झापाका राजनीतिक दलहरु रुकुम ‘हत्याकाण्ड’ विरुद्ध उत्रिए

विभेद बिरुद्द अभियान -  बिर्तामोड– झापाका राजनीतिक दलले रुकुम हत्याकाण्डको छानविन गरी दोषीउपर कडा कार्बाही गर्न माग गरेका छन् । अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर पश्चिम रुकुममा नवराज विकसहित छ जनाको ज्यान गएको थियो । झापाका दलहरुले जातिय विभेद गर्ने अधिकार कसैलाई नभएको भन्दै दोषीलाई छोड्न नहुने बताए ।

बुधवार बिर्तामोडमा आयोजना गरिएको श्रद्धाञ्जलि सभामा बोल्दै दलका नेताले यो घटनाविरुद्ध साझा आन्दोलन आवश्यक रहेको औँल्याए । दलका नेताहरुले हत्या गरिएका विकसहित छ जनाको परिवारले न्याय नपाएसम्म आन्दोलन रोक्न नहुने अडान राखेका छन् ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिले ‘जातिय विभेद तथा छुवाछूत विरुद्धको राष्ट्रिय दिवस’ का अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जातीय विभेद नेपाली समाजकै समस्या रहेकाले यसको अन्त्यका लागि सबै समुदायको एकता जरुरी बताए ।

‘रुकुममा मान्छे मरेको हो भन्ने बुझाई भएको छैन । त्यहाँ त एउटा कामी मरेको भन्ने धारणा बनाइएको छ’, उनले भने । तत्काल दोषीलाई कारवाहीको दायरामा ल्याउन पोर्तेलले सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा झापाका सचिव विजय साम्पाङले दलितमाथि भइरहेको विभेदविरुद्ध नेकपाले सधैं खवरदारी गर्दै आएको बताए ।

नेपाली कांग्रेसका जिल्ला सदस्य जलकुमार गुरुङले रुकुम घटनाले नेपाली समाजको चित्रण गरेको बताउँदै त्यसविरुद्ध हुने सबै प्रकारका आन्दोलनमा पार्टीको ऐक्यवद्धता रहने बताए । राप्रपाका झापा सचिव केशव ओझाले विभेद विरुद्धको आन्दोलन निरन्तर चलिरहनु पर्ने बताएक । ‘रुकुम घटनाविरुद्ध भइरहेको आन्दोलनमा राप्रपाको ऐक्यवद्धता छ’, उनले भने ।

उत्पीडित विधार्थी संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले न्याय नपाएसम्म आन्दोलन सेलाउन नदिने चेतावनी दिए । मंग्रातीले रुकुम हत्याको घटनामा सरकार गम्भीर नभए चरणबद्ध आन्दोलनमा उत्रिने घोषणा गरे ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक हुकुम नेपालीले जेठ २१ छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिनमा दलित समुदायले खुशीयाली मनाउन नपाएको बताए । कार्यक्रममा दलित नेता हस्त परियार, मानवअधिकारकर्मी डा.रुपक खनाल लगायतले सम्बोधन गरेका थिए ।

No comments:

Post a Comment