पञ्चेबाजा संरक्षणका लागि पर्वतका सांसद्हरूको सहयोग

फलेवास (पर्वत),  चैत २१,विभेद बिरुद्ध अभियान पछिल्लो समय लोप हुँदै जान लागेका पञ्चेबाजा संरक्षण अभियानमा पर्वतका सांसदहरुले सक्रियता देखाएका छन् ।जिल्लामा पछिल्लो समय लोप हुन थालेका पञ्चेबाजा संरक्षणमा पर्वतका सांसदहरुले सांसद विकास कोषको रकमबाट रकम विनियोजन गरेका छन् । पर्वतका सांसदहरु अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना चापागार्इंले बाजा संरक्षणकै लागि चालु आवमा रु पाँच लाख विनियोजन गरेका हुन् ।
बाजा संरक्षणका लागि सांसद विकास कोषबाट अर्जुनप्रसाद जोशीले रु दुई लाख विनियोजन गर्नुभएको छ भने अर्का सांसद विकास लम्सालले पनि रु दुई लाख रकम छुट्याउनुभएको छ । त्यसैगरी समानुपातिकतर्फकी सांसद कल्पना चापागार्इंले संस्कृतिका लागि बाजा खरिदका लागि रु एक लाख विनियोजन गर्नुभएको हो । पर्वत जिल्लामा झन्डै १३ प्रतिशतभन्दा बढी दलित समुदायको बाहुल्यता रहेको छ ।
जिल्लाका अधिकांश गाउँमा दलित समुदायले पञ्चेबाजा बजाउने गर्छन्, यद्यपि पछिल्लो समय मगर समुदाय माझ पनि पञ्चेबाजाले स्थान पाउन थालेको छ । बनौ र सालिजाका मगर समुदाय समेत पञ्चेबाजालाई संस्कृतिसंँग जोडेर संरक्षण अभियानमा लागेका छन् । हराउँदै गएको संस्कृतिका रुपमा रहेको पञ्चेबाजालाई संरक्षणका लागि सांसदहरुको सक्रियताका कारण बाजा संरक्षणमा थप टेवा पुग्न सक्ने विश्वासले बाजा संरक्षणमा सहयोग गरिएको सांसद चापागार्इंले जानकारी दिनुभयो ।
पञ्चेबाजा विशेषगरी नेपाली समुदायमा खुसियाली मनाउने बेलामा बजाउने गरिन्छ । विवाह, व्रतबन्ध, पास्नी वा विशेष प्रकारका पार्टीमा बजाउने नेपाली लोकसंस्कृतिसँंग जोडिएको बाजाको संरक्षणका लागि यसअघि विभिन्न गैरसरकारी संस्थाले सहयोग गर्दै आइरहेका थिए ।

No comments:

Post a Comment