भरतपुर महानगरपालिकाले दलितसँग प्रेम विवाह गर्नेलाई ५० हजार र मागि विवाह गर्नेलाई १ लाख पुरस्कार दिने

विभेद बिरुद्द अभियान -चितवन, असार १२- दलितसँगको अन्तरजातिय विवाहका कारण देशका कतिपय ठाउँमा अमानविय घटनाहरु भएका छन् । दलितसँग प्रेमसम्बन्ध वा विवाह गरेकै कारण दलित युवा युवतीको ज्यानै लिने काम समेत भएको छ ।

जसको ज्वलन्त उदाहरण हुन्, रुकुम सोती घटनाका नवराज विक र रुपन्देहीकी अंगिरा पासी । उनीहरु दुबै जनाले अन्तरजातिय प्रेम र विवाह गरेकै कारण ज्यान गुमाउनु पर्यो । त्यस्तै यसअघि काभ्रेका अजित मिजारको पनि कथित ब्राह्मण जातकी युवतीसंग विवाह गर्दा ज्यान गयो ।

गैरदलितसंग अन्तरजातीय विवाह गरेकै कारण कतिपय युवा युवतीहरु गाउँ समाजबाट लखेटिएका छन् । तर, चितवनको भरतपुर महानगरपालिकाले भने दलितसँग विवाह गर्ने जोडिलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरेको छ ।

महानगरले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै जातिय विभेद तथा छुवाछुतलाई न्यूनिकरण गर्ने उदेश्यले दलितसँग विवाह गर्ने युवा युवतीलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिए ।

महानगरले दलितसँग प्रेम विवाह गर्नेलाई ५० हजार र दलितसँग मागि विवाह गर्नेलाई एक लाख रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने गरी बजेटमै ब्यवस्था गरिने उनले बताए ।

“देशमा भइरहेका जातिय विभेद र छुवाछूतका घटनालाई मध्यनजर गर्दै हामीले महानगरभित्र दलितसंग भागी विवाह गर्नेलाई ५० हजार र मागी विवाह गर्नेलाई एक लाख पुरस्कार दिने ब्यवस्था गरेका छौं, यसको लागि आवश्यक बजेट पनि छुट्याइनेछ”, प्रवक्ता भण्डारीले भने ।

समाजमा दलित भनेर हेप्ने गैर दलितसंग विवाह गरे अस्विकार गर्दै दलितको हत्यासम्म गर्ने घटना भएकाले समाजमा जातिय सदभाव फैलाउन दलितसंग विवाह गर्नेलाई पुरस्कारको ब्यवस्था गरिएको उनले प्रष्ट पारे ।

कुसंस्कारका रुपमा समाजमा रहेको जातीय विभेद र छुवाछूतलाई निरुत्साहित गर्न र दलितसंग विवाह गर्ने जोडीलाई हौसलास्वरुप पुरस्कार दिने ब्यवस्था गरेको महानगरका मेयर रेणु दाहालले बताइन् ।

जातिय विभेद तथा छुवाछूतलाई न्यूनिकरण गर्नका लागि महानगरले लिएको यो नीतिलाई दलित अधिकारकर्मीहरुले स्वागतयोग्य भन्दै प्रशंसा गरेका छन् ।

यसअघि नेपाल सरकारतर्फबाट डा. बाबुराम भट्टराईले आफु प्रधानमन्त्री हुँदा दलितसंग विवाह गर्ने जोडीलाई १ लाख पुरस्कारको व्यवस्था गरेका थिए । तर, त्यसपछिका सरकारले उक्त व्यवस्थालाई हटाएका छन् । दलित अधिकारकर्मीहरुले समेत अन्तरजातिय विवाह गर्ने जोडीलाई सरकारले प्रोत्साहन गरेर पुरस्कृत गर्नुपर्ने आवाज पटक पटक उठाउँदै आएका छन् ।

सरकारको विभेदकारी मानिसकता र नीतिका कारणले अहिलेसम्म पनि नेपाली समाजमा जात प्रथा जरा गाडेर बसेको छ । जसका कारण मानव मानवबीच जातिय विभेद र छुवाछूत जस्तो कलँकति घटनाहरु दिनहुँ घटिरहेका छन् ।

सरकारले जातिय विभेदलाई दण्डित गर्ने कानुनी ब्यवस्था गरेपनि समाजमा दिनहुँ विभेदका घटना भइरहेका छन् ।

No comments:

Post a Comment