पानी भर्नेे पालोमा दलित महिला कुटपिट भएपछि

बैसाख १८, विभेद विरुद्ध अभियान ।
गोरखा-गोरखा नगरपालिका १४ नारेश्वर गाईखुर (दलित बस्ती) मा बुधबार पानी भर्ने निहुँमा झगडा हुँदा स्थानीय ४४ वर्षीया सीता दाहाल (नेपाली) बेहोस भइन् । कसले पहिले पानी भर्ने भन्ने विषयमा उमा आले र दाहालबीच झगडा हुँदा बेहोस भएकी दाहाललाई अस्पताल भर्ना गरिएको नागरिक दैनिकमा खबर छ ।

गोरखा अस्पतालमा सामान्य उपचारपछि बुधबार नै टाउकोको सिटी स्क्यान गर्नुपर्ने चिकित्सकले बताएपछि काठमाडौं ग्रान्डी अस्पताल रेफर गर्नुपर्यो । कुटपिट गर्ने आलेलाई भने प्रहरीले पक्रेको छ ।

१२ देखि १५ धुरी रहेको त्यहाँ एउटा मात्रै धारा छ । भूकम्पपछि गाउँमा भएको अर्को धारा सुक्यो भने अहिले भएको धारामा पनि थोपाथोपा गरेर पानी भर्नुपर्ने अवस्था छ । एक गाग्री पानी भर्न करिब एक घन्टा लाग्छ । बोतल लिएर पानी भर्न गएका बेला पालो मिचेको भन्दै आलेले गालीगलोज गर्दै हातपात गरेको आरोप दाहालले लगाइन् । दुई जनाबीच झगडा भएपछि धाराछेउ खेतमा गोठालो रहेका आलेका छोरा आदर्श आलेले लट्ठीले हिर्काएको सीताले बताइन् ।

'आमा–छोरा भएर कुटे, बेहोस भएपछि हामीले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएका हौं,' सीताका आफन्त शरण दाहालले भने । गोरखा अस्पताल ल्याउँदासम्म सीता बेहोस रहेको उनले बताए । आले परिवारले भने गाग्री भर्न लागेका बेला पालो मिचेर बोतल थापेपछि भनाभन हुँदा झगडा भएको बताएका छन् । उमाका श्रीमान सबिन आलेले दुई जनाबीच झगडा भएको र छोराले देखेपछि लट्ठीले हिर्काउँदा चोट लागेको बताएका छन् ।

गोरखा अस्पतालबाट रेफर गर्न चिकित्सकले भनेपछि कुटपिट गर्ने उमाका श्रीमानले २० हजार नगद घाइतेको परिवारलाई उपचार खर्च दिएर पठाए । उपचार पूरा हुँदासम्म लाग्ने सबै खर्च उनैले बेहोर्नुपर्छ । 'कति खर्च लाग्छ थाहा छैन,' सबिनले भने, 'सानो कुरामा विवाद हुँदा यति ठूलो समस्या पर्यो, म निकै दुःखी र चिन्तित छु ।' सामाजिक काममा सक्रिय हुने उनी उक्त घटनापछि आफूलाई लज्जा महसुस भएको बताउँछन् ।

सोमबार गोरखा सदरमुकामको ढुंगेधारा तीनधारेमा पानी भर्न पालो कुरेर बसेका महिलाबीच भुतलाभुतल भयो । पालोमा राखेर गएको गाग्री हटाएको, आफ्नो पालोमा अर्काले पानी भरेको भन्दै महिलाले झगडा गरे ।

केही दिनअघि सदरमुकामको पँदेली, रोहोटेपानी धारामा पनि पानी भर्ने विषयमा विवाद भएको थियो । यो त एक उदाहरण मात्र हो, अहिले गोरखा सदरमुकामका ढुंगेधाराहरुमा दिनहुँजसो पानी भर्ने निहुँमा झगडा भएको देख्न पाइन्छ । सदरमुकामका ढुंगेधारा, पोखरी, कुवामा पानी सुकेपछि जिल्लाभरि पिउने पानीको हाहाकार भएको छ । एक गाग्री पानीका लागि पाँच घन्टा लाइन बस्नुपर्ने बाध्यता सदरमुकामबासीलाई छ । बिहान, दिउँसो राति जतिसुकै बेला पनि सदरमुकामका धारामा सर्वसाधारण र पानी भर्ने भाँडोका ताँती हुन्छ । दिनभर लाइनमा बसेर भरेको एक गाग्री पानी पिउन मात्रै ठिक्क हुन्छ । नुवाइधुवाइ गर्न, खाना पकाउन, शौचालयमा प्रयोग गर्ने पानी भर्नुपर्यो भने रातभर निद्रा मार्नुपर्ने बाध्यता रहेको सदरमुकाम बस्दै आएकी कोपिला विकले बताइन् ।

सदरमुकाममा पानी वितरण गर्दै आएको पृथ्वीनारायण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र कर्नेखोला खानेपानी आयोजनाले कहिलेकाहीँ मात्र पानी वितरण गर्छ । पानी कहिले आउँछ भन्ने ठेगान हुँदैन । सातादेखि १० दिनसम्म पनि कहिले पानी नै नआउने उपभोक्ता बताउँछन् ।

गोरखा सदरमुकामदेखि गाउँगाउँमा रहेको धारा, पोखरी, कुवा भूकम्पपछि सुकेका छन् । सय वटा भन्दा बढी पानीको स्रोत सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले बताए । उनले भने, 'पानीको मुहान धेरै सुकेको छ, कतिपय आयोजना भूकम्पले बन्द भएका छन्, लामो समयको खडेरीले पनि पानीको हाहाकार बढेको छ ।'

पहिले यो सिजनमा सदरमुकाममा पानीको हाहाकार भएपछि गाउँमा खासै समस्या हुँदैनथ्यो । तर अहिले गाउँगाउँमा पानीको हाहाकार छ । पानीको समस्या भएपछि होटललाई समेत असर पुगेको सञ्चालकहरु बताउँछन् । 'बिदाको दिन पारेर नदीमा लुगाकपडा धुन लैजानुपरेको छ,' होलट व्यवसायी गोविन्द गुरुङले भने, 'नदीबाट ट्यांकरको पानी ल्याएर प्रयोग गरेका छौं ।'


No comments:

Post a Comment