यी माध्यममा संलग्न दलित समुदायका करिब ७०० जति सञ्चारकर्मीमध्ये नियमित करीब तीन सय र आंशिक रूपमा चार सयजति जनशक्ति आबद्ध रहेको पाइएको छ । नेपालको सन्दर्भमा दलित समुदायका दर्जी तथा गन्धर्वले कटवाली तथा गीत–संगीतमार्फत परापूर्वकालदेखि परम्परागत सञ्चारमाध्यम र तौरतरिकाले सञ्चारकर्मीका रूपमा काम गर्दै आएको पाइन्छ । नेपाली मञ्च जनउत्थान, दलित आवाज, दलित निगरानी, कटवाल रेडियो (बुटवल) र दलितमुखी कार्यक्रमका सिलसिलामा धेरैको सहभागिता रहेको पाइन्छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री धनमानसिंह परियारको नेतृत्वमा क्षेत्रपाटीमा “बालसखा दल” को नामबाट उहाँकै सम्पादकत्वमा विसं २००८ मा बालसखा (मासिक) प्रकाशित भएको थियो । केही अंकपछि यो बन्द भयो । बीबी सुन्दासको समूहले विसं २०१३ मा बालसाहित्य त्रैमासिक (हस्तलिखित) प्रकाशित गरेको थियो ।
“बालसाहित्य मण्डल” को तर्फबाट बीबी सुन्दास र कृष्ण जोशीको प्रधानसम्पादकत्व तथा गजेन्द्रमणि प्रधान र डबल दुःखीको सम्पादनमा त्रैमासिक रूपमा निस्कने यो पत्रिका ६ अंकसम्म प्रकाशित भएको थियो । यसैगरी, बालसाहित्य मण्डलबाट विसं २०१५ मा बीबी सुन्दास, कृष्ण जोशी र शैलेन्द्र साकारको सम्पादनमा प्रकाशित आँकुरो त्रौमासिक पत्रिकाले भोजपुरमा बालसाहित्यको गतिविधि बढाएको थियो । यसअघि विसं २०१२ को अन्तिम महिनातिर बबी सुन्दास, डबलकाजी श्रेष्ठ, कृष्ण जोशी, परशु प्रधान, केशव श्रेष्ठलगागतका युवाको सक्रियतामा बालसहित्य त्रैमासिक, आँकुरो तथा गोरेटोजस्ता बालपत्रिका प्रकाशित गरेको थियो । प्रकाश परियार (पूर्वसहायकमन्त्री) विसं २०२८ मा भैरहवाबाट प्रकाशित दैनिक खबरको सहायक सम्पादक हुनुहुन्थ्यो भने त्यसैबेला भैरहवाबाटै प्रकाशित हुने साहित्यिक पत्रिका भेटघाटको सहसम्पादक भएर उहाँले पत्रकारिता गर्नुभएको थियो । नेपाली पत्रकारितासँग आबद्ध जितु गौतम विसं २०४७ देखि २०५३ सम्म स्थानीय तथा राष्ट्रियस्तरका पत्रपत्रिकाको स्थानीय प्रतिनिधि र केही समय नवसमानता द्वैमासिकको सम्पादक हुनुहुन्थ्यो ।
बेलबहादुर पोखरेल विश्वकर्मा पर्वतबाट केही समय प्रकाशित भएको “कुल्चिएका आत्माहरू” द्वैमासिक पत्रिकाको प्रमुख सल्लाहकार र संरक्षक भएर उहाँले दलित समुदायलाई चेतना र शिक्षामार्फत सशक्त बनाउने प्रयास गर्नुभएको थियो । सो पत्रिकाको प्रधान सम्पादकमा प्रा. डम्बरबहादुर विश्वकर्मा हुनुहुन्थ्यो । दुर्गा दर्नाल धनकुटाबाट प्रकाशित उकालोका सम्पादक हुनुहुन्थ्यो । उमालाल विश्वकर्माले पत्रकारिताको माध्यमबाट पनि मुलुकको सामाजिक तथा राजनीतिमा योगदान दिनुभएको छ । उहाँ विराटनगरबाट प्रकाशित हुने (२०३९) “साप्ताहिक नेपाल” को प्रधानसम्पादक तथा प्रकाशक हुनुहुन्थ्यो । यसअघि विसं २०३५ मै उहाँ मुक्ति पत्रिकाको सल्लाहकार भएर पत्रकारितातिर आबद्ध हुनुभएको थियो । उहाँका छोरा किशोर विश्वकर्मा कवि तथा मुक्तिका सम्पादक हुनुभएको पाइन्छ । रूसबाट पत्रकारितामा स्नातक गर्नुभएका टीआर विश्वकर्मा २००६ मा धरान पब्लिक हाइस्कुलबाट प्रकाशित छात्रधारा (हस्तखिलित) पत्रिकाको उपव्यवस्थापक हुनुभयो । उहाँ साप्ताहिक, समय, मातृभूमि, समीक्षाजस्ता तत्कालीन चर्चित पत्रिका र केही समय राष्ट्रिय समाचार समितिको सहायक सम्पादक र प्रेरणा साप्ताहिकको प्रधानसम्पादकको हैसियतले पत्रकारिता गर्दै नेपाल पत्रकार संघको केन्द्रीय सदस्य (गोविन्द वियोगीको अध्यक्षताको समितिमा) समेत हुनुभयो । यसको प्रकाशकमा साहित्यकार तथा उहाँकी श्रीमती मीठाइदेवी विश्वकर्मा प्रकाशक हुनुहुन्थ्यो । छोरा कसमस विश्वकर्माले रासस र दी हिमालयन टाइम्समा पत्रकारिता गर्नुभयो । हिजोआज उहाँ रिपब्लिका दैनिकसँग आबद्ध हुनुहुन्छ । दलितमुखी पत्रिका “प्रतिनिधि” का प्रधानसम्पादक रहनुभएका ओमप्रकाश भीकेका गोरखापत्र, राजधानी, स्पेसटाइम, नेपाल समाचारपत्रलगायत दर्जनौँ पत्रपत्रिकामा समसामयिक लेख तथा रचना प्रकाशित छन् ।
गोर्खा पत्र बाट
No comments:
Post a Comment