गाउँ ब्लकको जमिनमा छाप्रो–टहरा बनाएर बसेका छन् ।’ रोजीरोटी, व्यवसाय गर्नका लागि आफ्नो भागमा परेको भूगोलभित्र अन्य क्षेत्रका डोमलाई बस्न त के सामान बिक्री गर्ने अनुमति पनि नपाइने मरिकले अप्ठ्यारो सुनाउनु भयो । उहाँले समेत घर बनाउने अनुमति नपाउँदा राजविराजमा किनेको जमिन बिक्री गर्नु पर्यो । एक ठाउँका डोम अन्य ठाउँमा गएर बसोवास गर्न नपाइने प्रचलन कायम रहेकोले निश्चित भूगोलमा डोमहरूको सघन बसोवास छैन ।
पराल र प्लाष्टिकले छाएको फुसको छाप्रोमा हिउँद्–बर्खा कटाउँदै आएका उनीहरूको घर बर्षामा चुहिन्छ, गर्मीमा आगलागी हुन्छ र हावाहुरीले उडाउँछ । डोमबस्ती वरिपरी खाल्डोमा पानी जम्ने हुँदा दुर्गन्ध र लामखुट्टेको प्रकोप छ ।
राजविराज–कुनौली सडक विस्तार र स्तरोन्नतिका कारण उहाँहरूले त्यहाँबाट पनि हट्ने सूचना पाउनु भएको छ । वर्षौदेखि जिर्ण रहेको भारत बिहारको कुनौलीसँग जोडिने सडक स्तरोन्नतीले जिल्लाको विकासमा टेवा पुग्ने भन्दै उद्योगी, व्यावसायीहरू खुशी छन् । तर, सामान्य अवस्थामा पनि हातमुख जोर्न धौधौ पर्ने डोम परिवारमा त्यहीँ सडक विस्तारले थपेको पीडा र उनीहरूको व्यवस्थापनतर्फ कसैको ध्यान पुगेको छैन । सडक छेउको ऐलानी जग्गामा बनाइएको खोर र छाप्रोहरू हटाउनु पर्ने भएपछि ओत लाग्ने सहाराको खोजिमा रहेका उहाँहरू अब कहाँ पो जाने भन्ने चिन्तामा पर्नु भएको छ ।
सप्तरीमा मरिक, सप्तरीपूर्व बाँसफोर र मरिक, झापातर्फ मल्लिक, सिरहा र धनुषामा मल्लिक र डोम, पर्सामा मल्लि र राउत थर लेख्ने डोम समुदायको जनसङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार १३ हजार २ सय ६८ छ । यो भनेको कुल तराई दलितको एक प्रतिशतभन्दा कम हिस्सा हो । डोम समुदायको कूल जनसङ्ख्यामध्ये तराईमा नै १२ हजार ८ सय ३३ बसोवास गर्दै आइरहेको राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागमा उल्लेख छ । सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, झापा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा र पर्सामा तुलनात्मक रुपमा यो जातीको बसोवास रहेको पाइन्छ ।
अति विपन्न यी प्रत्येक परिवारसँग गरिखाने मेलोको नाममा बाँसजन्य सामाग्री बनाउने हातको सिप मात्र छ । उहाँहरूले बनाएको सुपली, ढाला, कोनिया, ढकिया, पङ्खा भगवानलाई चढाइन्छ, कानुनी रूपमा छुवाछुत अन्त्य छ तर पनि डोमहरू भने छोइन्छ । डोमलाई हिन्दू वर्णव्यवस्थामा सबैभन्दा तल्लो वर्णको रूपमा राखिएकाले शोषणको सबैभन्दा बढी मारमा पर्दै आएका छन् र दिनहुँ छुवाछुत भेदभावको शिकार बनेका छन् ।
अन्य दलितहरूबाट समेत पीडित र लाञ्छित डोम समुदायले यस्तो अन्यौलको जीवन बिताउन थालेको पुस्तौ भइसक्यो । दलित जातिमध्ये सबैभन्दा कमजोर, उत्पीडनमा परेको र दलितहरूबाट समेत हेपिएको समुदाय नै डोम रहेको साहित्यकार राजेश बिद्रोहीको दाबी छ । जातिय पेशा र कमजोर आर्थिक अवस्थाले सामाजिक घुलमिलभन्दा पर रहेका डोमको आफ्नो जमिन नहुनाले हमेशा उठिबासको समस्या छ ।
विभेद, गरिवी र भूमिहीनता डोम समुदायको मुख्य समस्या रहेको अनुसन्धानले नै देखाएको छ । राष्ट्रिय दलित आयोगद्वारा २०६५ सालमा प्रकाशित मधेसी दलित समुदायको परिचयात्मक पुस्तिकामा पाँच प्रतिशत डोमको स्थायी घर छ भने ८०.४ प्रतिशतको घर अस्थायी प्रकृतिको रहेको उल्लेख छ । सबैलाई गरिवीले सताएको छ, खान छैन, लाउन छैन, सन्तान पढाउनुपर्छ भन्ने अभिभावकलाई ज्ञान पनि छैन ।
सप्तरी जिल्लालाई ०७४ चैत २१ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि डोम बस्तीमा नै शौचालय छैन । बिजुली बत्ति र शुद्ध पानीको सुबिधा छैन । पहुँच र अवसरबाट सदैव बञ्चित छन् । शिक्षा र निजामती सेवामा पहुँच नहुनाले राज्यबाट प्राप्त हुने सुविधाबाट बञ्चित यो समुदायसम्म संविधानले संरक्षण गरेको अधिकार पनि पुगेको छैन । दलित वा अल्पसङ्ख्यकको कोटामा डोम समुदाय कहिले नपरेको जलेशी मरिकको दुखेसो छ ।
देशमा भएको पछिल्लो परिवर्तनले अन्य दलित समुदायको आर्थिक, सामाजिक, राजनीतिक प्रतिनिधित्व र पहुँच बृद्धि भएपनि अपहेलित, शोषित, बहिष्कृत डोम समुदायका मानिसहरू वडा सदस्य पनि हुन पाएका छैनन् । स्रोत/साधनबाट विमुख, भूमिहीन, निरक्षर, गरिव, बेरोजगार डोम समुदायलाई राज्यले विशेष प्राथमिकतामा राख्नु पर्ने लेखक मणिलाल विश्वकर्माले बताउनु भयो । ‘नेपालमा डोम र मेस्तर जातिको अवस्था’ पुस्तिकाका लेखक विश्वकर्मा भन्नुहुन्छ–‘सिङ्गो दलित समुदायलाई एउटै समरूप समूहमा लिने प्रवृत्ति अर्थात डोम र अन्य दलितलाई एकै किसिमले विश्लेषण गरेर सही निष्कर्षमा पुग्न सकिँदैन् । तसर्थ सबैभन्दा पछाडि रहेको यो समुदायको न्यायोचित व्यवस्थापनमा राज्यको ध्यान अविलम्ब पुग्नुपर्छ ।’
No comments:
Post a Comment