उत्पीडितको हकअधिकार संविधानमा संस्थागत गर्ने काम एमाओवादी कै नेतृत्वमा भएको हो

२३ चैत, काठमाडौं,विभेद बिरुद्ध अभियान । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता संकटमा परेको भन्दै त्यसको सामना गर्न सबै दलबीच एकताको खाँचो औंल्याएका छन् ।देशमा आइपरेका समस्या र चुनौतिलाई राष्ट्रिय एकता कायम गरेरै सामना गर्दै आइरहेको भन्दै प्रचण्डले अब पनि सबै दलहरुबीच एकता आवश्यक रहेको बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘राष्ट्रियता लगायतका आम चुनौतिहरुको सामना गर्न हामीले झण्डा उठाइरहेका छौं, यसको निम्ति पनि राष्ट्रिय एकताको जरुरी छ ।’
नेपाली जनताले राष्ट्र र जनताको जिम्मेवारी एमाओवादीलाई नै दिइरहेको भन्दै अध्यक्ष प्रचण्डले जिम्मेवारी पूरा गर्न पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उत्पीडित जनताको हकअधिकार संविधानमा संस्थागत गर्ने काम एमाओवादी कै नेतृत्वमा भएको पनि उनले दोहोर्‍याए ।
‘राजनीति र विचारमा क्रान्ति गर्दै आएका छौं, अब हामी संगठनमा क्रान्ति गर्ने छौं,’ उनले भने, ‘हामीले जनयुद्धको रणनीति, कार्यनीतिको विकाससँगै यहाँसम्म आउँदा निकै नयाँ ढंगले विकास गरेका छौं, हाम्रो बुझाइमा गतिशिलता छ ।’
तर नयाँ जनवादी क्रान्ति सोचेअनुरुप सम्पन्न हुन नसकेकोमा उनले दुःख व्यक्त गरे । भिन्न ढंगले पूँजीवादी जनवादी क्रान्ति आधारभूत रुपमा भने पूरा भएको उनले दाबी गरे । त्यो काम पनि माओवादी कम्युनिष्ट पार्टीको पहलमा पूरा भएको प्रचण्डले दाबी गरे । यही उपलब्धीका कारण माओवादीमाथि लाग्ने गरेका बिभिन्न आरोपहरु गलत सावित भएको उनले जिकीर गरे ।
‘हामी माथि विभिन्न कोणबाट लाग्ने गरेको आरोपहरु सैद्धान्तिक र व्यवहारिक दुबै दृष्टिले गलत सावित भएका छन्,’ प्रचण्डले भने ‘इतिहास निकै निर्मम हुन्छ, भए गरेका कामहरुको समिक्षा एवम् मूल्याङ्कन इतिहासले निर्मम ढंगले गर्दछ ।’
एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनमा क्रान्तिको अन्ध नक्कल गर्ने खराब रोगका रुपमा देखा परेको उल्लेख गरे । उनले भने, ‘यसले ठुल्ठूला क्रान्ति पनि प्रतिक्रान्तिमा परिणत भएको छ, यसको मूल कारण मार्क्सवादलाई धर्मशास्त्रको रुपमा लिने प्रवृति हो, मार्क्सवाद एक गतिशिल विज्ञान हो ।’

तस्विर स्रोत : दलजित श्रीपाली/ कृष्ण लाल बिक ज्युको फेसबुक बाट

No comments:

Post a Comment