बहिष्करणमा परेका पीडित परिवारले मृत्यु हुँदा गाउँमा मलामी समेत पाएनन्

चैत्र २०, विभेद विरुद्ध अभियान । – मन्थली नपा७ गैराथोकका अर्जुन आलेमगरले स्थानीय उषा नेपालीसँग विवाह गरेको कारण उनको परिवार नै सामाजिक बहिष्करणमा परेको छ । बहिष्करणमा परेका पीडित परिवारले मृत्यु हुँदा गाउँमा मलामी समेत पाएनन् ।
मगरले २०६८ सालमा सोही ठाउँकी नेपालीसँग प्रेम विवाह गरेका थिए । कथित माथिल्लो जातकोले दलित समुदायकी युवतीसँग विवाह गरेको भनि गाउँलेहरूले उनलाई गाउँमा बस्नसमेत दिएका छैनन् । उनीहरू विवाह गरेदेखि काठमाडौँ बस्दै आएका छन् । उनीहरूको एक छोरी छन् । उनीहरूले विवाहपछि गाउँमा प्रवेशसमेत पाएका छैनन् ।
समुदायले उनीहरूको परिवारलाईसमेत सामाजिक बहिष्कार गरेको छ । समाजले बहिष्कार गरेकै कारण अर्जुनकी माइली हजुरआमाको दुई दिनसम्म लाससमेत उठ्न नसकेको पीडित परिवारले जानकारी दिएको छ ।
०७२ पुस २७ गते उनकी माहिली हजुर आमाको मृत्यु भयो । दलितको छोरी घरमा भित्र्याएको भन्दै उनको मृत्य भएपछि गाउँका दाजुभाइ लास उठाउनसमेत नआएको मृतकका छोरा अजय आलेमगरले बताए । दुई दिनसम्म लास नउठेपछि दुई दाजुभाइ अजय र बिजयले लास बोके । १०/१५ जना छिमेकीहरू साथमा गएर लासको अन्तिम संस्कार गरेर फर्किएका थिए  उनीहरूको परिवारलाई स्थानीय समाजले सार्वजनिक कार्यमा समेत बहिष्कार गर्दै आएको छ । पीडित परिवारले अन्याय सहिरहेको भए पनि कतै उजुरी समेत गर्न सकेको छैन ।

No comments:

Post a Comment