सोती घटना पीडितको पक्षमा नि:शुल्क बहस गर्दै छन् बाबुछाेरा

रुकुम पश्चिम – बुवा डा. नवराज गौतम र छोरा अधिवक्ता रामचन्द्र गौतम (आरसी) । पेशा दुवै जनाको अधिवक्ता​ । दुवै बाबुछोराले अदालतको बेन्चमा बसेर एउटै घटनामा बहस गर्ने संयोग जुरेको छ यतिबेला। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत चर्चामा रहेको रुकुम पश्चिमको सोती घ’टनाका पीडितको पक्षमा नि:शुल्क बहस गर्न उभिनु भएका उहाँहरुको जस्तै संयोग पारिवारिक जीवनमा कमैलाई पर्न सक्छ ।
दुवै बाबुछाेराले शुक्रबार देखि जिल्ला अदालत रुकुम पश्चिममा पीडितको पक्षमा एउटै बेन्चमा नि:शुल्क बहस गर्दै हुनुहुन्छ। गत जेठ १० गते चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा​ ६ जनाको ज्यान जाने गरी भएको घटनाको शुक्रबार देखि थुनछेक बहस सुरु भएकाे हाे । बहसको लागि वादी र प्रतिवादी पक्षमा बहस गर्न धेरै अधिवक्ताहरू रुकुम पुगेका छन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नंं. १ घर भएका आरसी गौतम पनि काठमाडौंबाट पीडितको पक्षमा बहस गर्न रुकुम पुग्नुभएको हो । काठमाडौ कार्यक्षेत्र बनाएर बहस गर्दै आउनुभएका आरसीको लागि यो घटनाको बहस ऐतिहासिक अनुभव बन्ने छ ।
आरसीले बहस गर्न थालेको सात बर्ष पुग्यो । “जन्म दिने बाबा सँगै पहिलो पटक पी’डित पक्षको तर्फबाट बहस गर्दैछु, मेरो लागि यो नयाँ अनुभूति पनि हुने छ” आरसी भन्नुुहुन्छ,’हामी दुवैजना पीडितको तर्फबाट नि:शुल्क बहस गर्दैछौं‌ । आरसी बुवाकै प्रेरणाले कानूनी क्षेत्रमा लाग्नु भएको हो । आरसीका बुवा नवराज वरिष्ठ अधिवक्ता तथा रुकुमको पहिलो विद्यावारिधी गर्ने व्यक्ति हुनुहुन्छ ।
उहाँले २०३६ सालदेखि रुकुम जिल्लामा बहस गर्दै आउनुभएको छ । सोतीको दुःखद घटनाले बाबुछोरालाई सँगै बहस गर्ने अवसर जुराइदिएको छ । “यो पेशा हो, यो घटनामा बाबुछोरा पीडितको पक्षमा बहस गर्दैछौं’ डा. नवराज भन्नुहुन्छ, “समयले कहिलेकाहीँ बाबुछोरालाई वादी र प्रतिवादीको पक्षमा बहस गर्ने अवस्था निम्त्याउन सक्छ ।” तर, यसपटक बाबुछोरालाई सँगसँगै वकालत गर्ने नयाँ अनुभव हुनेछ ।
डा. नवराज गौतमको परिवारका चारजना अधिवक्ता हुनुहुन्छ । एक मात्र छोरी रमा गौतम सहित २ छोराहरु पनि अधिवक्ता हुनुहुन्छ । बुवा डा. नवराज गौतम, छोरी रमा गौतम, छोराहरु बिनोद गौतम र आरसी गौतम । उहाँहरु चारैजना अधिवक्ता हुनुहुन्छ । डा. नवराज भनुहुन्छ, “मैले घरमै बसेर साग सिस्नु खाएर पीएचडी गरें​‌, मेरा सन्तानले पनि मलाई खुसी हुने गरी शैक्षिक सफलता हात पारेका छन् ।”
छोरी रमा गौतम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमको सभापति समेत हुनुहुन्छ । दुई छोरा अधिवक्ता हुनुहुन्छ भने जेठो छोरा रमेश गौतम सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ। अर्का छोरा मधुसूदन गौतम कानुनकै बिद्यार्थी हुनुहुन्छ, उहाँ अहिले सर कारी सेवामा हुनुहुन्छ ।

No comments:

Post a Comment