सिन्धुलीमा आगलागीबाट सिंगो दलित बस्ती जलेर नष्ट

चैत्र २८ , विभेद विरुद्ध अभियान ।  सिन्धुलीको भुवनेश्वरीस्थित दलित बस्तीबाट शुक्रबार सल्किएको आगो शनिबारदेखि तीनकन्या गाविसको जंगलमा समेत फैलिएको छ । प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले शुक्रबार ५८ घरगोठ जलेको बताउँदै आगो अझै नियन्त्रणमा आउन नसकेको जानकारी दिए । उनका अनुसार नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, वनलगायतका दुई सय सुरक्षाकर्मी र पाँच सयभन्दा बढी स्थानीय २४ घन्टादेखि आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । जनधनको क्षति हुन नदिन जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 
आगोले भुवनेश्वरी गाविस–७ को मुर्कीबेसी र वडा नम्बर ९ को थाङ्ग्रेका ४२ घर र १६ गोठ जलेर नष्ट भएका छन् । भुवनेश्वरी गाविसको रित, थाङ्ग्र,े तीनकन्या गाविसको रानीखोला र किराँतेका सयौं बस्ती आगोको उच्च जोखिममा परेका छन् ।
आगलागीबाट भुवनेश्वरीकै कालिका प्राविसमेत जलेको छ । सयौं चौपाया तथा पशुपन्छी मरेका छन् । करोडौंको क्षति भएको अनुमान छ । क्षतिबारे विस्तृत पूर्ण विवरण आइसकेको छैन ।
 
प्रजिअ कार्कीले भने, ‘भुवनेश्वरीका धेरै बस्ती खरानी बनाउँदै फैलिएको आगो शनिबार बिहानैदेखि तीनकन्या गाविसको रानीखोला र किराँते बस्ती नजिकैको महाभारत जंगलमा फैलिएकाले नियन्त्रणमा थप चुनौती थपिएको छ ।'
 
महाभारत जंगलमा लागेको आगो पुनः बस्तीमा पस्ने खतरा भएपछि थप सुरक्षाकर्मी परिचालन गर्र्नुका साथै केन्द्रबाटै अग्नि नियन्त्रक परिचालन गर्न गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयसँग सहयोग माग गरिएको प्रजिअ कार्कीले बताए ।
आगलागीपछि सिंगो दलित बस्तीमा रुवावासी फैलिएको छ । उनीहरूले शुक्रबार खुला आकाशमुनि रात काटेका छन् । एक घन्टाका बीचमा हेर्दा हेर्दै गाउँ जलेको स्थानीय गौरव कार्कीले बताए । जंगलबाट लागेको आगो बस्तीमा पस्दा ६० भन्दा बढी घरगोठ जलेर नष्ट भएको उनले जानकारी दिए । प्रहरीले भने हालसम्म ५८ घरधुरी जलेर नष्ट भएको पुष्टि गरेको छ ।
 
आगलागीपीडित पचासभन्दा परिवारलाई शुक्रबार राति नै त्रिपाल, चिउरा, चाउचाउ, पानी, नुन, दालमोठ, चिनीलगायतका सामग्री वितरण गरिएको छ ।
पीडितका लागि जिल्ला सदरमुकाम माढीबजारमा राहत संकलन थालिएको छ । सिन्धुली उद्योग वाणिज्य संघलगायतका संघसंस्थाले पीडितका लागि भन्दै राहत संकलन गर्न थालेका हुन् ।आगलागीसँगै शुक्रबार हराएका भनिएका बालबालिका सम्पर्कमा आएका छन् । उनीहरू आगो सल्किएको जंगलमा पानी लिन गएका थिए ।

No comments:

Post a Comment