दोषीमाथि कारवाहीको माग गर्दै मुख्यमन्त्री प्रधामन्त्रीलाई महिला अधिकारकर्मीको ध्यानाकर्षण

विभेद बिरुद्ध अभियान, (सुशन घिमिरे) रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको विषयलाई लिएर घटेको घटनाप्रति महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

सञ्जालले जेठ २१ गते ध्यानाकर्षण पत्र बुझाउँदै उक्त घटनामा जोडिएका दोषीमाथि कडा कारवाहीको माग गरेको हो ।कानूनले समेत अन्तरजातीय विवाहलाई मान्यता दिएको अवस्थामा घटेको घटना गैरकानूनी सोच र जातीय चरम अहङ्कार चिन्तनको उपज रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सञ्जालको तर्फबाट अध्यक्ष तारामाया थापा, गैसस गण्डकी प्रदेश अध्यक्ष बिना सिलवाल,  इन्सेक गण्डकी प्रदेश कार्यक्रम अधिकृत सवनम शर्मा लगायतद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कथित जातीय अहङ्कारका कारण ६ जना युवाको विभत्स हत्या गर्नु आफैमा निन्दनीय र लज्जास्पद भएको भन्दै दुःखद घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारवाहीको माग गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरिएको छ ।

‘विवाह योग्य भैनसकेकी किशोरीसँग विवाह योग्य युवकको विवाह रोक्न सक्ने पर्याप्त सम्भावनाहरू हुँदाहुँदैपनि स्थानीय जनप्रतिनिधि भद्रभलाद्मीहरूले उनीहरूलाई प्रहरी प्रशासन रोहवरमा सम्झाइ बुझाइ गर्नुपर्नेमा सो नगरी यस्तो निर्दयी घटना घट्नु मानव इतिहासकै कलङ्क हो ।’-ध्यानकर्षण पत्रमा उल्लेख छ ।

पत्र बुझ्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले घटनामा संलग्न सबैलाई कानूनी कारवाही गरिनुपर्ने बताउनु भयो । उहाँले क्रूर मानविय अपराधको रूपमा उक्त घटनालाई लिएको भन्दै ध्यानाकर्षण पत्र जेठ २२ गते सङ्घिय सरकारलाई पठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment