भूकम्पले सिन्धुपाल्चोककी शान्ति विकलाइ किर्गिजस्तान पुरायो
Sunday, April 24, 2016
बैशाख १२ सिन्धुपाल्चोक,विभेद बिरुद्ध अभियान– ‘आमा छिटै घर फर्क । म कुरिरहेछु ।’ यो भनाई पाँच वर्षकी रजिना विकको हो । उनी अझै तोते बोली नै बोल्छिन् । गत वर्षको भूकम्पले उनको घर भत्काइदियो ।
भूकम्प गएको केही समयपछि उनकी आमा उनलाई छाडेर हिडिन् । आमा कता गइन् ? उनलाई त्यो थाहा छैन् । तर, किन गइन् भनेर कसैले प्रश्न गर्दा वित्तिकै उनको जवाफ हुन्छ–‘पैसा कमाउन ।’
महाभूकम्पपछि सिन्धुपाल्चोकबाट विदेशिनेहरुको संख्या बढ्दो छ । सिन्धुपाल्चोकको सेलांगकट्टीस्थित दलित परिवारलाई पनि महाभूकम्पले नराम्ररी प्रभावित गर्र्यो । त्यसपछि श्रीमती विदेश पठाएको बताउँछन् रजिनाका बाबु जीतमान विक ।
जीतमानका अनुसार श्रीमती अहिले किर्गिजस्तानमा छिन् । तर, जीतमानले भनेजस्तै शान्ति विक किर्गिजस्तान पुगेको विश्वासिलो आधार छैन् । ऋण काढेर श्रीमतीलाई विदेश पठाएको उनी बताउँछन् । भन्छन् ‘अलिकति बारी थियो । सडक आएपछि त्यो बारी सडकमा पर्यो । बाँकी रहेको जग्गा र घर भूकम्पले पेल्दियो । अहिले अर्काको बारीमा छाप्रो हालेर बसेको छु ।’
सरकारले भूकम्पपछि केही नदिएको उनको गुनासो छ । भारतीय नाकाबन्दीका कारण मूल्य बढेको संकेत गर्दै उन्ले भने, ‘भूकम्प लागेपछि त झन् सस्तो हुनुपर्ने हो । खोइ अझै महगीँ बढेको छ ।’
सिन्धुपाल्चोकमा सग्ला घर छैनन् । भूकम्पपछि गाउँको जनजीवन नराम्ररी प्रभावित भएको थियो÷छ । भूकम्प लगत्तै तातोपानी नाका समेत बन्द हुदाँ थुप्रै बेरोजगार भए । यस्तै परिस्थितिका कारण बाध्य भएर श्रीमतीलार्ई विदेश पठाउनुपरेको उनी बताउँछन् ।
२६ वर्षका युवा जीतबहादुरलाई पढ्न लेख्न आउँदैन । उनकै भाषामा भन्दा उनको कुनै काम पनि छैन् । श्रीमती विदेश गएपछि जीतमान विक ६६ बर्षका बुवालाई स्याहार गरेर गाँउ बसेका छन् । जीतमानका बाबु प्यारालाईसिसले थलिएका छन् ।
अहिलेसम्म गाउँका विस्ट (माथिल्लो जाती) ले विदेशबाट आएका राहत सामाग्री आफूसमक्ष ल्याइदिने गरेको र अफ्टेरो पर्दा सहयोग गरेको जीतमान बताउँछन् । तर, सरकारले राहतको रकम नदिदाँ बिचल्लीमा परेको उनको भनाई छ ।
जीतमान छोरा रवि राम्रोसँग बोल्न सक्छन् । तर कान्छी छोरी रजिनाको बोली समेत भर्खरै फुट्दैछ । आखिर भर्खरै बोली फुट्दै गरेकी छोरीलाई छाडेर जीतबहादूरकी श्रीमती कता गइन् त ? के जीतबहादूरले भनेजस्तै उनी किर्गिजस्तान नै गएकी हुन् ?
जीतबहादुरको पारिवारिक अवस्था
—जीतबहादुरलाई पढ्न लेख्न आउँदैन ।
—उनका दुई छोराछोरी गाउँकै स्थानीय विद्यालयमा पढ्दैछन् ।
—छोरी बाबुलाइ घरेलु काममा समेत सघाउँछिन् ।
—भूकम्पका कारण उनको घरमा क्षति पुगेको छ ।
–अहिले अर्काको बारीमा छाप्रो हालेर बसेका छन् ।
—उनकै शब्दमा भन्नुपर्दा राहतको चामल खाएर बसेका छन् । आयश्रोत केही छैन् ।
—माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डे नेपाल सरकारले महिला कामदारलाई किर्गिजस्तान पठाउन रोक लगाएको बताउँछन् ।
—किर्गिजस्तान लैजाने बहानामा विभिन्न दलालहरुले नेपाली चेलीहरुलाई भारत पुर्याउने गरेको उनको भनाई छ । कतिपय चेलीहरु त्यहाँबाट किर्गिजस्तानसम्मको यात्रा गर्न सफल रहेपनि धेरैजसो भारतमै बेचिने गरेको उनी बताउँछन् ।
–किर्गिजस्तान पुगेकाहरुले पनि गैरकानूनी हिसाबमा गएका कारण धेरै सास्ती खेप्नुपर्ने गरेको र त्यस सम्बन्धि उजूरीहरु माइती इन्डियामा आएको उनको भनाई छ ।
अरु के भन्छन् पाण्डे ?
— श्रीमती शान्ति विकले विदेशबाट फोन गर्ने गरेको जीतबहादुरको भनाई छ । यसवारे माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डे भन्छन््, ‘भारतमा नेपाली चेलीहरुलाई लगिन्छ । तर कहिल्यै शहर नदेखेका नेपाली चेलीहरु भारतका दिल्ली, कलकत्ता, मेरिट लगायतका शहरलाई नै किर्गिजस्तान संझन्छन् । उनीहरु त्यहाँ चर्को हिंसा सहेर काम गर्न बाध्य हुन्छन् । तर, परिवारलाई सुनाउँदा उनीहरुले थप पीडा महसूस गर्ने गरेका कारण पिडा लुकाउन चाहन्छन् । ’
— नेपाल भारत खुला सीमानाका कारण पनि कति चेली नेपाल हुदैँ भारत र त्यसमार्र्फत तेस्रो देश पुगे भन्ने पत्ता लगाउन जटिल छ । त्यसैकारण चेलीवेटी बेचबिखनबाट बच्नका लागि सबैभन्दा पहिले आफू नै सचेत हुन जरुरी रहेको पाण्डे बताउँछन् ।
—एउटी गाउँकी सिधा सादा अनपढ केटीलाई टुरिस्ट भिसामा किर्गिजस्तान पठाउँछु भन्नेहरु कस्ता होलान् ? पाण्डेको प्रतिप्रश्न छ । उनी भन्छन्, ‘यो गलत विषय हो र यस्तो विषयबाट हामी सबै बच्न जरुरी छ ।’-रातोपाटीमा समाचार छ |
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
RECENTS-POSTS
1/random/post-list
NEWSLETTER
Get All The Latest Updates Delivered Straight Into Your Inbox For Free!
No comments:
Post a Comment