कालीकोटको ब्राह्मण र दलित बस्तीले गरेको सुन्दर परिकल्पना

चैत्र २३, विभेद विरुद्ध अभियान ।दाहाँ–६, सेराका गाउँलेले ननिदाईकनै सपना देखे र त्यसलाई यथार्थमा बदल्न थाले । उनीहरूले देखेको सपना कुनै व्यक्तिगत जीवनको थिएन, कर्मशील गाउँको थियो ।

भौगोलिक विकटताले पछि परेको कालीकोटलाई नमुना गाउँमार्फत चिनाउने धोको पूरा गर्न अहिले सेरावासी कस्सिएका छन् । ७० घरधुरी रहेको सेरा गाउँलाई नमुनाका रूपमा चिनाउने विभिन्न आधार तय गरिएको छ । तोकिएका सूचक पूरा गर्न सबै गाउँवासीको भूमिका खोजिएको छ । नियम उल्लंघन गर्नेले कारबाही भोग्नुपर्ने प्रावधान छ । गाउँमा अधिकांश दलित समुदायको बसोवास छ । त्यहाँ ब्राह्मण पनि छन् तर सपनाको गाउँ निर्माणका लागि कुनै भेदभाव नगरी सबै मिलेर काम गर्दैछन् । स्थानीय टुल्की विकले भनिन्, “यो पिछडिएको बस्तीलाई पनि उदाहरणीय बनाउन सकिन्छ भन्ने आत्मविश्वासका साथ काम गरिरहेका छौँ ।”

खुला ठाउँमा फोहोर फाल्ने, धुम्रपान गर्ने, मदिरापान गर्ने, खुला ठाउँमा दिसा गर्नेलाई जरिवाना गरी उक्त रकम सपनाको गाउँको कोषमा राखिने योजना छ । घरआँगनमा फूल रोप्ने, वृक्षरोपण गर्ने, गाउँसम्म पुग्ने मोटरबाटो बनाउने, खानेपानीका पाइप मर्मत गर्ने, खानेपानीका नयाँ स्रोतहरू खोजी गर्ने आदि काम पनि योजनामा छन् । छुवाछूत, छाउपडी, प्लास्टिक, धूवाँ, मदिरा, सार्वजनिक ठाउँमा धुम्रपान, डढेलो, घरेलु हिंसाजस्ता सबै कुराबाट गाउँलाई मुक्त गराउन बाँकी नै छ । साथै, बालमैत्री वातावरण, खानेपानीका फिल्टर निर्माण साबुन–पानीले हात धुने ठाउँ, सफा चर्पी, होमस्टेको व्यवस्था र सामूहिक खेती प्रणालीको व्यवस्था गर्ने तयारी छ ।

सेरा गाउँमा पहिले हरेकजसो बासिन्दा तमाखु खेती गर्थे । तर, अब यहाँका पाखा तरकारी खेतीले भरिभराउ हुने भएका छन् । अब तमाखु छोडेर व्यावसायिक तरकारी खेती गर्ने तयारी भएको सेराकी लालपुरा बिकले बताइन् । “तमाखु खेतीमा वर्षौं बित्यो तर केही उन्नति भएन । आफूले खायो, केही बेच्यो । स्वास्थ्यमा हानि मात्रै,” उनले भनिन्, “अब तमाखु उम्रने ठाउँमा तरकारी फल्ने भएको छ । खाँदा पनि फाइदा, बेच्दा पनि फाइदा । अझ, व्यावसायिक सामूहिक तरकारी खेतीको तयारी पनि थालिएको छ । प्लास्टिकका १० वटा सुरुङ बनाएर तरकारी खेती गर्न जग्गा भाडामा लिइएको छ ।
स्थानीय पशुपति भट्टराई सुनाउँछन्, “अब एक्लै काम गर्ने होइन, सामूहिक रूपमा खेती गरेर व्यावसायिक रूपमा अघि बढ्ने तयारी भएको छ,” थप्छन्, “हामी सेरा गाउँलाई कृषिको अध्ययन गर्ने पाठशाला नै बनाउँदैछौँ । कृषिका बारेमा सिक्न चाहनेहरू हाम्रो गाउँसम्म पुगून् भनेर ।”

गाउँलाई नमुना बनाउन सबैलाई आत्मनिर्भर बनाउने योजना छ । “हरेक घरमा कम्तीमा एक जना उद्यमी हुनेछन् । आय आर्जनका लागि विदेशिने या घरखर्च चलाउन ऋण लिने चलन अन्त्य हुनेछ,” वडा नागरिक मञ्चका संयोजक पर्वे विकले भने, “सबै गाउँभित्रै आत्मनिर्भर हुने बाटो खोज्दैछौँ । ठाउँ सुहाउँदो उद्यमको खोजी गरिरहेका छौँ ।”

गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै होमस्टेको व्यवस्था गर्ने तयारी भइरहेको गाविस सचिव शरण बडुवाल भन्छन्, “यहाँ तमाखु होइन, आत्मनिर्भर बनाउने नगदे बाली फल्नेछ ।”

सपनाको गाउँलाई अन्तिम रूप दिन अन्य स्रोतसाधनको पनि खोजी भइरहेको बडुवाल बताउँछन् । भन्छन्, “सबैका स–साना सहयोगले सपना पूरा हुनेछ । यहाँ आउने गैरसरकारी संस्थाले पनि सेरा गाउँलाई नै लक्षित गरी काम गर्नुपर्ने छ ।”

गाविस कार्यालयसम्म पनि जनता खासै नआउने यो बस्तीमा पहिलोपल्ट आँखा पर्‍यो गाविस सचिव बडुवालको । छलफलपछि थाहा लाग्यो, मानिसहरू सबैतिरबाट चेपुवामा परेका रहेछन् । अशिक्षा र अभावको कारण उनीहरू गाविस कार्यालयको पहुँचबाट टाढै बस्दै आएका रहेछन् ।

यथार्थ बुझेपछि सेरावासीले देख्दै नदेखेको सपना पहिलोपटक उनैले देखे । “अन्य गाउँबाट नियमित विभिन्न काम र भनसुनका लागि मानिसहरू आइरहन्थे तर ६ नम्बर वडाबाट कोही पनि आउँदैनथे,” उनले भने, “पछि बुझ्दै जाँदा थाहा भयो गाविस कार्यालयसम्म उनीहरूको पहुँचै रहेनछ । गाउँको सरकारका रूपमा स्थापित गाविस कार्यालयले नहेरे कसले हेर्छ ? अब, एउटा सुन्दर गाउँको परिकल्पना उनको दिमागमा आयो ।

कान्तिपुर बाट


No comments:

Post a Comment