काली परियारको इच्छा कहिले पुरा होला ?

सुजाता खत्री (उज्यालो) ,काठमाडौं चैत २९ ,विभेद बिरुद्ध अभियान – खोलाको छेउमा सानी छोरी पानी चलाउँदैछिन् । ठूलो छोरो पनि सँगै छ । ‘ममी हेर्नु न, नानी त भनेको नै मान्दिन’ बहिनी हेर्न राखेको छोराको कुरा सुनेर दिक्क मान्दै उनी भन्छिन्, ‘कति दुःख दिएकी यो नानीले, बरु पढ्न गएकी भएपनि आनन्द हुन्थ्यो होला ।’ २२ वर्षे काली परियारलाई छोराछोरीले दुःख दिएको देख्दा लाग्छ, पढ्न गएको भए यस्ता हुँदैनथे होला । हुम्ला घर भएकी उहाँलाई बालबच्चा पढाउने ठूलो इच्छा छ । तर रहर गरेको सबै पुगेन । ‘बासको ठेगान नभएपछि यस्तै हो’ उहाँले सुस्केरा हाल्नुभयो ।
हुन त उहाँ छोराछोरीलाई पढाउने भनेरै गाउँबाट शहर आउनुभएको हो । काठमाडौं आएपछि स्थायी बास नपाउँदा उहाँले छोरालाई विद्यालय भर्ना गर्न सक्नुभएको छैन  । काखको छोरीको कपाल मिलाउँदै उहाँले भन्नुभयो ‘एक महिना यहाँ बस्छौं, त एक महिना पछि कहाँ हो थाहा छैन ।’
chittalpol ki kali 2गाउँमा खेती गर्दा उहाँको घर जसोतसो चलेको थियो । बुढाबुढी मिलेर खेती, ज्याला गरेर बच्चालाई पाल्न त्यती समस्या थिएन । छोराको उमेर ५ वर्ष पुगेपछि उहाँलाई पढाउने रहर लाग्यो । त्यसपछि हुम्ला सिमिकोट छाडेर उहाँहरु वर्षदिनअघि काठमाडौं आउनुभयो । पहिलो पल्ट काठमाडौं आएका उहाँहरुलाई हुम्लाकै चिनेका दाईले फुटुंगमा काम लगाइदिए । कुखुरा फर्ममा काम गर्दा पाएको १२ हजार रुपैयाँ तलबले उहाँहरुलाई महिना दिन धान्न पनि धौ धौ पर्‍यो । उहाँ भन्नुहुन्छ ‘खान नै पुगेन, बच्चा पढाउने कुरा त सोच्नै पाइएन ।’ 
फर्मको कामले घर चलाउन गार्‍हो भएपछि उहाँहरु भक्तपुरको चित्तपोलको कृषि फर्ममा गएर बस्न थाल्नुभयो । हुन त काठमाडौं भन्दा यहाँको बसाई केही सहज भएको थियो, तरपनि बच्चालाई पढाउनको लागि उहाँहरुलाई अझै व्यवस्था मिलेको छैन । 
उहाँ बसेको फाँटबाट विद्यालय टाढा छ ‘पोहोर साल बाघले बच्चा मार्‍यो रे’ उहाँ भन्नुहुन्छ, ‘टाढाको विद्यालय जंगलको बाटो छ, कसरी पठाउँ ? ।’ आफ्ना बच्चालाई पढाएर ठूलो बनाउने रहर देखेकी उहाँलाई छोरछोरीले जानेका अक्षर बोलेको सुन्दा लाग्छ, पढाउन पाए पछि आफूले जस्तो दु:ख पाउँदैनन् । बालबच्चा पढाउने सपना देखेकी उहाँलाई सरकारी विद्यालयमा सित्तैमा पढाइदिए पनि कापी कलम र विद्यालय पोशाक कसरी गर्ने भन्ने पीर छ । छोराले ममी म स्कूल कहिले जाने भनेर सोध्दा परियारको मनमा चिसो हुन्छ । उहाँ भन्नुहुन्छ, ‘महिनाभरीको खर्च कटाएर १८ सय रुपैयाँ बच्छ, तर पनि मैले हिम्मत हारेको छैन ।’

No comments:

Post a Comment