'बाहुनको छोरो कामी भइछस्' भने
म ब्राह्मणको छोरो। फिल्म 'कबड्डी' र 'कबड्डी कबड्डी' मा जगवीर विकको भूमिका निर्वाह गरेको छु। एउटा अभिनेता भएकाले यो मेरा लागि यो कुनै ठूलो कुरा थिएन। तर, अझै पनि पुरानो सोच राख्ने हाम्रो समाजलाई यसले फरक पार्दो रहेछ। मेरै नजिकका साथीभाइ र आफन्तजनले मलाई दलितको भूमिकामा देखिसकेपछि गिज्याएँ। 'ए ब्राह्मणको छोरो कामीको रोल पो गरिछस्', 'हुन त मान्छे नै कामीजस्तै छस्' जस्ता भनाइ धेरै खाइयो। त्यसो त मुस्ताङमा फिल्मको सुटिङ भइरहेकै समयमा पनि थुप्रै किस्सा भए। फिल्ममा म बस्ने घर साँच्चिकै दलितकै घर थियो। त्यो घरको धनीले पनि मलाई दलित नै ठान्थ्यो। म त्यही एउटै फोहोरी गेटअपमा गाउँ डुल्थेँ। पसलमा पानी किन्न जाँदा पसलेले तलदेखि माथिसम्म हेर्थ्यो। फिल्मको कलाकार हुँ भनेपछिमात्र बसौँ भन्थ्यो। गाउँलेले म र मेरो हुलियालाई घुरेर हेर्थे। मैले जीवनमै भुल्न नसक्ने अनुभव हुन् यी। म पर्दाका लागि दलित बन्दा त यति धेरै भनाइ खाइयो भने साँच्चिकै दलितले कति पीडा खेपिरहेका होलान्? कहिलेकाहीँ सोच्ने गर्छु।
सधैँ पीडित
म सधैँ अरूले हेप्ने खालका चरित्रसँग नजिक रहेँ। त्यसैले धेरैले मलाई सोध्ने गर्छन्, 'सधैँ पीडित किन?' फिल्म 'अन्तराल'मा अभावग्रस्त युवा भएँ। 'लोफर'मा चालकको भूमिकामा थिएँ भने 'लज्जा'मा साइकल मेकानिक। 'कबड्डी' र 'कबड्डी कबड्डी'मा गरिब दलित। सधैँ यस्तै चरित्रमा देखेर घरमै पनि सोध्ने गर्छन्– 'खाली गरिब, दलित र पीडित रोलमात्र किन गर्छस्? यो बाहेक अरू रोल दिँदैनन् तँलाई?' मेरो एउटा जवाफ हुन्छ– 'म हिरो बन्न अभिनयमा लागेकै होइन। मैले त चरित्रमाथि काम गर्ने हो।' तर, कहिलेकाहीँ यस्तै चरित्रमा काम गर्ने अफर आउँदा दुःख पनि लाग्छ। मैले अरू भूमिकै निर्वाह गर्न सक्दिनँ भनेर पो यस्तै मात्र दिएका हुन् कि क्या हो भन्ने लाग्छ।
दाह्रीका दुःख
म सधैँ दाह्री पाल्ने गर्छु। मलाई नक्कली दाह्री लगाउँदा चरित्रमाथि डुबेर अभिनय गर्न सकिन्छ भन्ने लाग्दैन। किनकि, त्यतिबेला दाह्री र जुँगा कतै खसिहाल्छ कि भन्ने डर जो कलाकारको दिमागमा हुन्छ। आफ्नै दाह्री र जुंगा भयो भने जसरी काटे पनि हुन्छ। चरित्रको मागअनुसार आफूलाई प्रस्तुत गर्दा हुन्छ। फरक–फरक चरित्रमा काम गर्नका लागि म दाह्री पाल्छु। तर, यही दाह्री पाल्दा अरूले हेर्ने दृष्टिकोणमा फरक पाएको छु। धेरै दुःख पनि पाइएको छ। चार वर्षअघि भारतको नयाँ दिल्लीमा एउटा कार्यक्रमका लागि पुगेको थिएँ। त्यहाँ मेट्रो स्टेशनमा मलाई दाह्रीकै कारण प्रहरीले एकदमै धेरै चेक गर्योर। होटलमा पुग्दा सेक्युरिटी गार्डले पनि परैबाट थर्कायो। मेरो दाह्रीलाई घुरेर हेर्यो अनि 'क्या काम है', 'नाम क्या है' जस्ता प्रश्नैप्रश्न झेल्नुपर्यो । कन्फर्म गरेर मात्र रुममा छिर्न दिएको थियो।
भरिया बन्दा पिसाब फेर्न दिएनन्
नौ वर्षअघि म गुरुकुलमा रहँदा जीवन बुझ्ने काम दिइएको थियो। त्यतिबेला म एकदिनका लागि भरिया बनेको थिएँ। गेटअप पनि त्यस्तै थियो। घँुडामा हल्का च्यातिएको सुरुवाल, कमिज, चप्पल, टोपी र आसकोट लगाएको थिएँ। हातमा नाम्लो र कानमा चुरोट सुर्केको थिएँ। पुतलीसडक चोकमा काम खोज्दै जाँदा एउटाले १२ बोरा ह्वाइट सिमेन्ट बोक्ने काम दियो। एक सय ३० मागेकोमा ९५ रुपैयाँ ज्याला दिने भन्यो। भर्खरै नयाँ बनेको घर रहेछ। म पिसाब फेर्न भनेर भर्या ङ छेउको ट्वाइलेटमा पुगेको थिएँ। घरबेटीले 'त कहाँ पसेको? कसले भनेर पसिस्?' जस्ता वाक्य प्रयोग गरेर गाली गर्योा। पिसाब फेर्न नपाई बाहिर निस्किएको थिएँ। भरियालाई कति हेपिँदो रहेछ भन्ने कुरा मैले त्यतिबेला महसुस गरेँ। त्यतिमात्र होइन, ठूलाले सानालाई यसै गर्छन् यहाँ। जीवन बुझ्ने क्रममा मैले भोगेको अनुभूति थियो यो।
गफैगफमा अभिनय भुलेँ
१२ वर्षअघि अनुप बरालको निर्देशनमा 'जात सोध्नु जोगीको' नाटक मञ्चन भइरहेको थियो। मैले पनि अभिनय गरेको थिएँ। त्यतिबेला एक दिन मलाई साथीहरूले भुल्याउने रणनीति बनाएका रैछन्। मेरो पालो आउनै लागेको थियो। तर, म गफैगफमा भुलेछु। आत्तिएर स्टेज पुग्दा त मेरो पालो नै सकिसकेको रैछ। अर्कै साथीले मेरो भूमिका निर्वाह गरिदिएछ। त्यो दिन नाटकका प्रमुख कलाकार सुनिल पोखरेलले 'नाटकको अनुशासन यही हो?' भन्दै गाली गर्नुभएको थियो। नाटकका क्रममा त्यस्ता उट्पट्याङ धेरै गरियो। कहिले अफ स्टेजबाट स्टेजमा अभिनय गरिरहेकालाई जिस्काइयो, हँसाउन खोजियो। त्यसरी उट्पट्याङ गर्दाका फाइदा पनि हुने रैछ। आफूलाई अभिनयप्रति गम्भीर बन्न सिकाउने रैछ। त्यतिबेला अरूले भुलाउन र हँसाउन खोज्दाखोज्दै आफूले कन्ट्रोल गर्न सक्यो भने त्यो कलाकारको ठूलो सफलता हो भन्ने हामी मान्थ्यौँ।
No comments:
Post a Comment